मनासलु पुगेका पर्यटक प्रशासनको समन्वयमा काठमाण्डौ फिर्ता

 चैत १२, २०७६ बुधबार १८:२४:५५ | किरण लोहनी
unn.prixa.net

गोरखा - लकडाउनका कारण मनासलु पदमार्गका विभिन्न ठाऊँमा रोकिएका विदेशी पर्यटक र तिनका नेपाली सहयोगीलाई काठमाण्डौ फर्काउन थालिएको छ ।

लकडाउनको निर्णय हुनुअघि नै पदयात्रामा आएका उनीहरुलाई प्रशासन कार्यालयको समन्वयमा फिर्ता पठाउन थालिएको हो । लकडाउनको निर्णय भएपछि यात्रामा रहेकाहरु फर्कने क्रम बढेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनुभयो ।

धार्चे गाउँपालिकाको सोतीबजारसम्म पैदल आएकाहरुलाई त्यहाँबाट गाडीको पास उपलब्ध गराएर फिर्ता पठाउन थालिएको उहाँको भनाइ छ । लकडाउनपछि मनासलु पदयात्रामा रहेका ५ जना विदेशी पर्यटकलाई काठमाण्डौ पठाइएको पौडेलले जानकारी दिनुभयो ।

बुधबारमात्रै १२ जना पर्यटक प्रशासनको समन्वयमा काठमाण्डौ फर्किएका छन् । ‘चैत २ गतेबाटै मनासलु पदयात्रा प्रवेशमा रोक लगाइएको थियो, तर यात्राकै क्रममा रहेकाहरुलाई भने फिर्ता पठाउन थालेका छौं’, प्रजिअ पौडेलले भन्नुभयो, ‘कति विदेशी पर्यटक र तिनका सहयोगी मनासलु क्षेत्रमा थिए भन्ने यकिन तथ्यांक पाइसकेका छैनौं, तर जो जो हुनुहुन्छ, उहाँहरु फर्कनु हुनेछ ।’

मनासलु संरक्षण क्षेत्र आयोजना एमक्यापका अनुसार मार्च १५ अर्थात चैत २ गतेसम्ममा ६८ जना विदेशी पर्यटकले मनासलु क्षेत्र भ्रमणका लागि अनुमति लिएका थिए । चैत २ गतेबाटै मनासलु क्षेत्रमा नयाँ पर्यटक प्रवेशमा रोक लगाइएको थियो ।

उनीहरुमध्ये यात्रामा रहेकाहरुलाई चुमनुब्री गाउँपालिकाको जगतमा रहेको चेकपोष्टबाटै फर्काउने गरिएको एमक्याप प्रमुख नरेन्द्र लामाले बताउनुभयो ।  

अन्तिम अपडेट: बैशाख ७, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया