क्वरेण्टीन वर्षको हार ....दिक्क शुभकामना !

 चैत २९, २०७६ शनिबार ८:३३:१३ | मिलन तिमिल्सिना
unn.prixa.net

कताको पात्रो, कताको क्यालेण्डर, थाहा न पत्तोसँग नयाँ वर्ष आयो । आज कति गते र कुन बार हो भन्ने समेत अलमल भएको बेला पुरानो वर्ष सकिन र नयाँ वर्ष आउन लागेको कुरा पनि नौलो भएको छ । 

पहिले पहिले नयाँ वर्ष आउनु महिना दिन पहिलेदेखि नै घुमफिरको योजना बन्थ्यो । अरुलाई सुनाउन र देखाउनकै लागि भए पनि घुम्ने ठाउँको बयान गर्न पाइन्थ्यो । तर यसपालि मान्छेलाई घरभित्र थुनेर कोरोना भाइरस संसार घुमिरहेको छ । 

चीनको नयाँ वर्षताका सुरु भएको कोरोना भाइरसले नेपाली नयाँ वर्षसम्मै पनि छोडेन । सुरुमा नेपाल पसौं कि नपसौं भन्ने दोधारमा रहेको उ तीन हप्तादेखि नेपाल भ्रमणमा छ । नयाँ वर्षमा घुमफिर गर्ने बानी भएका नेपालीलाई पनि घरभित्रै थुनेर उ सडकमा भौंतारिरहेको छ ।

अझै केही हप्ता उसैलाई मात्र बाहिर घुम्न दिनुपर्छ, आफू बाहिर घुम्न मिल्दैन । अरु काजकर्म त पछि गरौंला पनि भन्न मिल्थ्यो । तर नयाँ वर्ष त एक दुई महिनापघि मनाउँछु भन्न पनि मिलेन छ । अहिल्यै मनाउन पर्यो, अहिल्यै घुम्न पर्यो । तर बाहिर कोरोना छ, क्वारेण्टीनमा कसरी घुम्ने त ? उपाय मसित छ । लौ सुन्नुहोस् ।

तपाईं गाउँमा हुनुहुन्छ कि शहरमा ? शहरमा पनि आफ्नो घरमा कि डेरामा ? जहाँ हुुनुहुन्छ, ठाउँअनुसार घुम्ने शैली फरक हुन सक्छ । डेरामा हुनुहुन्छ भने एउटा कोठा या एउटा फ्ल्याट नै तपाईंको संसार हो । खाटदेखि भान्सासम्म, भान्सादेखि चर्पीसम्म ओहोरदोहोर गर्ने मार्ग तपाईं हिँड्ने राजमार्ग हो । शहरमा आफ्नै घर छ भने यो राजमार्ग अलि फराकिलो र लामो पनि हुन सक्छ । गाउँमा त करेसाबारी हुँदै आफ्नो खेत वा बारीसम्मै पुर्याउन सकिन्छ ।

जहाँ भए पनि नयाँ वर्षको दिन अलि विशेष गर्नुहोस् । दिन रात उस्तै भए पनि बिहान घामले पोल्दासम्म घुर्ने बानी पक्कै होला । घुर्न छोडेर सबेरै उठ्नुहोस् । आँखा मिच्नुहोस् र हातमुख धुनुहोस् । तीन हप्तादेखि कपाल नकोरेर, दाह्री नकाटेर, मेकअप नगरेर तपाईं झुसेफुस्रे भैसक्नुभएको छ । 

सबैभन्दा पहिले आज रुपलाई तीन हप्ताअघिको अवस्थामा फर्काउनुहोस् । दाह्री काट्नुहोस्, कपाल कोर्र्नुहोस्, मेकअप गर्नुहोस् । पहिले अनुहारमा के के दल्नुहुन्थ्यो, ती सबै खोजखाज गरेर सबै उसैगरी दल्नुहोस् । अब ऐना हेर्नुहोस् । तपाईं अर्कै देखिनुहुन्छ । आफ्नो अनुहार अर्कै देखेर तपाईंलाई भित्रैदेखि आनन्द महसुस हुन्छ । यो नयाँ वर्षको तपाईंको पहिलो खुशी र उमंग हो ।

बाहिरफेर जाँदा लगाउने लुगा र जुत्ता लगाउन पनि औधी रहर भैसक्यो होला । कोठाको कुनातिर मिल्काएर फालेको लुगा खोज्नुहोस् । कच्याकुचुक भएको लुगालाई तन्याकतुनुक पारेर लगाउनुहोस् । अनि जुत्ता पनि पुछपाछ पार्नुहोस् । मोजा त नलगाए नि होला भन्ने सोच्दै नसोच्नोस् । धुनु भएको छैन भने १८ दिन घर बस्दा गन्हाउन छाडिसकेको हुनुपर्छ ।

मोजा गन्हाउँछ कि गन्हाउँदैन, नाकले सुँघेर पत्ता लगाउनोस् । गन्हाउन छाडेको रहेछ भने बेसै भयो, गन्हाएको भए पनि खुट्टामा लाउनोस् र जुत्ता चाहिँ भिर्नुहोस् । मोजाको गन्ध जुत्ताले थिचेपछि पहिले जस्तै गायव हुन्छ । तीन हप्तापछि पुछपाछ पारेको अनुहारमा अलि सुहाउने खालको लुगा र जुत्ता ! यति गरेपछि तपाईंलाई हिँडेजस्तो होइन, उडेजस्तै महसुस हुन्छ ।

अब जुत्ता बजाउँदै भान्सादेखि खाटसम्म, खाटदेखि चर्पीसम्म पुग्नुहोस् । शीरदेखि पाउसम्म हेर्नुहोस्, कपाल सुम्सुम्याउनुहोस् । सर्टको कल्लर मिलाउनुहोस् । पाइन्टको गोजीमा हात हाल्नुहोस् । घरिघरि ऐना हेरिरहनुहोस्, मोबाइलमै हेर्दा नि भैहाल्यो । एकछिन घरको मूल ढोकाबाट बाहिर निस्कनुहोस्, फेरि ढोका लगाएर भित्र पस्नुहोस् । छत र कौसीमा गएर अलि परसम्म हेर्नुहोस् । आँखा चिम्लनुहोस् । यसअघिका नयाँ वर्षमा कतै नगएको ठाउँमा तपाईं उतैखेरी पुग्न भ्याउनुहुन्छ ।

तपाईंले यति गर्दासम्म सरकारले तपाईंकै सुविधाका लागि अर्को योजना पनि ल्याइसकेको हुन सक्छ । क्वरेण्टीनमा बस्दाबस्दा नागरिक दिक्क भए भन्ने कुरा बुझेर सरकारले बेलाबेला घतलाग्दा निर्णय गरेको त थाहा पाउनुभएकै छ । अस्ति भर्खर एक घण्टामै काठमाण्डौबाट घर पुर्याएर फेरि उतिखेरै ल्याइदियो । अहिले नयाँ वर्षमा पनि कोरोनाले थाहा नपाउने गरी विश्व भ्रमण गरेर फर्काइदिन बेर मान्दैन । 

आँट र अक्कल छ भने तपाईं आफैंले क्वरेण्टीनमा बसेरै नयाँ वर्षमा रोजी रोजी मन परेको ठाउँ घुम्न पाउनुहुन्छ । तपाईंको आँट छैन भने पनि तपाईंलाई छिनको छिन बाहिर भित्र गराउने सरकार छँदैछ । के को चिन्ता ? चिन्ता नलिनुहोस्, क्वेरीण्टनमै बसेर नयाँ वर्ष मनाउनुहोस् । नौलो नयाँ वर्षको नौलो शुभकामना ! 

शुभकामना त मलाई २०७७ विक्रम सम्वतकै दिन मन थियो, तर क्वरेण्टीन बस्दाबस्दै यसपालिको नयाँ बर्ष कुन बार आउँदैछ भन्ने समेत बिर्सिसकिएछ । मेरा लागि त यो क्वरेण्टीन वर्षको शुरुआत हो, त्यसैले नयाँ क्वरेण्टीन वर्षको हार ....दिक्क शुभकामना ! 
 

अन्तिम अपडेट: चैत ३०, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया