नुवाकोटका हरिशरण यूएईमा कोठामै मृत भेटिए

 चैत १३, २०७६ बिहिबार १४:९:२७ | उमाकान्त पाण्डे

यूएई – संयुक्त अरब इमिरेट्सको अबुधाबीमा कार्यरत एक नेपाली कोठामै मृत भेटिएका छन् ।

आबुधावीमा रहेको बेभ्रेली हिल्स मेडिकल सेण्टरमा कार्यरत बेलकोटगढी–१२, नुवाकोटका हरिशरण डोटेल गएको आइतबार आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत भेटिनुभएको हो । डोटेलको मृत्युबारे गएको सोमबार दूतावासमा जानकारी आएपछि दूतावासले कम्पनीमा सम्पर्क गरेको थियो ।

कम्पनीको निवास छोडेर बाहिर बस्दै आएका हरिशरण काममा लगातार दुई दिनसम्म नआएको भन्दै कम्पनीले खोजी गरिरहेको जनाएको थियो । दूतावासका अनुसार कोठामा झुन्डिएर आत्महत्या गरेको भन्दै सँगै बस्दै आएकी नुवाकोटकै एक महिला र अन्य दुई पुरुष दूतावासमा पुगेका थिए । मृत्यु शंकास्पद भएको परिवारको दावी छ ।

स्वदेश फर्केर कम्पनी खोली व्यवसाय गर्ने योजना बुनेका हरिशरणको मृत्यु प्रकरणमा अनुसन्धान जारी छ । अनुसन्धानका लागि भन्दै हरिशरणसँग बस्दै आएकी महिलालाई स्थानीय प्रशासनले पक्राउ गरेको छ ।

३७ वर्षीय हरिशरणको नेपालमा परिवारसँग पनि राम्रो सम्बन्ध रहेको र कुनै मानसिक दबाबमा नरहेकोले आत्महत्या हुन नसक्ने परिवारको दावी छ । हरिशरणको मृत्युको पुष्टि भए पनि मृत्युको कारणबारे अनुसन्धान जारी रहेकोले यसै भन्न नसकिने नेपाली दूतावास आबुधाबीले जनाएको छ । अनुसन्धान सकेर प्रशासनले शव लैजान अनुमति दिएपछि मात्रै शव नेपाल पठाउने प्रकृया गरिने दूतावासको भनाइ छ ।

हरिशरण बाल्यकालदेखिका साथी तथा सहपाठीहरुमध्येका एक एनआरएन यूएईका उपाध्यक्ष समेत रहेका निरंजन सिलवालले उनको मृत्यु प्रकरणमा गहिरिएर अनुसन्धान गर्न र सत्यतथ्य पत्ता लगाउन दूतावासलाई आग्रह गरेको बताउनुभयो ।

७ कक्षामा पढ्दा बुवा गुमाएका र स्नातक पढ्दै गर्दा दाजु गुमाएका,२०७२ को भूकम्पमा छोरोसमेत गुमाउँदा बिचलित नभएका डोटेलले आफ्नो अपाङ्ग आमालाई समेत बिर्सेर आत्महत्या गर्छन् भन्ने आफूहरुलाई विश्वास नलागेको उनका सहकर्मी तथा सहपाठीहरुको भनाइ छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया