'पेट्राेल छैन' भन्दै विराटनगरमा कृत्रिम अभाव सिर्जना

 चैत ३, २०७६ सोमबार १७:३०:१५ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगरका अधिकांश पेट्रोल पम्पहरुमा पेट्रोल नभएको भन्दै काला खोल ओढाइएका छन् । इन्धन दिइरहेका पम्पहरुमा पनि सर्वसाधारणको लामो लाइन छ । 

उपभोक्ता अधिकारकर्मी कृष्णप्रसाद भण्डारीले बजारमा व्यापारीहरुले कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाउनुभयो । उहाँले बजारमा अहिले इन्धन, ग्यास, स्यानिटाइजर र माक्स (मुखावरण) को कृत्रिम अभाव सिर्जना गराइएको बताउनुभयो । 

डिपोमा प्रशस्तै इन्धन हुँदा पनि व्यापारीले अभाव सिर्जना गराउँदा उपभोक्ता मारमा पर्दै आएका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले बजारमा देखिएको अभाव र आपूर्तिमा देखिन सक्ने समस्यालाई कम गर्नको लागि सबै सरोकारवालासँग गरेको छलफलमा सामग्री पर्याप्त हुँदा पनि अभाव सिर्जना गर्ने काम भएको सहभागीले बताए । 

प्रशासनमा भएको छलफलपछि नेपाल आयल निगमले इन्धन आयातमा कुनै समस्या नभएको र निगमनसँगै प्रशस्तै इन्धन रहेको बताएको छ । निगमका निमित्त क्षेत्रीय प्रमुख चितरञ्जन दासले प्रशस्तै इन्धन भए पनि पम्प सञ्चालकहरुले इन्धन नलगिकन बजारमा अभाव सिर्जना गराइएको बताउनुभयो ।  

उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लागेको र त्यसैको आधारमा नेपालमा पनि मूल्य समायोजन हुने परम्परा अनुसार मूल्य घट्ने डरले व्यापारीले इन्धन हुँदा पनि नउठाएको हुनसक्छ । 

निगमसँग अहिले ९० प्रतिशत इन्धन भण्डारण छ । ‘आयल निगम आफैसँग प्रशस्त इन्धन छ,  भारतबाट आउन पनि कुनै समस्या छैन, पर्याप्त आइरहेको छ, निमित प्रमुख दासले भन्नुभयो, ‘आयल निगमले मूल्य घटाउने डरले पम्पहरुबाट माग नै भएको छैन ।’

त्यस्तै पछिल्लो दुई दिनमा ग्यासमा समेत व्यापारीले कृत्रिम अभाव सिर्जना गरेको बताइएको छ । आयल निगम विराटनगरका अनुसार कोशी ग्यास ८३८ दशमलव ५२ मेट्रिक टन अर्थात् ५९ हजार सिलिण्डर, सुविधा ग्यास ३८० दशमलव ३० मेट्रिक टन अर्थात् २६ हजार ५ सय सिलिण्डर, प्रिमा ग्यास २८३ मेट्रिकटन अर्थात् १९ हजार ५ सय सिलिण्डर, सुगम ग्यास २१३ मेट्रिकटन अर्थात् १५ हजार सिलिण्डर रहेको छ ।

त्यस्तै रिजालको ग्यास १७७ मेट्रिक टन अर्थात् १२ हजार पाँच सय सिलिण्डर ग्यास स्टकमा रहेको प्रमुख दासले बताउनुभयो । 

इन्धनमा मात्र हैन, खाद्यान्नमा समेत मूल्य वृद्धि भएको छ । उपभोक्तावादी संस्था नागरिक सचेतना मञ्चका अध्यक्ष मोहन भट्टराईले अहिले बजारमा ४० प्रतिशतसम्म खाद्यान्नको मूल्य अभाव भएको देखिएको बताउनुभयो । राज्यले अहिलेदेखि नै ध्यान नदिने हो भने ठूलो समस्या आउन सक्ने भट्टराईले सचेत गराउनुभयो । 

'नुन १२ महिना पुग्छ'

छलफलको क्रममा साल्ट ट्रेडिङ कार्यालय विराटनगरका प्रमुख राधेश्याम चौधरीले ३ लाख २३ हजार १ सय ४३ बोरा नुन रहेको जानकारी दिनुभयो । सरकारले ६ महिनाको लागि स्टकमा राख्ने भनेको थियो तर त्योभन्दा बढाएर नै स्टकमा राख्ने गरिएको चौधरीले जानकारी दिनुभयो । अहिलेकै अवस्थामा कुनै समस्या नहुने साल्ट ट्रेडिङले जनाएको छ । 

त्यस्तै विराटनगरको खाद्य गोदाममा १ हजार ८ सय ५८ दशमलव ८५ क्विन्टल चालम भण्डारमा रहेको जानकारी दिइएको छ । 

संघीय सरकारका वाणिज्य तथा आपुर्ति मन्त्री मोती दुगडले उपभोक्तालाई अप्ठेरोमा पर्नेगरी ब्यापारीलाई नलाग्न निर्देशन दिनुभयो । राष्ट्र र जनतालाई सर्वाेपरि ठानेर जनताको हितमा लाग्नु पर्ने मन्त्री दुगडले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया