सवारी पासमा प्रशासनकै लापरवाही : स्कुटरलाई लकडाउन अवधिभरको पास

 चैत ३०, २०७६ आइतबार ११:२६:३२ | किरण लोहनी
unn.prixa.net

गोरखा - लकडाउनका बेला सवारी पास वितरणमा जिल्ला प्रशासन कार्यालय गोरखाबाटै लापर्वाही भएको पाइएको छ ।

अत्वाश्यक कामका लागि छोटो अवधिको पास उपलब्ध गराउने प्रशासनले एक स्कुटर चालकलाई जिल्लाभर खाद्यान्न ढुवानीको सवारी पास उपलब्ध गराएको पाइएको हो ।

सामान्यतया सवारी साधन प्रयोग हुने क्षेत्र र अवधि पनि पासमा उल्लेख हुने गर्छ । तर ती स्कुटर चालकलाई लकडाउन अवधिभरको लागि पास उपलब्ध गराइएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश प्रसाद भट्टराईले पास जारी गर्नुभएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाले गरेको जाँचका क्रममा स्कुटरलाई प्रयोजन विपरीत पास वितरण भएको खुलेको हो ।

प्रहरीले उक्त सवारी पास जफत  गरी स्कुटर र चालकलाई नियन्त्रणमा लिएको छ । भट्टराईले यसअघि नेविसंघका एक जिल्ला नेतालाई पनि लकडाउन अवधिभर प्रयोग गर्नेगरी मोटरसाइकलको सवारी पास उपलब्ध गराउनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारीकै छड्के चजाँचमा परेपछि उनको पास खारेज गरिएको थियो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कार्यालयबाट वितरण भएका पासबारे अध्ययन भैरहेको बताउनुभयो ।

‘पास जारी हुँदाका बखत हामीबाटै पनि केही कमजोरी भएका हुन सक्छन् अथवा वितरण भएका पासको दुरुपयोग पनि भएको हुन सक्छ’, उहाँले भन्नुभयो, ‘त्यही भएर त हामी छड्के जाँच गर्ने जस्ता काम गरिरहेका छौं, दुरुपयोग भएको पास खारेज पनि गर्छौं ।’

तर कतिपयलाई भने मोटरसाइकलमै कुखुराको दाना बोक्नेजस्ता कामको लागि पास दिइएको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया