आपतका बेला संयम अपनाउने हो, अनावश्यक कुरा सोच्दा रोगसँग लड्ने क्षमता घट्छ

 चैत ११, २०७६ मंगलबार ७:२६:१९ | डाक्टर ऋषभ कोइराला
unn.prixa.net

कोभिड – १९ को जोखिम विश्वव्यापी रुपमा फैलिएसँगै नेपालमा पनि सतर्कता अपनाइएको छ । सतर्क हुनु राम्रो र आवश्यक कुरा हो । तर यससँगै धेरै जना अनावश्यक चिन्ता र तनावमा रहेको पनि पाइएको छ । चाहिने कुरा भन्दा धेरै सोच्नु र अब के हुने हो भनेर तनाव लिनु आफ्नै लागि घातक हुन्छ । यसले मानसिक र शारीरिक समस्या निम्त्याउँछ । यसो गर्नाले रोगसँग लड्ने आत्मबल कमजोर हुन्छ । धेरैजसो कुरामा हामी आफैले आफैलाई तनाव दिइरहेका हुन्छौँ । 

वनको बाघले खाओस् कि नखाओस् मनको बाघको शिकार बनिरहेका हुन्छौँ । हल्लाको पछि लाग्दा, नचाहिने कुरामा धेरै चासो राख्दा, त्यस्ता कुरा खोतलिरहँदा यस्तो समस्या बढ्ने गर्छ ।

हामी कसैले भनेको कुरा आधिकारिक हो कि होइन भन्ने निर्क्योल नगरि जेसुकै कुरा पनि पत्याइहाल्छौँ अनि आतङ्कित बन्छौँ । त्यतिमात्र होइन अहिले त त्यस्ता कुरा फेसबुक लगायत सामाजिक सञ्जालमा शेयर गरेर अरुलाई आतङ्कित पनि गरिरहेका हुन्छौँ ।  

अहिले मुख्यगरी कोभिड १९ के हो र नेपालको अवस्था के छ ? भन्ने कुरा चाहिँ बुझ्न आवश्यक छ । यसबारेमा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विभिन्न सूचनाहरु अद्यावधिक गरिरहेको छ । सरकारले पनि सूचना र पछिल्लो अवस्थाबारे जानकारी दिइरहेको छ । विज्ञहरुले सरसल्लाह पनि दिइरहेका छन् । 

विश्व स्वास्थ्य सङ्गठन, नेपाल सरकार, अस्पताल र सरुवा रोग विशेषज्ञ लगायत डाक्टरहरुले भन्ने कुरालाई मात्र आधिकारिक मान्नुपर्यो । र त्यस्ता कुरा मात्र पत्याउनुपर्यो । बाँकी कुरालाई बेवास्ता गर्नुपर्यो । जोसुकैले भनेको जेसुकै कुरा पत्याउन थाल्यो भने त्यसले आफैभित्र डर र त्रास उत्पन्न गराउँछ । अनि थप समस्या निम्त्याउँछ । आफू निश्चित नभइकन कुनै पनि कुरा शेयर पनि गर्नुहुँदैन । कसैले भनेको कुनै उडन्ते कुरालाई हामीले पनि शेयर गर्नु भनेको त्यसलाई थप प्रोत्साहन गर्नु हो । यस्तो बानीले गर्दा उनीहरु नकारात्मक कुरा उत्पादन गर्न प्रेरित हुन्छन् । समाजका आममानिसले मात्र होइन पढेलेखेका र उच्च ओहोदाका व्यक्तिहरुले पनि यसो गरिरहेको पाइन्छ । तर यस्तो कुरामा सचेत रहनुपर्छ । 

कुनै पनि विपतमा डराउने, आत्तिने, अनावश्यक सञ्चय गर्ने बानी नेपालको मात्र होइन, विश्वकै मानिसको साझा विशेषता हो । यस पटक पनि विश्वव्यापी रुपमा हेर्दा मानिस धेरै नै अतालिएको देखिन्छ । बरु त्यसको तुलनामा नेपालमा कम देखिएको छ । अनावश्यक चिन्ता ठिक होइन । यसले थप मानसिक समस्या निम्त्याउँछ । पुराना रोगहरु ब्युँतिन सक्छन् । चिन्ताको रोग ‘एन्जाइटी’ भएका व्यक्तिलाई त्यो अझ बढ्ने खतरा रहन्छ । चिन्ताले शरीरमा ‘स्टेरोइड’ भन्ने तत्त्व निस्कन्छ । जसले गर्दा रोगसँग लड्ने क्षमता कम हुन्छ । अहिलेसम्म कोभिड १९ को कुनै औषधि छैन । यससँग जुध्न शरीरभित्रको रोग प्रतिरोधी क्षमता बढाउन आवश्यक छ । 

अनावश्यक तनाव लिँदा व्यक्ति र परिवारलाई नै नोक्सानी पुर्याइरहेको हुन्छ । दिमागमा कुनै सोच आउनासाथ त्यसको अर्को पक्षलाई पनि केलाउनुपर्छ ।

कोभिड १९ फैलिन कसरी नदिने ? फैलिइहाले यसबाट जोगिने उपाय के के हुन् ? यसको जोखिम कस्ता व्यक्तिलाई धेरै छ ? मृत्युदर के छ ? यो सर्ने सम्भावना कति छ ? जस्ता कुराहरु पनि केलाउन आवश्यक छ ।

यस्तो बेलामा आधिकारिक निकायका सूचनालाई पछ्याउनु र पत्याउनुपर्छ । अफवाहको भरमा दौडिहाल्नु हुँदैन । 

अहिले कोरोनारुपी वनको बाघ आएको छैन तर हामी धेरैलाई मनको बाघले बढी खाइरहेको छ । अहिलेको अवस्था भनेको सतर्क रहनुपर्ने तर धेरै नै डराउने वा आतङ्कित हुनुपर्ने अवस्था होइन । किनकि कोरोना फैलिसकेको भए सरकारले चाहेर पनि रोकिँदैन । बिरामी हुने क्रम बढ्छ, मृत्यु हुने क्रम बढ्छ । ज्वरो आएर रुघाखोकी लागेर मानिस मरेका भए प्रविधिको यति विकास भएको देशमा समाचार आइसक्ने थिए । मतलब अहिलेसम्म कोरोना आइसकेको छैन भन्न सकिने आधार धेरै छन् । भलै, हुनुपर्ने जति जाँच भएको छैन होला तर सरकारले नै लुकाइरहेको भन्ने कुरा चाहिँ गलत हो । त्यसैले सजग र सतर्क रहनुपर्छ, आतङ्कित हुनु हुँदैन ।  

अहिले संयमता र सतर्कता आवश्यक छ । संयम नभए कुनै पनि विपत्तिसँग जुध्न सकिँदैन । अस्ति त्रिवि शिक्षण अस्पतालबाहिर मास्क (मुखावरण) किन्नका लागि धेरै मानिस ठेलमठेल गरिरहेको देखियो । खासमा मानिसहरु बच्नका लागि यो गरिरहेका थिए तर उनीहरुले सङ्क्रमणको जोखिम चाहिँ बढाइरहेका छन् । त्यहाँ एक जना मात्र सङ्क्रमित भयो भने अवस्था भयावह हुन्छ । 

अहिले रुघाखोकी लाग्ने मौसम हो । धेरै जनालाई रुघाखोकी लागेको पनि छ । यसले पनि धेरैलाई त्रसित बनाएको हो । सामान्य रुघाखोकीको घरमै उपचार गर्न सकिन्छ । सिटामोल खाने, तातोपानीको बाफ लिने जस्ता काम गर्न सकिन्छ । यस्तै मुख टिस्यु वा रुमालले छोपेर वा कुहिनोले छेकेर खोक्ने र हाच्छ्युँ गर्ने, ब्रुफिन ब्रुसेट जस्ता औषधि चाहिँ नखाने, लगायत गर्दा यो कम भइहाल्छ । त्यसैले अनावश्यक रुपमा अस्पताल जानु पनि राम्रो होइन । किनभने अस्पतालमा अनावश्यक भिडभाड गर्दा कोरोना लगायतका जोखिम बढ्छ र अस्ताल व्यवस्थापन गर्न पनि समस्या हुन्छ । त्यसैले अहिले सामान्य रुघाखोकी मा अत्ताालिएर अस्पताल गइहाल्न आवश्यक छैन । तर चार पाँच दिनसम्म पनि रुघाखोकी ठीक भएन र फ्लु भाइरलबाट ब्याक्टेरियल बन्यो खकार पाक्ने जस्तो अवस्था भयो भने अस्पताल जानुपर्छ । 

गल्ती कमजोरी कोट्याउने मात्र नभएर अब के गर्ने भन्नेमा बहस हुनुपर्यो । अनि पो समाधान निस्किन्छ । 

नियमित काममा व्यस्त हुने व्यक्तिलाई दुई हप्तासम्म क्वारेन्टाइनमा बस्दा समय बिताउन कठिन हुन्छ नै । तर त्यस्तो बेला एउटा अवसर पनि हो भन्ने हिसाबले लिन आवश्यक छ । हामी समय पाइएन, सधैँ व्यस्त भइयो भनेर दुःख मानिरहेका हुन्थ्यौँ । अब त्यो समय पाइएको छ । आफूलाई मन लागेको कुरा गरौँ । किताबहरु पढौँ । मन बहलाउने कुराहरु हेरौँ । इन्टरनेटमा गर्न सकिने राम्रा कामहरु छन् । ती काम गर्न सकिन्छ । रमाइला कुराहरु हेरेर समय बिताउन सकिन्छ । मानसिक तनावबाट मुक्त बन्नपुर्यो । मनमा अनावश्यक कुरा खेलाउनु भएन । घरमै बगैँचा छ भने गोडमेल गर्न सकियो । घरभित्रको सरसफाइ गर्न सकियो । गमलामा बिरुवा रोप्न सकिन्छ । उपाय जति पनि निस्कन्छन् । 

(मनोचिकित्सक कोइरालासँग लक्ष्मण कार्कीले गरेको कुराकानीमा आधारित) 

अन्तिम अपडेट: चैत २१, २०७६

डाक्टर ऋषभ कोइराला

डा. कोइराला मनोचिकित्सक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया