परीक्षा केन्द्र टाढा भएपछि विद्यार्थीले पढाइ छाेडे

 फागुन २२, २०७६ बिहिबार १७:१६:५६ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - एसईईको परीक्षासमेत आफ्नै विद्यालयमा सञ्चालन गर्न शिक्षा मन्त्रालयमा पहल भइरहेको बेला धादिङमा भने कक्षा ८ को परीक्षा केन्द्र विवाद उत्कर्षमा पुगेको छ । 

परीक्षा केन्द्र धेरै टाढा राखेपछि दक्षिणी धादिङको बाँसखर्क आधारभूत विद्यालयबाटका पाँच विद्यार्थीले पढाइ छाडेर मजदुरी गर्न गएको विद्यालयका शिक्षकहरुले बताएका छन् । 

कक्षा ८ को फारम नभरेर यसरी पढाइ नै छाड्नेहरुमा तिलक तामाङ, सिर्जना तामाङ, सुनदिप तामाङ, रिमला तामाङ र मनोज तामाङ रहेको विद्यालयका शिक्षक जीवन तामाङले बताउनुभयाे।

परीक्षा केन्द्र टाढा राखेर विद्यार्थीहरुलाई दुःख दिएको, गरिब विद्यार्थीहरुका लागि पालिकाले बेवास्ता गरी धनीका लागि नियम बनाएकोले आफूहरुले परीक्षा छाडेको विद्यार्थीहरको भनाइ छ । 

गाउँपालिकास्तरीय कक्षा ८ को परीक्षा हुने भएकोले बेनीघाट रोराङ गाउँपालिकाको शिक्षा शाखाले परीक्षा केन्द्र निर्धारण गर्दा ६ घण्टाभन्दा बढी हिँड्नु पर्ने गरी परीक्षा केन्द्र निर्धारण गरेको हो । गाउँपालिकाले पृथ्वी राजमार्ग क्षेत्रका तीन वटा विद्यालयमा मात्र परीक्षा केन्द्र तोकेको छ ।

बेनीघाट रोराङमा रहेको १७ विद्यालयका पाँच सय ६३ विद्यार्थीका लागि बागेश्वरी माध्यमिक विद्यालय, चन्द्रोदय माध्यमिक विद्यालय र शङ्खादेवी माध्यामिक विद्यालयमा परीक्षा केन्द्र तोकिएकाे छ । 

महाभारत क्षेत्रबाट परीक्षा केन्द्रमा आइपुग्न सातदेखि आठ घण्टा लाग्छ । गाडी गुड्नका लागि कच्ची बाटोको ट्रयाक खोलेको भए पनि गाउँबाट यातायातका साधन सञ्चालन हुँदैन । 

अधिकांश गरिब, चेपाङ तथा जनजातिका विद्यार्थीहरु अध्ययन गर्ने भएकोले पालिकाले तोकेको परीक्षा केन्द्र धेरै विद्यार्थीका लागि 'आकाशको फल आँखा तरी मर्' भएको बाल अधिकारका क्षेत्रमा कार्यरत गोकर्ण रुपाखेतीले बताउनुभयो । 

बेनीघाट रोराङ गाउँपालिकाको यो प्रतिनिधिमूलक घटनामात्र हो । गाउँपालिकाले पृथ्वी राजमार्गको छेउमा मात्र तीन वटा परीक्षा केन्द्र तोकेर कक्षा आठको परीक्षा सञ्चालन गर्ने निर्णयसँगै विवाद उत्पन्न भएको छ  । 

पालिकाले आधारभूत विद्यालयको व्यवस्थापन गर्न सक्ने सङ्घीय व्यवस्थापछि विद्यार्थीहरुलाई धेरै टाढा र अपायक पर्ने ठाउँहरुमा परीक्षा केन्द्र तोक्दा समस्या उत्पन्न भएको छ । 

