बहुविवाहको उजुरीपछि घरबाट निकालिएकी महिलाहरु माइतीको शरणमा

 फागुन २६, २०७६ सोमबार १९:२३:२१ | अमर सुनार
unn.prixa.net

दैलेख – महाबु गाउँपालिका–४ रानीवनकी २६ वर्षीया डिलाकुमारी सिजालीको २७ वर्षीय छविलाल बलामीसँग विवाह भएको ४ वर्ष भएको थियो । छविलालले २०७३ फागुन १८ गते बहुविवाह गरे । उनले महाबु गाउँपालिका–३ सुवाकोटकी २१ वर्षीया रवि बुचामगरसँग बहुविवाह गरे । डिलाले १२ दिनपछि फागुन ३० गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिनुभयो । 

प्रहरीले छविलाललाई २०७३ चैत ३ गते पक्राउ गरे पनि राजनीतिक दबाबमा मुद्दा दर्ता गर्न दिइएन । अहिले छविलाल र रवि घरजम गरेर बसेका छन् भने डिलाले चामुण्डा बिन्द्रासैनी नगरपालिका–२ को चाल्ने चौतारामा रहेको आफ्नो माइतीमा आश्रय लिइरहनु भएको छ । 

दुल्लू नगरपालिका–१३ मालिकाकी २३ वर्षीया गौरा कुमालका २६ वर्षीय श्रीमान् सुरज कुमालले दुल्लू नगरपालिका–५ छिउडीकी १९ वर्षीया सरस्वती बिकलाई २०७५ कात्तिक १६ गते दोस्रो श्रीमतीको रुपमा भित्र्याए । पति सुरजविरुद्ध गौराले कात्तिक २७ गते बहुविवाहको उजुरी दिनुभयो । 

मुद्दा चलेपछि परिवारबाटै असहज भएको कारण गौरा दुई छोरीसहित अहिले भैरवी गाउँपालिका–४ को भैरीमा रहेको आफ्नो माइतीमा बस्दै आउनुभएको छ । ३५ वर्षीया भविकला मगरले ३४ वर्षीया तुली रोकाविरुद्ध बहुविवाहको उजुरी गर्नुभयो । तुलीले भविकलाका ३४ वर्षीय श्रीमान् मानबहादुरसँग विवाह गरेकी हुन् । 

जब उजुरी अदालत पुग्यो, अदालतले मानबहादुरलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना ग¥यो । तर तुलीले घरमा सौता छ भन्ने थाहा नपाएको भन्ने बयानको आधारमा सफाइ पाइन् । तुलीले ढाँटिन् । अदालतले उनकै कुरा पत्यायो । मानबहादुरले कैद भुक्तान गरेर अहिले तुलीसँगै बसेका छन् । 

भविकला र मानबहादुरसँगको वैवाहिक सम्बन्धबाट जन्मिएका दुई छोरा र एक छोरीको पालनपोषण र शिक्षादीक्षा समेत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ११ गाग्रेतालमा रहेको माइतीको भार बनेको छ । बहुविवाह गर्ने महिलाको विवाह दर्ता हुँदैन भन्ने सुन्नुभएकी भविकला आफ्ना श्रीमान् र सौताले कानुनलाई चुनौती दिएको बताउनुहुन्छ । 

बहुविवाहका यी घटनाहरु अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को नेपाल मानव अधिकार वर्ष पुस्तकमा सन् २०१७, २०१८ र २०१९ अवधिका एक–एक वटा प्रतिनिधि घटना हुन् । वर्ष पुस्तकमा छापिएका बहुविवाहकै घटना केलाउँदा २०१७ मा ९ वटा, २०१८ मा १७ र २०१९ मा १८ वटा बहुविवाहका घटना अभिलेखमा छन् । 

इन्सेकको जानकारीमा आएका यी ४४ वटा घटनाबारे इन्सेक जिल्ला प्रतिनिधिले गरेको खोजअनुसार बहुविवाहको उजुरी दिने धेरैजसो महिलाहरु माइतीको संरक्षणमा बसेका छन् । 

भैरवी गाउँपालिका–४ गडाजिउलाकी डम्बरकुमारी रावतबाहेक सबैजसो हिंसापीडित महिला उजुरी गरेपछि घरबाट निकालिएका छन् । २०७४ चैत ९ गते गुप्ताङ्गमा प्लास्टिकको पाइपले घोचेर मराणासन्न बनाएको उजुरीमा अदालतले घरेलु हिंसा र ज्यान मार्ने उद्योगमा उहाँका श्रीमान् सूर्यबहादुर रावत कारागारमा छन् । श्रीमान् कारागारमा भएको कारण व्यापार धान्न डम्बरकुमारी आफ्नै घरमा हुनुहुन्छ । श्रीमान्ले कैद भुक्तान गरी आए आफ्नो बसाइ घरमा हुनेमा डम्बरकुमारी सशङ्कित हुनुहुन्छ । 

पछिल्लो तीन वर्षमा महिलामाथि भएका हिंसाका घटनामा घर निकाला र खान, लाउन नदिएको लगायतका घरेलु हिंसाका ९७ वटा घटना प्रहरी र अदालत पुगेका छन् । अभिलेखीकरण हुन छुटेका र जानकारीमा नआएका घटना पनि ठूलो संख्यामा हुन सक्ने महिला सशक्तिकरण मञ्चकी उपाध्यक्ष सविना विश्वकर्माको भनाइ छ । 

अहिले दैलेख जिल्ला अदालतमा चलिरहेका मुद्दाको संख्या केलाउँदा यो आर्थिक वर्षको ७ महिनामा श्रीमान्बाट २ जना महिलाको हत्या भएको, ११ वटा बहुविवाह, १६ वटा जबरजस्ती करणी, ५ वटा बालविवाह, १२ वटा घरेलु हिंसा र ६७ जना महिलाले हिंसा सहेर घरबार गर्न सक्दिन भनेर सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएका छन् ।

बहुविवाहको उजुरी गरेपछि आफ्नो बिल्लबाठ हुन्छ र माइतीको बोझ बन्नुपर्छ भन्ने पहिले थाहा नभएको दुल्लू नगरपालिका–१३ मालिका घर भई दुल्लू नगरपालिका–५ छिउडी बस्दै आउनुभएकी गौरा कुमालको भनाइ छ । 

पहिले सहमतिमै बहुविवाह हुने गरेको र पछि पारिवारिक विवादले बहुविवाहका धैरै घटना बाहिर आउने गरेको अधिवक्ता सुरेन्द्र अधिकारीले बताउनुभयो । बहुविवाह रोक्नका लागि समाजमा थप सचेतना आवश्यकता रहेको उहाँको भनाइ छ । 

पहिले मुलुकी ऐन २०२० मा बढीमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था थियो । अहिले मुलुकी अपराध सहिंता २०७४ ले बहुविवाह गर्ने केटा र केटी दुवैलाई ५ वर्ष कैद र ५० हजारसम्म जरिबाना तथा कान्छी श्रीमती हुन आउनेले वैवाहिक मान्यता नपाउने कडा कानूनी व्यवस्था छ । तर पनि दैलेखमा बहुविवाहको सङ्ख्या बर्सेनि बढ्दै गएको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया