गाेरखाका ट्याक्सी व्यवसायीद्वारा मास्क वितरणसहित कोरोना सचेतना कार्यक्रम

 फागुन २८, २०७६ बुधबार १४:४८:५८ | किरण लोहनी
unn.prixa.net

गोरखा - गोरखाका ट्याक्सी व्यवसायीहरुले कारोना संक्रमणबारे सचेतना र मास्क (मुखावरण) वितरण सुरु गरेका छन् ।

व्यवसायीहरुको संस्था गोरखा मनकामना यातायात सेवा प्रालिले गोरखा सदरमुकाममा बुधवार सचेतनासँगै मास्क वितरण कार्यक्रम सुरु गरेको हो । कोरोना भाइरससँगै अन्य खालका सङ्क्रमण र प्रदूषणबाट जोगिन मास्क उपयोगी हुने भएकाले विशेषगरी यातायात व्यवसायी र मजदुर तथा यात्रुहरुलाई मास्क वितरण गर्न थालिएको प्रालिका सचिव सुमन श्रेष्ठले बताउनुभयो ।

पहिलो चरणमा २ हजार थान मास्क वितरणको लक्ष्य रहेको उहाँको भनाइ छ । बुधवार बसपार्कमा अयोजित कार्यक्रममा सहभागीहरुलाई पनि मास्क वितरण गरिएको थियो ।

कार्यक्रममा कोरोना संक्रमण, भ्रम र यथार्थबारे औषधी व्यवसायी संघका जिल्ला अध्यक्ष संगमबाबु श्रेष्ठले जानकारी गराउनुभएको थियो । गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले कोरोनाबारे धेरै अफवाह फैलिरहेको भन्दै नागरिकलाई सही सूचना सम्प्रेषण गर्न सके पनि धेरै राहत पुग्ने बताउनुभयो ।

गोरखा मनकामना यातायात सेवा प्रालिका अध्यक्ष ताराबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारी, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका विपिनचन्द्र ढकाल, पत्रकार महासंघ गोरखाका उपाध्यक्ष दिपक श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया