नेपालमा कोरोना नफैलिने धेरै संयोग परेका छन्

 फागुन २९, २०७६ बिहिबार १०:३९:४ | मिलन तिमिल्सिना
unn.prixa.net

फेसबुक खोल्दा कोरोनाको डर, त्रास र आतङ्क देखिए पनि नेपालका सार्वजनिक स्थलहरुमा चहलपहल घटेको छैन । संसारका एक सय २४ देशमा फैलिसके पनि नेपालमा अहिलेसम्म एक जनालाई मात्र कोरोना सङ्क्रमणकाे पुष्टि भएको छ । ती बिरामी पनि उपचारपछि घर फर्केका छन् ।

देशबाहिर संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना र अस्ट्रेलियामा रहेका एक नेपालीलाई कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण देखिएको खबर छ । तर ती तीन जनाको उपचार उतैका देशमा भइरहेकाले नेपालमा बस्ने नागरिकलाई ती तीन जना नागरिकबाट पनि खासै खतरा छैन । 

हो, सडकमा हिँड्दा मास्क लगाउने र बजारमा मास्क खोज्ने मान्छे बढेका छन् । तर मास्क नलगाइ निर्धक्क सार्वजनिक गाडी, हाट बजार, हुलमुल र जमघटमा हिँड्नेहरु अझै पनि उत्तिकै छन् । 

कोरोनाको डरले स्कुलको वार्षिक परीक्षा तोकिएको मितिभन्दा पहिलेदेखि नै सुरु भयो । तर धेरै विद्यार्थी र शिक्षक अहिले पनि मास्क नलगाइ पढाउँछन् र स्कुल ओहोरदोहोर गरिरहेका भेटिन्छन् । 

कतिपय मानिस पुरानो नोटबाट कोरोना सर्ने हो कि भन्ने डरले त्रस्त छन्, तर सबैभन्दा धेरै नोटहरु छुने र छाम्ने बैंकका कर्मचारीहरु मास्क नलगाइ निर्धक्क पैसाको कारोबार गरिरहेका देखिन्छन् । 

सरकारले कोरोनाबाट बच्न मास्क लगाउन भनिरहेको छ । तर मन्त्रीदेखि ठूलाबडा सरकारी कर्मचारीले काम गर्ने सिंहदरबारमा ओहोरदोहोर गर्नेहरुमध्ये धेरेको मुखमा मास्क देखिँदैन । 

कोरोनाको सङ्क्रमण हुने हो कि भन्ने डरले दिनहुँ टेकु अस्पताल र अरु स्वास्थ संस्थामा स्वास्थ्य जाँच गर्न जानेहरुको घुइँचाे लाग्छ । तर त्यहाँ र उपत्यकाका धेरै अस्पतालहरुमा कार्यरत स्वास्थकर्मीहरु या त साधारण मास्क लगाएर काम गरिरहेका भेटिन्छन् या त मास्क नलगाइकन नै अस्पतालमा काम गरिरहेका भेटिन्छन् । 

बाटोघाटो, बजार, घर, कार्यालयदेखि मन्त्रालयसम्मको गतिविधि हेर्दा लाग्छ, बाहिर हल्ला र आतङ्क भएजस्तो नेपालीलाई कोरोनाको त्यति धेरै चिन्ता छैन । व्यापार, व्यवसाय, विकास निर्माण, आयात निर्यात र विदेशको आतेजातेमा असर गर्नुबाहेक नेपालीको दैनिकीमा कोरोनाले ठूलो उथलपुथल ल्याएको छैन ।

रुघाखोकी र ज्वरोले ग्रस्त भइसक्दा समेत जँचाउन अस्पताल नजाने र घरमै बेसार पानी खाएर बस्ने सामान्य बिरामीको कुरा त झन् गर्नै परेन । यस्तो लाग्छ, नेपालीहरु आफूलाई कोरोनाले नछुने कुरामा ढुक्क छन् । सारा विश्व कोरोनाबाट आतङ्कित भइरहेको बेला नेपाली किन ढुक्क छन् त भन्ने कुराको कुनै आधार छैन, तर केही संयोग र नेपालको जनसाङ्ख्यिक स्थिति हेर्दा नेपाली नागरिक कोरोनाबाट धेरै आतङकित भइहाल्नुपर्ने अवस्था पनि छैन ।

सबैभन्दा महत्वपूर्ण र सुखद कुरा त छिमेकी देश चीनको वुहानबाटै ल्याइएका कसैलाई पनि कोरोना सङ्क्रमण देखिएन । वुहानबाट सुरु भएर विश्वका एक सय २४ देशमा फैलिसक्दा कोरोना भाइरस नेपालमा नदेखिनु र नफैलिनु आफैमा सुखद संयोग हो । 

अर्को संयोग नेपालको जनसाङ्ख्यिक अवस्था पनि हो । नेपालको जनसङ्ख्यामा अहिले युवाको बाहुल्य छ र वृद्धवृद्धाकाे सङ्ख्या कम छ । कोरोना भाइरसको कारण अहिलेसम्म विश्वमा चार हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । यसरी ज्यान जानेमा सबैभन्दा धेरै वृद्धवृद्धा छन् ।

कोरोनाको सङ्क्रमणबाट ज्यान जानेमध्ये झण्डै १५ प्रतिशत ८० वर्ष उमेरमाथिका छन् । यस्तै ८ प्रतिशत ७० देखि ७९ वर्षसम्म उमेरका, झण्डै ४ प्रतिशत ६० देखि ६९ वर्ष उमेरका, १ प्रतिशत ५० देखि ५९ वर्ष उमेरका छन् । वर्ष ४० देखि ४९ वर्ष उमेरका शून्य दशमलव ४ प्रतिशत छन् भने १० देखि ३९ वर्ष उमेर समूहका नागरिकमा कोरोनाबाट हुने मृत्युको दर शून्य दशमलव २ प्रतिशतमात्र छ । १० वर्षभन्दा कम उमेरका कुनै पनि बालबालिकाको कोरोनाकै कारण ज्यान गएको छैन ।

कोरोनाको सङ्क्रमणले बालबालिकालाई कमै मात्र छोएको छ भने ज्यान गुमाउनेमा युवाहरु पनि धेरै थोरै छन् । यसको मुख्य कारण उमेरअनुसार शरीरको रोग प्रतिरोध क्षमता हो भन्ने मानिएको छ । अथवा रोग प्रतिरोध क्षमता बलियो भएका मानिसलाई कोरोना सङ्क्रमण भइहाल्यो भने पनि उनीहरुले सङ्क्रमणलाई जित्न सक्छन् र निको हुन्छन् । 

कोरोनाको सङ्क्रमण भइहाल्यो भने पनि ३९ वर्ष उमेरसम्मका मानिस आफै 'रिकभर' हुन सक्छन् भन्ने कुरा अहिलेसम्मको मृत्यु दरले स्पष्ट देखाएको छ । ६० वर्ष उमेरसम्मका मानिसलाई पनि कोरोनाको जोखिम निकै कम छ । ६० वर्षभन्दा माथिकालाई केही जोखिम र ८० वर्षभन्दा माथिकालाई अलि बढी जोखिम छ । रोग प्रतिरोध क्षमता उमेरअनुसार फरक हुने भएकाले अहिले कोरोनाको जोखिम ६० वर्षभन्दा माथिका मानिसलाई बढी छ । तर अरु देशको तुलनामा नेपालका वृद्धवृद्धामा कोरोनाको सङ्क्रमण हुने जोखिम कम छ । नेपालको भूबनोट, हावापानी र हाम्रा पाका, पुस्ताको जीवनशैलीले पाको उमेरकै नागरिकको पनि रोग प्रतिरोध क्षमता बलियो छ ।  

त्यसो त कोरोनाको बढी जोखिम रहेका वृद्धवृद्धाकाे सङ्ख्या नेपालमा चीन, अमेरिका तथा युरोपका देशमा जस्तो धेरै छैन । त्यसमाथि हरेक घरबाट कमाउन बाहिरिएका युवाका कारण नेपालका वृद्धवृद्धाहरु वर्षौदेखि आफ्नै घरमा समेत 'आइसोलेटेड' छन् । धेरै घरका छोराछोरी र अरु सदस्य या त शहरमा छन्, या त विदेशमा । परिवारका अरु सदस्यको भिडभाड नहुने घर नै ‘आइसोलेशन’ गृह जस्तो छ । त्यसमाथि केही शहरी भेगमा बाहेक नेपाली बसोवास र बस्ती अझै पातलो नै छ, सङ्क्रमण तुरुन्त फैलिने गरी बाक्लो बस्ती छैन । बस्ती र घर नै ‘आइसोलेशन’ जस्तो भएपछि जोखिम पनि तुलनात्मक रुपमा कम हुने नै भयो ।

कोरोनाको सङ्क्रमण नेपालमा व्यापक नहुने अर्को संयोगको चर्चा पनि अहिले सामाजिक सञ्जालहरुमा बाक्लै देखिन थालेको छ । अहिलेसम्म कोरोनाबाट बढी प्रभावित देश र ठाउँको भौगोलिक अवस्थितिमा समानता छ । अथवा कोरोनाको उद्गमस्थल चीनको वुहान र त्यसपछि सबैभन्दा बढी प्रभावित भएका देशहरु इटली, इरान, दक्षिण कोरिया, जापान, अमेरिकाको न्युयोर्क र वाशिङ्टन जस्ता ठाउँहरु पृथ्वीको समान रेखा अर्थात् एउटै 'ल्याटिच्युड' मा पर्छन् । जुन ल्याटिच्युडमा नेपाल पर्दैन । यसमा वैज्ञानिक कारण होला या नहोला, तर संयोग चाहिँ यस्तो पनि परेको छ । 

यस्ता अनेक संयोग छन्, जसले चीनसित सीमा जोडिएर पनि अहिलेसम्म नेपालमा कोरोनाको सङ्क्रमण देखिएको छैन । तर संयोगहरु फगत संयोग हुन्, कोरोनाको सङ्क्रमण नहुने वा नफैलने आधार होइनन् । 

अझै ठूलो र बलियो कुरा मान्छेको आस्था र विश्वास हो, त्यो विश्वास नेपालीले भगवान पशुपतिनाथमाथि गरिराखेकै छन् । पशुपतिनाथको कृपाले पनि हामी नेपालीलाई सधैँ रक्षा गरिराखेकै छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

3 Comments

  • बेल गुरुङ

    March 13, 2020, 1:49 a.m.

    बेसार प्राकृतिक antibiotic हो। Flu भएको बेला अदुवा ,लसुनको paste मा बेसार,नुन र जीरा सग्लो मज्जाले उमालेर पिउने हो भने तुरुन्तै राहत पाइन्छ । चिसो पेय नपिउने र vitamin c युक्त खाना खाने। tablet पनि लिन सकिन्छ । 2000 mg सम्म लिन हुन्छ । धेरै भए पनि यो vitamin शरीरमा जम्मा भएर नबस्ने हुँदा नोक्सान गर्दैन ।

  •  0 Reply
  • Ravi kumar sah

    March 12, 2020, 4:58 p.m.

    Can i get original source of data that you have presented in yours article a mention in above article related covid 19 Plz respond it back With regards Thanks Ravi kumar sah

  •  0 Reply
  • Prem

    March 12, 2020, 10:55 a.m.

    राम्रो र सान्दर्भिक लेख र लगभग सत्य पनि छ , किनकि विश्वमा हामी नेपालीलाई सामान्य लाग्ने रुघा खोकी तातो पानीले नै निको हुन्छ तर त्यही रुघा खोकीले बाँकी दुनियाँलाई एन्टिबायोटिक नै चलाउनुपर्छ र पनि घांटी र फोक्सोमा संक्रमण भएको पाइन्छ /

  •  0 Reply

तपाईको प्रतिक्रिया