विदेशको काम छोडेर नेपाल फर्कन त मन छ, तर यहाँ के गर्ने ?

 माघ २६, २०७६ आइतबार १२:२२:२४ | मेरो कथा मेरो भोगाई

किशोर मण्डल/ सिरहा । 

म सन् २००८ मा यूएई गएको थिएँ । अहिले पनि त्यहीँ छु । यूएईको आबुधाबीमा रहेको ‘इतिहात’ भन्ने सरकारी पत्रिकामा काम गर्छु । मैले प्रिन्टिङ मेसिन चलाउने काम गनुपर्छ ।

नेपालमा मैले विभिन्न छापा कारखानामा काम गरेको थिएँ । अनुभव थियो । यस्तै काम गर्ने कामदार यूएईमा चाहिएको भन्ने खबर पाएँ र म सन् २००८ मा यूएई पुगेँ ।
यही क्षेत्रमा लामो समयदेखि काम गरिरहेको र हातमा सीप भएका कारण मलाई त्यहाँ काम गर्न कुनै कठिनाइ भएन ।

त्यहाँ काम गर्न झन सजिलो छ । गुणस्तरीय मेसिन । सफा र शान्त काम गर्ने वातावरण भएकाले मलाई त्यहाँको वातावरणले तानिरह्यो । कमाइ पनि राम्रो छ । अहिलेसम्म यति कमाएँ भन्ने लेखाजोखा त गरेको छैन तर यहीँको कमाइले छोराछोरीलाई राम्रो शिक्षा दिन सकेको छु । केही ठाउँमा जग्गा किनियो, घर बनाइयो । यही त हो नि कमाइ भनेको । 

आफ्नो देशमा धेरै कमाइ हुने बाटो नदेखेपछि त्यही काम परदेशमा आएर गर्नुपर्यो । घर परिवारबाट टाढा रहेर कमाउनुपर्यो । नेपालमा फर्किन त मन लाग्छ नि । तर फर्केर पनि के गर्ने त्यहाँ गएर भन्ने डरले पिरोल्छ ।

त्यहाँ गएर यही काम गर्ने हो भने पनि गुजारा चलाउन गाह्रो हुन्छ । कमाइ कम हुुन्छ, महंगीले आकाश छोइसक्यो । नेपालको जति नै धेरै कमाइ छ भने पनि महंगीको अगाडि केही नलाग्दोरहेछ । एउटै कामको कमाइ नेपाल र यूएईमा कति फरक ! 

यही काम नगरे पनि अरु केही काम गरौँला नि भन्दा नेपालमा कलकारखाना छैनन् । सरकारले कलकारखाना खोलिदिए र रोजगारीका अवसरहरु प्रदान गरे नेपालमै बसिने थियो नि । 

१२ वर्ष भयो परदेश गएको । यति लामो समयमा देशमा केही विकास भए पनि हुनुपर्ने जति विकास नभएको जस्तो लाग्छ । अझै पनि यहाँ सार्वजनिक गाडीमा यात्रा गर्नै गाह्रो हुन्छ । सडकभरी खाल्डैखाल्डा छन् । एक घण्टा लाग्ने बाटो पार गर्न ५ घण्टा लाग्छ ।

सामान्य सेवाहरु पनि सरकारले सजिलै उपलब्ध गराउन सकेको छैन । देशको यही अवस्था देखेर त धेरै नागरिकहरु विदेश गएर उतै रमाउन थाल्छन् । देशमा फर्किन मन गर्दैनन् । विदेशिएका युवाहरुलाई आकर्षित गर्नको लागि देशमा तीव्र विकास र रोजगारीका अवसर सिर्जना गर्न जरुरी छ । 

अनि अन्त्यमा म युवाहरुलाई पाएसम्म र सकेसम्म देशमै काम गर्न अनुरोध गर्न चाहन्छु । वैदेशिक रोजगारीमा जान नै मन भए कुनै न कुनै प्रकारको सीप सिकेर मात्रै जानु होला भन्न चाहन्छु । 
 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया