यूएई कोरोना अपडेट : ६ जना नेपालीमा सङ्क्रमण, दुई जना निको भए

 चैत १८, २०७६ मंगलबार ७:७:२४ | उमाकान्त पाण्डे
unn.prixa.net

यूएई - संयुक्त अरब इमिरेट्स  (यूएई) मा अहिलेसम्म ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको पुष्टि भएको छ। तीमध्ये दुई जना नेपाली निको भएका छन् ।

यूएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयलाई उद्धृत गर्दै आबुधाबीमा रहेको नेपाली दूतावासले ६ जना नेपालीमा कोरोनाको सङ्क्रमण भएको पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार यूएईमा फागुन २६ ९मार्च ९० मा पहिलो दुई जना नेपाली सहित १४ जना सङ्क्रमित फेला परेका थिए । त्यस्तै चैत १४ ९मार्च २७० मा थप दुई जना नेपाली सहित ७२ जना र चैत १५ ९मार्च २८० मा दुई जना नेपाली सहित ६३ जना सङ्क्रमित फेला परेको नेपाली दूतावासले जनाएको छ ।

सङ्क्रमित भएका ६ जना नेपालीमध्ये दुई जना गएको चैत १० गते निको भएर अस्पतालबाट डिस्चार्ज भएका हुन् र बाँकी चार जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको दूतावासले जनाएको छ । उपचार गराइरहेका नेपालीको अवस्था सामान्य रहेको दूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रिता धितालले जानकारी दिनुभयो । 

पाँच जनाको ज्यान गयो, सय ११ जनामा सङ्क्रमण  

कोरोना सङ्क्रमणका कारण सोमबारसम्ममा यूएईमा पाँच जनाको ज्यान गएको छ । त्यस्तै ४१ जना नयाँ सङ्क्रमित भेटिएसँगै सङ्क्रमितको सङ्ख्या ६ सय ११ पुगेको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सोमबार दुई जना भारतीय र एक जना फिलिपिनी नागरिकले स्वास्थ्य लाभ गरेका छन् । योसँगै जम्मा ६१ जना निको भएका छन् ।

यहाँका विद्यालयहरु बन्द गरिएका छन् । ठूला मलहरु बन्द छन् । केही कम्पनीहरुले दिउँसो मात्रै काम गरिरहेका छन् । त्यसरी काम गरिरहेका कामदारले असुरक्षित महसुस गर्ने गरेका छन् ।

त्यस्तै आउँदो अक्टोबर २० बाट २०२१ को अप्रिलसम्म सञ्चालन गर्न लागेको दुबई प्रदर्शनी समेत सर्न सक्ने स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । प्रदशनीको मिति सार्ने विषयमा उच्चस्तरीय बैठक बसिरहेको तर निर्णय भने सार्वजनिक गरिएको छैन । प्रदर्शनीलाई यूएईले अर्थ व्यवस्था उकास्न प्रतिष्ठाको रुपमा लिएको छ ।

यूएई सरकारले आमनागरिकको सुरक्षा सतर्कतालाई ध्यान दिँदै तीन दिनका लागि 'लकडाउन' गरेको समय थप एक हप्ताका लागि लम्ब्याएको छ । मार्च २७ गतेबाट हरेक दिन राति ८ बजेदेखि अप्रिल ५ तारिखसम्म बिहान ६ बजेसम्मका लागि लकडाउन  (रातको समयमा मात्रै कर्फ्यु) आदेश गरिएको छ । दिउँसोको समयमा सार्वजनिक सवारीसाधन नियमित सञ्चालन भइरहेका छन् ।

केही कम्पनीले नियमित काम गरे पनि काम रोकिएका कम्पनीका कामदारले खाइपाइ आएको रोजगारीमा जान सकेका छैनन् । दुई लाख ७५ हजार नेपाली कामदार रहेको यूएईमा पनि यो समस्या देखिन थालेको छ ।

प्रक्रिया पुराएर कामदार कटौती तथा तलब रोक्नसम्म अनुमति

यूएईले निजी क्षेत्रका कम्पनीहरुलाई प्रक्रिया पुराएर कामदार कटौती तथा तलब रोक्न सक्नेसम्मको अनुमति प्रदान गरेको छ । यूएई सरकारले सोमबार गरेको निर्णय अनुसार कोभिड १९ को सङ्क्रमणको प्रभावले समस्यामा परेका निजी क्षेत्रका कम्पनीहरुलाई यस्तो व्यवस्था गरेको हो ।

कोरोनाका कारण मानवीय दैनिकी तथा संसारभरको अर्थ व्यवस्था ओरालो लागिरहेको बेला यस्तो निर्णयले निजी क्षेत्रका लगानीकर्तालाई केही राहत मिले पनि कामदारहरु भने समस्यामा पर्ने भएका छन् ।

रोजगारको नीतिका बारेमा सोमबार यूएई सरकारले आफ्नो धारणा सार्वजनिक गरेपछि यस्तो आशङ्का देखिन थालेको हो । यसबारे युएईमा कामदार प्रदान गर्दै आएका देशहरुका नियोगहरुलाई अहिलेसम्म अधिकारिक जानकारी भने गराइएको छैन । त्यसैले नेपाल सहित आबुधाबी, डायलग तथा कोलम्बो प्रोसेसमा आबद्ध देशहरूले आफ्ना नागरिकले सुरक्षा र अवस्थाका कारण रोजगारी गुमाए सम्बन्धित देश फर्काउने विषयमा पूर्वतयारी गर्न भ्याइसकेका छैनन् । यद्यपि आबुधाबीमा रहेको नेपाली दूतावासले परि आउने समस्यामा सबैसँग हातेमालो गरेर समाधान गर्ने जनाएको छ ।

'हामी नेपाली नागरिकको सुरक्षाका विषयमा सर्तक र पूर्ण तयारी अवस्थामा छौँ, अहिले नै आत्तिनु पर्ने अवस्था छैन', यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले भन्नुभयो । उज्यालोसँग कुरा गर्दै राजदुत ढकालले अहिलेको समस्यासँग जुध्न होसियारी पूर्वक सबै सजग हुनु र दुई देशका सरकारहरुले लागु गरेका नियमको पालना गर्नु सबैको हितमा हुने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया