कोरोना रोकथामको सरकारी निर्णय : डर मान्ने कि भर ?

 चैत ६, २०७६ बिहिबार १०:१:१८ | मिलन तिमिल्सिना
unn.prixa.net

जसले जे जस्तो आशङ्का गरे पनि नेपालमा अहिलेसम्म कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण नदेखिएको कुरा सत्य हो । तर सँगसँगै अर्को सत्य पनि के हो भने नेपालको अवस्था कोरोना सङ्क्रमित देशहरुको जस्तै भइसकेको छ । बुधबारको सरकारी निर्णयसँगै एकाएक अवस्था फेरिएको हो ।

अघिल्लो दिनसम्म सामान्य रहेको जनजीवन बिहीबारदेखि त्रसित देखिन थालेको छ । बाटोघाटो र बजारमा चहलपहल ह्वात्तै घटेको छ । काठमाण्डौबाट पोकापन्तुरा बोकेर गाउँ फर्कनेहरुको लहर सुरु भएको छ । शहरमा बस्ने छोराछोरीलाई बाआमाले गाउँमा बोलाउन थालेका छन् । घरबाहिर निस्कने धेरैको अनुहार मलिन र त्रसित देखिन्छ ।

अन्तिम समयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने सरकारको निर्णयले आमनागरिकमा अन्याेल र सन्त्रास झन् बढाएको हो । कोरोना आइसक्यो या आउन लाग्यो भन्ने थाहा पाएरै सरकारले परीक्षा स्थगित गर्नेसम्मको निर्णय गर्‍याे भन्ने धेरैलाई लागेको छ । 

कोरोना रोकथामका लागि सरकारको पूर्वतयारी र पूर्वसावधानीलाई जायज मान्न सकिन्छ । कोरोनाको सङ्क्रमण फैलनुभन्दा पहिले नै रोकथाम गर्नु उचित निर्णय हो । तर बुधबार सरकारका मन्त्रीदेखि कर्मचारीसम्मको कार्यशैली र निर्णयले सरकार आवश्यकताभन्दा बढी आत्तिएको जस्तो देखिन्छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार दिउँसोको बैठकले १५ बुँदे निर्णय गर्दा एसईई परीक्षा स्थगित गरिएको थिएन । २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्ध, डान्स बार, सिनेमा हल, मनोरञ्जनस्थल, क्लब बन्द, सबैखाले खेलकुद प्रतियोगता स्थगित, युरोपसहित सङ्क्रमित देशबाट नेपाल आउन प्रतिबन्ध, सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न रोक लगायतका निर्णय मात्र भएको थियो ।

निर्णयको बुँदा नम्बर १२ मा एसईईको हरेक केन्द्रमा स्वास्थ्य जाँचको व्यवस्था गर्ने भनिएको थियो । त्यसै अनुसार सबै व्यवस्था भइसकेको थियो ।

बिहीबारदेखि सुरु हुने परीक्षाको लागि विद्यार्थी परीक्षा केन्द्र पुगिसकेका थिए । स्वास्थ्य जाँच लगायका सबै तयारी पूरा भइसकेको थियो । तर १५ बुँदे निर्णय सार्वजनिक भएको केही घण्टामै एसईई परीक्षा स्थगित भएको खबर आयो । 

उच्चस्तरीय समन्वय समितिको बैठक सकेर बालुवाटारमा प्रधानमन्त्री भेट्न जानुभएका उपप्रधानमन्त्री पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिनुभयाे । उहाँले पत्रकारलाई यो निर्णय सुनाउँदा शिक्षा मन्त्री गिरिराजमणि पोख्रेललाई समेत यसबारे थाहा थिएन । नेकपा सचिवालय बैठकको सुझाव र प्रधानमन्त्रीको निर्देशनपछि उपप्रधानमन्त्री पोखरेलले एसईई परीक्षा स्थगित भएको निर्णय सुनाउनुभयाे र त्यसपछि मात्र शिक्षा मन्त्रीले थाहा पाउनुभयाे । अनि परीक्षा बोर्डको बैठक बसेर परीक्षा स्थगित भएको आधिकारिक निर्णय भयो ।

त्यतिबेलासम्म परीक्षार्थी, अभिभावक र शिक्षक मात्र होइन, आमनागरिकलाई अन्योल भइसकेको थियो । अन्तिम अवस्थामा एसईई परीक्षा स्थगित हुँदा किताब, कापी र चामल तरकारी बोकेर परीक्षा केन्द्रमा डेरा गरेर बस्न थालिसकेका विद्यार्थी अप्ठ्यारोमा परेका छन् । अन्योलसँगै डर र त्रास छाएको छ । 

अघिल्लो दिन दिउँसोसम्म सबै तयारी गरेर बेलुकी एकाएक परीक्षा स्थगित गर्ने निर्णय गरेर सरकारले डर उत्पन्न गरेको छ । सङ्कटको बेला सरकारले गर्ने निर्णय अप्रत्याशित हुन्छन् नै । विश्वभर प्रकोपको रुपमा फैलिसकेको कोरोना रोकथामको लागि पूर्वतयारी र पूर्वसावधानी गर्नु नै उपयुक्त कदम हो ।

ढिलै भए पनि सरकारले सही निर्णय गर्‍याे भन्नेहरु पनि छन् । तर अवस्था र परिस्थितिलाई ख्याल नगरि सरकारले हठात निर्णय गर्दा आमनागरिकलाई सतर्कताभन्दा बढी सन्त्रास छाएको छ । परीक्षा रोक्नु नै थियो भने बुधबारको सट्टा मङ्गलबार निर्णय गरेको भए के हुन्थ्यो ? मङ्गलबार र बुधबारको अवस्थामा के फरक आयो र सरकारलाई एकाएक अप्रत्याशित निर्णय गर्नुपर्‍याे ? यो प्रश्न पनि जायज छ ।

हामी यस अर्थमा भाग्यमानी छौँ कि विश्वका एक सय ७३ देशमा कोरोनाको सङ्क्रमण फैलिसक्दा समेत नेपालमा एक जनामा भन्दा अरुमा देखिएको छैन । सङ्क्रमित एक जना पनि पहिले नै निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म पाँच सयभन्दा बढी शङ्कास्पद बिरामीको ल्याब परीक्षण गर्दा सबै 'नेगेटिभ' भेटिएको छ । धेरैले नेपालको प्रयोगशाला र परीक्षणबारे पनि शङ्का गरेका छन् । तर नेपालको प्रयोगशाला विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को मापदण्डकै हो । नेपालले गरिरहेको परीक्षणलाई विश्व स्वास्थ्य सङ्गठनले पनि नजिकबाट हेरिरहेको छ र रिपोर्टलाई उसले पनि मान्यता दिएको छ । 

एकछिनलाई मानौँ, नेपालको परीक्षण ठिक थिएन रे, सङ्क्रमित भएर पनि थाहा भएन रे । त्यसो हो भने कुनै न कुनै ठाउँ या अस्पतालमा बिरामी देखिन्थे या कतै अस्वभाविक मृत्यु भएको थाहा हुन्थ्यो । तर अहिलेसम्म अस्वभाविक रुपमा बिरामी बढेका या मृत्यु भएको भेटिएको छैन । यसबाट ढुक्क हुन सकिन्छ कि नेपालमा अहिलेसम्म कोरोनाको सङ्क्रमण भित्रिएको छैन ।

त्यसो त विगतमा कोरोनाजस्तै विश्वका विभिन्न देशमा महामारीको रुपमा फैलिएका अरु डरलाग्दा रोग नेपाल भित्रिएको थिएन । १८ वर्षअघि कोरोनाजस्तै श्वासप्रश्वाससँग सम्बन्धित प्राणघातक रोग 'सार्स' ले चीनमा महामारीको रुप लिँदा नेपालमा देखिएन । यस्तै चार वर्षअघि दक्षिण कोरिया हुँदै थाइल्याण्डसम्म फैलिएको श्वासप्रश्वाससम्बन्धी यस्तै प्राणघातक अर्को रोग 'मर्स' पनि नेपालमा आएन । सार्स, मर्स र कोरोनाको प्रकृति झण्डै उस्तै हो । सार्स र मर्स भित्रिन नसकेको नेपालमा उस्तै खालको अर्को रोग कोरोना अहिलेसम्म फैलिन सकेको छैन । यो आमनेपालीको आत्मविश्वास बढाउने भरपर्दो आधार हो ।

अर्को कुरा विदेशमा कोरोनाले मान्छेकाे ज्यान गएकाे खबर सुनेर हामी जति आत्तिएका छौँ, ती देशको जनसङ्ख्याको आधारमा ज्यान गुमाउनेकाे सङ्ख्या त्यति ठूलो होइन । झण्डै डेढ अर्ब जनसङ्ख्या रहेको चीनमा कोरोनाबाट तीन हजार दुई सय ३७ को ज्यान गएकाे छ । ६० करोड जनसङ्ख्या रहेको इटलीमा अहिलेसम्म दुई हजार ९ सय ७८ जनाको ज्यान गएको छ ।

एक अर्ब ३० करोड जनसङ्ख्या रहेको भारतमा कोरोनाको सङ्क्रमणबाट अहिलेसम्म तीन जनाको ज्यान गएको छ । एक सय ६९ जना सङ्क्रमित भएका छन् । एकैपटक सङ्क्रमित देखिनु र ज्यान गुमाउनु अस्वभाविक जस्तो लागे पनि ती देशको जनसङ्ख्याको तुलनामा सङ्क्रमण र मृत्युदर निकै कम हो । लगभग तीन करोड मात्रै जनसङ्ख्या रहेको हाम्रो देशले ती देशको यो दर हेरेर धेरै डराउनुपर्ने अवस्था छैन ।

हो, नेपाल स्रोत र साधनमा कमजोर छ । तर आफ्नै देशको सरकारी अस्पतालमा प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपण गरेर हौसला बढेका दक्ष डाक्टर र स्वास्थ्यकर्मी नेपालमा छन् । पराम्परागत खाना र प्राकृतिक जीवनशैलीमा हुर्केर आत्मबल बलियो भएका नागरिक छन् । नेपाली सेना र सरकारका अरु निकायले आकस्मिक उपचार केन्द्र र आवश्यक अरु तयारीलाई तीव्रता दिएका छन् । ढिलै भए पनि सरकारले पूर्वतयारी र पूर्वसावधानी बढाएको छ । 

अहिलेसम्म कोरोनाको सङ्क्रमण देखिएको छैन । देखियो भने पनि पूर्वतयारी र पूर्वसावधानी अपनाइएको छ । त्यसैले यो आतङ्क होइन, सतर्कता बढाउने बेला हो । आफ्नो पछिल्लो निर्णयबाट आतङ्कित भएका नागरिकलाई सतर्कता र विश्वास बढाउने दायित्व सरकारकै हो । 

 

अन्तिम अपडेट: चैत ६, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया