विदेशमा हाम्रो गरिबी होइन, सीप र खुबी बिक्छ

 फागुन २८, २०७६ बुधबार १३:५७:६ | मेरो कथा मेरो भोगाई

बालकृष्ण अधिकारी ।

पल्ला घरको मदन विदेशबाट आयो । आएको भोलिपल्ट एउटा बाईक किन्यो । राम्रै कपडा लगाएर गफ पनि ठूलै दियो । बडेमानको टीभी भित्र्यायो । विदेशमा कमाएको पैसाले साथीभाइलाई अलिअलि खुवायो पनि । यो देखेर मलाई पनि विदेश जाने रहर जाग्यो ।

मभन्दा कमजोर मदनले विदेश गएर यति गर्न सक्छ भने म त त्योभन्दा ट्यालेन्ट छु, त्यसले भन्दा बढी गर्न कसो नसकुँला ? मनभरी प्रश्नै प्रश्न  उत्तरै उत्तर । साथीको देखेर छँदाखँदाको जागिर छोडेर लागियो विदेश । टाउको भरी ऋणको बोकेर । 

नेपालमा छँदा देखेको विदेशको मिठो सपना त्यहाँ पुगेपछि पो नमिठो लाग्न थाल्यो । न नेपालमा म्यानपावरले भनेको काम दियो न एजेण्टले ठोकुवा गरेजति तलब, अनि न अरु कुनै सुबिधा । त्यती बेला लाग्यो नेपालमा ठगिएको थाहा पाउन विदेश नै पुग्न पर्ने रहेछ । 

४२/४३ डिग्रीभन्दा बढी गर्मी र तातो हावा, त्यसमाथि म्यानेजर र सुपरभाइजरको मुटु चिसो पार्ने गाली । अनि मन नलागी नलागी गर्नु परेको काम । दिमागभरी विदेश आउन काढेको ऋण र त्यसको ब्याज त छँदैछ । परिवारबाट टाढा भएपछि बिरामी पर्दा, आराम गर्न भनेर बिदा त के तातो पानी पनि नपाउँदाको पीडा, शब्दले व्यक्त गर्न शब्द काफी छैन, सायद ।

मरिन्छ क्यारे भन्ने सोच पनि त्यहीँ पुगेपछि आयो । झन एक दिन एक साथीले मेरो आफन्तको मृत्यु भयो बिदा पाउँ भनेर निवेदनमा दिँदा, ‘मरेको मान्छे तँ गएपछि जिउँदो हुँदैन, खुरुखुरु काम गर्नु’ भनेको सुन्दा असाध्यै नरमाइलो लाग्यो । 

परदेशमा मान्छेको समवेदनालाई पैसासँग तुलना गरिंदो रहेछ । मलाई यो कुराले मानसिक रुपमा क्षतविक्षत बनाएको थियो ।

पछि पो बुझें, विदेशबाट फर्किनेले पनि साथीभाइसँग सापटी लिएर पो रहेछ त्यतिको चहलपहल गरेको । हुन त सबैले यस्तै दुःख नभोग्लान् । तर नबुझी, नसोची जानेले भोग्छन् नै । भोगेपछि थाहा भयो म सीप बेच्न होइन गरिबी बेच्न गएको रहेछु । तर त्यहाँ गरिबीको के भाउ हुन्थ्यो र ? कौडीको भाउ पनि रहेनछ । म गरीब हुँ, ममाथि दया गर भनी गरिएका हरेक याचनामा कि त गाली खाइयो कि धम्की । 

विदेश छिरेपछि लक्ष्मीले दया गरिहाल्छिन् भन्ने गलत सोचले यथार्थलाई यसरी थिचेछ कि मलाई स्वदेश हुँदा मसँग विदेशमा लक्ष्मी रिझाउने सीप के छ ? भन्ने प्रश्नसम्म गर्ने फुर्सद  भएन भनौं या चेतना भएनछ ।

नमरी स्वर्ग देखिन्न भन्थे । स्वर्ग हेर्न देश छोड्नु पनि मर्नु समान हुँदोरहेछ । मर्दा स्वर्ग मात्र होइन नर्क पनि देखिंदो रहेछ । हातमा तासको ५२ पत्ति फिटेजस्तै दिमागमा पैसाको करोडपत्ति फिटेर विदेश हानिनेलाई मेरो सल्लाह छ, पैसालाई साट्ने एउटै मात्र विकल्प सीप हो, न कि देखासिखी, गरिबी या सर्टिफिकेट ।

विदेशमा रोजगारदातालाई तपाईँ होइन तपाईँको सीप र खुबी चाहिएको छ । उसले तपाईँलाई होइन तपाईँको सीपको दर्जा अनुसार पारिश्रमिक दिन्छ । त्यसैले सीप सिकेर मात्र रोजगारीका लागि विदेश जाऔँ ।

अन्तिम अपडेट: बैशाख ३०, २०७७

तपाईको प्रतिक्रिया