महाभारत क्षेत्रबाट राजमार्गसम्म आउन ६ घण्टाभन्दा बढी समय लाग्ने र गरिब भएका कारण सवारीसाधन प्रयोग गर्नसमेत नसक्ने अवस्थाका समुदाय समस्यामा परेको बाल अधिकारका लागि क्रियाशील एवं गैरसरकारी संस्था महासङ्घका सदस्य रुपाखेतीले बताउनुभयो । अवैधानिक र अव्यवहारिक परीक्षा केन्द्र राखेर बाल अधिकारको ठाडो उल्लङ्घन भएकोले तत्काल सच्याउन रुपाखेतीले माग गर्नुभएको छ । 

शिक्षकहरु गाउँसम्म परीक्षा लिन जान नसक्ने भएकोले परीक्षा व्यवस्थित गर्नका लागि परीक्षा केन्द्र राजमार्ग क्षेत्रका तीन विद्यालयमात्र तोकिएको बेनीघाट रोराङ शिक्षा शाखा अधिकृत बोधराज पाठकले बताउनुभयो ।

गाउँपालिका प्रमुख हरि डल्लाकोटीले एसईईको लागि अनुभव गराउन र दक्ष जनशक्ति बनाउन यसरी परीक्षा केन्द्र निर्धारण गरेर परीक्षा सञ्चालन गर्न लागेको बताउनुभयो । 

यसैगरी थाक्रे गाउँपालिकाले कक्षा आठका लागि सबैभन्दा पहिला परीक्षा केन्द्र निर्धारण गरी टाढा टाढा राखेको छ। परीक्षा मर्यादित बनाउन शिक्षकहरुलाई विद्यालयबाट अर्को विद्यालयमा पठाएर परीक्षा लिने व्यवस्था गर्न सकिने अवस्था भए पनि गाउँपालिकाले आफू शिक्षा समितिमा भए पनि बिना छलफल यस्तो निर्णय गरेको रुपाखेकीको भनाइ छ । 

बेनीघाट रोराङकै जस्तो अवस्थामा थाक्रे गाउँपलिकाले १९ विद्यालयका पाँच सय ६५ विद्यार्थीहरुका लागि ९ वटा विद्यालयमा परीक्षा केन्द्र तोकेकाे छ ।

यस सन्दर्भमा गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले विद्यार्थीलाई अप्ठ्याराेमा पार्नका लागि नभइ शिक्षाको गुणात्मक विकास गर्न कक्षा आठकाे होम सेन्टर हटाइएको बताउनुभयो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले आफू व्यस्त भएको भन्दै सूचना दिन मान्नु भएन । 

गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपलिकाले पनि विद्यार्थीहरुलाई समस्या पर्ने गरी कक्षा आठकाे परीक्षा केन्द्र निर्धारण गरेको छ । 

गल्छी गाउँपालिकाको १५ वटा विद्यालयका पाँच वटा परीक्षा केन्द्र, गजुरी गाउँपलिकाको १७ वटा विद्यालयकाे १२ वटा परीक्षा केन्द्र, धुनीबेसी नगरपालिकाले २६ वटा विद्यालयका १५  वटा परीक्षा केन्द्र र त्रिपुरासुन्दरी गाउँपलिकाले १९ वटा विद्यालयको आठ वटा परीक्षा केन्द्र ताेकेकाे छ ।

सिद्धलेक गाउँपालिकाले भने सम्बन्धित विद्यालयलाई नै परीक्षा केन्द्र तोकेकाे छ । गुणस्तर र मर्यादित बनाउने/नबनाउने शिक्षकहरुले नै भएकोले आफ्नै विद्यालयमा परीक्षा केन्द्र भए पनि केही फरक नपर्ने शिक्षा अधिकृत बलराम अधिकारीले बताउनुभयो ।

गएकाे वर्ष पनि परीक्षा केन्द्रबाट होम सेन्टर हटाएपछि विद्यार्थीहरुले धेरै दुःख पाएका थिए । कक्षा आठको परीक्षा धादिङका केही पालिकामा यही २०७६ चैत १ गतेबाट र केही पालिकामा २ गतेबाट सुरु हुँदैछ । 

अन्तिम अपडेट: चैत २८, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया