नेपालमा लगानी बढाउन स्विजरल्याण्डका प्रतिनिधिसँग अर्थमन्त्री खतिवडाको आग्रह

 माघ १५, २०७६ बुधबार १८:१:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अर्थमन्त्री डा. युवराज खतिवडाले देशको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिक लगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताउनुभएको छ । 

बुधबार अर्थ मन्त्रालयमा स्विस इनभेष्ट फन्ड फर इमर्जिङ मार्केट्सका अध्यक्ष तथा नेपालका लागि स्विजरल्याण्डका पूर्व राजदूत जर्ग फ्रिन्डेन नेतृत्वको टोलीसँग भएको अर्थमन्त्री डा. खतिवडाले द्रुत विकासका लागि आन्तरिक स्रोत पर्याप्त नभएकोले वैदेशिक स्रोतको आवश्यकता भएको बताउनु भयो । 

भेटवार्तामा भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराउनु भयोे । 

अर्थमन्त्री डा. खतिवडाले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेसहोल्ड संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, विभिन्न देशहरुसँग दोहोरो करमुक्ति सम्झौताको प्रकृया अगाडि बढाइएको बताउनुभयो ।

उहाँले च्यालेन्ज फण्डको सुरुवात गर्न लागिएको तथा लगानी आकर्षित गर्ने गरी कानूनहरु निर्माण गरिएको र विद्यमान कानूनको परिमार्जन गर्न लागिएको बताउनु  भएको छ । 

अर्थमन्त्री डा. खतिवडाले पूर्वाधारको विकास गरी पर्यटन र उर्जा निर्यातबाट विदेशी मुद्रा आर्जन गरे मात्र उच्च आर्थिक वृद्धिसँगै बाह्य क्षेत्र सन्तुलन कायम गर्न सकिने बताउनुभयो । 

उहाँले पूर्वाधार विकाससँगै सेवाको गुणस्तरयुक्त विकासको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढेको बताउनुभयो। देशको समग्र विकासका लागि नवप्रवर्द्दन, अन्वेषण तथा युवा लक्षित सिप र प्राविधिक ज्ञानको सहयोगमार्फत साना मझौला व्यवसायको प्रवर्द्धन र रोजगार सिर्जना मुख्य आवश्यकता भएको स्पष्ट पार्नुभयो । 

उहाँले विकसित देशले प्रयोग गरेको प्रविधि हासिल गर्न पनि बाह्य पुँजी परिचालन मार्फत नेपालले सहकार्य गर्न चाहेकोसमेत स्पष्ट पार्नुभयो । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया