सन्धिखर्कमा आफूखुशी  राहत वितरणमा प्रतिबन्ध

 चैत २१, २०७६ शुक्रबार १६:३५:३० | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची - राहतका प्याकेज सबैलाई बराबर पर्नेगरी वितरण गर्न सन्धिखर्क नगरपालिकाले आफूखुशी राहत वितरणमा प्रतिबन्ध लगाएको छ । 

कोरोना भाइरसका कारण दुइ छाक टार्न समस्यामा परेका परिवारलाई राहत वितरण एउटै मापदण्डबाट गर्नका लागि  नगरपालिकाले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनु भयो । 


विभिन्न संघसस्था तथा व्यक्तिहरुले आफूखुशी राहत वितरण गर्दा पाउनु पर्नेले राहत नपाउने तथा एकै ठाउँमा धेरैको सहयोग पुग्ने भएकाले नगरभित्र एउटै प्रकारले राहत वितरण गर्न  नगरपालिकाले यस्तो नियम बनाइएको ज्ञवालीले बताउनुभयो। 
कसैलाइ सहयोग गर्ने इच्छ भएमा नगरपालिकासँग समन्वय गरेर नगरपालिकाले बनाएको मापदण्डमा बसेर राहत वितरण गर्नुपर्ने छ । राहत प्रदान गर्ने व्यक्ति तथा संघ सस्थाले चाहेको वडा र गाउँमा सहयोग गर्न दिने तर कति, के र कसरी वितरण गर्ने भन्नेमा नगरको मापदण्ड मान्नुपर्ने नगरपालिकाले नीति बनाएको छ । 
शाखा अधिकृत मञ्जु खनालले अनुसार वडा कार्यलयबाट आएको तथ्यांक अनुसार नगर भित्र मजदुरी गरेर खाने १४ सय ५६ घरपरिवार रहेको र तिनै घरपरिवारमा राहत वितरण हुने बताउनुभयो । 

प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले एक सूचना प्रकाशित गरी आर्थिक सहयोग गर्नेहरुले सन्धिखर्क नगरपालिकाको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नम्वर ३०५०३०५०४९४०६ मा जम्मा गर्न आग्रह गर्नुभएको छ । 

जिन्सी तथा खाद्यान्न सहयोग गर्नेले पनि नगरपालिकामा सम्पर्क गर्न आग्रह गरिएको छ । 
नगरपालिकाको कार्यपालिकाको बैठक बसेर राहतका प्याकेज एउटै तवरबाट गर्न र सबैलाई बराबर पर्ने गरी वितरण गर्न यस्तो नियम बनाएको नगर प्रमुख कमल प्रसाद भुसालले बताउनु भयो । 

सन्धिखर्क नगरपालिकाले नगरभित्र भाडामा बसोबास गर्नेहरुलाई तत्काल घरबाट ननिकाल्न घरधनीहरुलाई आग्रह गरेको छ । साथै चैत्र महिनाको भाडा पनि मिनाहा गर्न नगरपालिकाले अनुरोध गरेको छ । 

विश्वभर महामारिको रुपमा फैलिएको कोराना भाइरस (कोभिड १९) रोगका कारण यस्तो विषम परिस्थितिमा कसैलाई पनि घर छाड्न बाध्य नबाउन नगरपालिका सम्बन्धित पक्षलाई आग्रह गरेको हो । 
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीद्धारा हस्ताक्षरित पत्रमा नगरभित्र भाडामा बसोबास गर्ने, असंगठित क्षेत्रमा ज्याला मजदुरी गर्ने, नियमित पारिश्रमिक नपाउने व्यक्तिहरुलाई चैत्र महिनाको घरभाडा मिनाहा गर्न भनिएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया