प्रदेश-२ काे ‘बेटी पढाउ बेटी बचाउ’ अभियान : बीमा रकम एक लाखबाट बढाएर तीन लाख रुपैयाँ

 माघ १७, २०७६ शुक्रबार १६:३६:५१ | सुभाष कर्ण
unn.prixa.net

धनुषा - ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेश २ सरकारले बालिकाहरुकाे बीमा रकम एक लाखबाट बढाएर तीन लाख रुपैयाँ पुर्‍याएको छ ।

शुक्रबार मन्त्रिपरिषदको निर्णयबाट गएकाे वर्ष माघदेखि जन्मिने छोरीहरुको घाेषित एक लाख रुपैयाँलाई तीन लाख पुर्‍याइएको हो ।

मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषदको निर्णय सुनाउँदै एक लाखबाट बढाएर बीमा रकम तीन लाख रुपैयाँ पुर्‍याइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘लैंगिक समानता र भ्रुणहत्या रोक्न सुरुवात गरिएको यो अभियान गत वर्ष अपेक्षा अनुसार सफल हुन नसकेपछि यस वर्षबाट पालिकास्तरबाटै सञ्चालन गराएका छौँ । यसका साथै प्रत्येक पालिकालाई प्रदेश सरकारले जति रकम बीमा बापत दिइरहेको छ, त्यति नै रकम सम्बन्धित पालिकाबाट उपलब्ध गराउन अनुरोध गरेका छौँ ।’

यसका साथै मधेश आन्दोलनमा ज्यान गुमाएका र घाइते भएका परिवारहरुका लागिमधेश शहीद प्रतिष्ठान गठन र प्रादेशिक अस्पताललाई आयुर्विज्ञान स्वास्थ्य प्रतिष्ठानको रुपमा परिणत गर्ने निर्णय समेत मन्त्रिपरिषदबाट गरिएको मुख्यमन्त्री राउतले जानकारी दिनुभयो ।

सामुदायिक विद्यालयमा आधारभूत कक्षासम्मका दलित र मुस्लिम समुदायका विपन्न बालिकालाई छात्रवृति कार्यक्रमसमेत अघि बढाउने र गत वर्ष १४ हजार बालिकालाई बाँडिएको साइकलको संख्या बढाएर २० हजार गर्ने प्रक्रियासमेत अगाडि बढाइसकिएको उहाँले जानकारी दिनुभयो ।

गएकाे वर्ष ४ हजार ३ सय ७३ बालिकाको बिमा गरिएको थियो भने मुख्यमन्त्री कार्यालय रहेको कागजात मध्ये ३ हजार १ सय १८ बालिकाको बीमा प्रक्रियामा रहेको छ ।

यस वर्षदेखि पालिका स्तरबाट कार्यक्रम सञ्चालन भएपछि हालसम्म सप्तरीमा १४०८, सिरहा ११२९, धनुषा ६६९, महोत्तरी ८४६, सर्लाही ११७४, पर्सा ७७१, बारा १२०३ रौतहट ८१८ गरी प्रदेशभरिमा ८ हजार १८ बालिकाको बीमा भइसकेको छ ।

 ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत छोरीहरुको बीमाका लागि संघीय सरकारबाट गत वर्ष ५० करोड रुपैयाँ सहयोग गरिएको थियो र यस वर्ष पनि सहयोग राशी आउने मुख्यमन्त्री राउतले बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य रामआशिष यादव, अशोक यादव, मुख्य न्यायधिवक्ता दिपेन्द्र झालगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो । 

अन्तिम अपडेट: चैत १२, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया