सुर्खेतमा भारतबाट आएका सन्ताउन्न जनालाई क्वारेन्टाइनमा राखियो

 चैत १२, २०७६ बुधबार १२:२७:७ | मुना हमाल
unn.prixa.net

सुर्खेत - कर्णाली प्रदेश सरकारले भारतबाट फर्किएका ५७ जना व्यक्तिलाई  क्वारेन्टाइनमा राखेको छ । 

बुधबार राति भारतबाट आउँदै गर्दा नाकामा अलपत्र परेका कर्णालीका नागरिकलाई उद्धार गरेर क्वारेन्टाइनमा राखिएको हो । सरकारले वीरेन्द्रनगरमा रहेको अशोका होटलमा क्वारेन्टाइनको व्यवस्था गरेको छ। 

सामाजिक विकासमन्त्री दल रावलले नेपाली सेनाले बनाउँदै गरेको क्वारेन्टाइन तयारी अवस्थामा नरहेकाले उनीहरुलाई होटलमा समन्वय गरेर राखिएको  र उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने बताउनु भयो।

उहाँले कञ्चनपुरको गड्डाचौकी नाकामा अलपत्र परेका ३२ जना कर्णालीका नागरिकलाई बुधबार उद्दार गरिने बताउनु भयो ।

प्रदेश सरकारले यात्रा गर्दा कोही अलपत्र परेमा उद्धारका लागि भनेर हटलाइन सेवा सुरु गरेको छ । भारतबाट फर्किएका नागरिक अलपत्र परेको गुनासो आएपछि सरकारले १११० नम्बरको हटलाइन सेवा सुरु गरेको हो।  

जिल्ला प्रहरी कार्यालयका एसपी दिल्लीराज पन्तले आज सुर्खेतमा बाहिर निस्कन नदिनका लागि कडाइ गरिएको जानकारी दिनुभयो । उहाँले हिजो धेरै उल्लघंन भएकाले थप कडाइ गरिएको जानकारी दिनुभयो ।

 प्रहरीले मंगलबार तीनसय २३ वटा सवारी साधन नियन्त्रणमा लिएको थियो भने चार जनालाई पक्राउ गरेको थियो ।  

अन्तिम अपडेट: चैत १५, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया