कोरोना सतर्कता : प्रदेश १ सरकारले सीमा क्षेत्रको आवत-जावत बन्द गर्ने

 चैत ७, २०७६ शुक्रबार २०:१२:२५ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - प्रदेश १ काे कोरोना भाइरस रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थासम्बन्धी प्रदेश निर्देशन समितिको बैठकले नेपाल-भारत सीमा नाकामा आवत-जावत बन्द र व्यवस्थित गर्ने निर्णय गरेको छ । 

कोभिड १९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको निर्णय कार्यान्वयन गर्न कडा रुपमा प्रस्तुत हुने भएको हाे ।

प्रदेश १ अन्तर्गतका प्रमुख नाकाहरु नेपाल सरकारसँग समन्वय गरी बन्द वा व्यवस्थित गर्ने सम्बन्धमा तत्काल पहल गर्नुको साथै साना नाकाहरुमा आवत-जावतमा कडाइ गर्ने र तत्काल साना नाकाहरु बन्द गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्रदेशमा रहेका सबै सरकारी तथा गैह्रसरकारी सार्वजनिक सेवा-प्रवाह गर्ने निकायहरुमा पानी र साबुनको व्यवस्था गर्न मातहतका सबै मन्त्रालयहरुमा निर्देशन दिने छ। 

बैठकले माथि उल्लिखित व्यवस्था डिपार्टमेन्टल स्टोर तथा निजी अस्पतालहरुमा समेत गर्न निर्देशन दिएको छ । बढी मानिसहरुको जमघट हुने मेला, हाटबजार तथा वनभोज जस्ता क्षेत्रमा यस पूर्व गरिएको निषेध गरिएको, प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयहरु तथा यातायात सेवा कार्यालयहरुबाट सम्पादन हुने सेवाहरु (दर्ता, नवीकरण, सवारीचालक अनुमतिपत्र)  चैत्र मसान्तसम्मका लागि बन्द गरेको छ ।

भन्सार बिन्दुबाट नेपालको नजिकैको सहरमा सुविधामा आउने भारतीय गाडीहरु नियन्त्रण गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा अनुरोध गर्ने समेत समितिको निर्णयमा उल्लेख गरिएको छ । 

प्रदेशस्तरमै मेडिकल प्रयोगशाला स्थापना गर्न गृहकार्य सुरु गर्ने, न्यूनतम दश बेडको भेन्टिलेटरसहित ५० शय्याको अस्पताल पूर्व नेशनल ट्रेडिङ लिमिटेडको भवनमा स्थापना गर्ने तयारी प्रदेश सरकारको छ ।

नेशनल ट्रेडिङ लिमिटेडको भवनमा सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयले समन्वय गरी एक हप्ताभित्र ५० बेडको अस्पताल निर्माण गर्ने काम भोलिदेखि नै सुरु गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

यसका लागि जनशक्तिको व्यवस्थापन सामाजिक विकास मन्त्रालयले गर्ने, आवश्यक सहयोग नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलबाट लिने समेत निर्णय भएको छ ।

टोलीको अनुगमन

कोरोना भाइरस रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी प्रदेश निर्देशन समितिको बैठकपछि प्रदेश सरकारले नेशनल ट्रेडिङ लिमिटेडको भवनको अवलोकन गरेको छ । 

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कुमार कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा प्राविधिक सहितको टोलीले तत्काल ५० बेडको आइसोलेशन वार्ड बनाउने स्थालको  अनुगमन गरेको हो ।

५० बेडको हुने अस्पतालको निर्माणको लागि भोलिदेखि नै काम सुरु हुनेछ । जसको लागि भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयले मर्मत सम्भार र रंग रोगन गरेर १ हप्ताभित्रमा अस्पताल निर्माण गरिसक्ने मन्त्री घिमिरेले जानकारी दिनुभयो ।  

अस्थायी निर्माण हुने अस्पतालकोलागि चाहिने प्राविधिक सामाग्रीहरु विभिन्न अस्पताहरुबाट ल्याउने सरकारको  तयारी छ ।

नाकामा कडाइ

नेपाल भारत सीमा क्षेत्रमा हुने आवत जावतलाई मध्यनजर राख्दै सीमा क्षेत्र जोगवनीमा कडाइ गरिएको छ । सर्वसाधारण जो कोहीलाई परीक्षण गरेर मात्र नेपाल प्रवेश दिने गरिएको छ । भारतबाट नेपाल प्रवेश गर्ने सर्वसारणलाई लाईन लगाएर  परिक्षण गरेर मात्र प्रबेश दिने गरिएको  छ ।

सीमानाकाको अवलोकन पछि प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले काँकडभिट्टा नाका र जोगबनी नाका बाहेकका सबै नाका एक हप्ताभित्र आवत जावतलाई पूर्ण रुपमा बन्दा गराउने तयारी भइरहेको जानकारी दिनुभयो । 

खुल्ला नाकाको कारण समस्या हुनसक्ने अवस्थालाई मध्यनजर राख्दै अब दुई नाकामा पनि कडाइ गर्ने र अन्य छोटी नाकाहरु बन्द गराउन संघीय सरकालाई  शुक्रबार जानकारी गराइसकिएको मन्त्री कार्कीले बताउनुभयो ।

यसैबीच आईसीपी एकिकृत भन्सार जाँच चौकीमा समेत हेल्थ डेस्क राखिने भएको छ । सामान लिएर आउने गाडीका चालकको परीक्षणको लागि हेल्थ डेस्क राख्न निर्देशन दिइएको मन्त्री कार्कीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत २७, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया