टेलिभिजन र फेसबुक पेजबाटै पढाइ

 बैशाख २, २०७७ मंगलबार १२:४०:४२ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी छत्रदेव गाउँपालिकाले स्थानीय टेलिभिजनबाट अतिरिक्त कक्षा सञ्चालन गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) का कारण लकडाउनले गर्दा एसईई परीक्षा दिन नपाएका विद्यार्थीहरुलाई मध्यनजर गर्दै गाउँपालिकाले स्थानीय टेलिभिजनबाट प्रत्येक दिन बेलुका ७ बजे अतिरिक्त कक्षा सञ्चालन गर्न सुरु गरेको हो । परीक्षाको तयारी गरेर बसेका विद्यार्थीहरुले लकडाउनका बेला पढेका कुराहरु बिर्सन सक्ने भन्दै गाउँपालिकाले पुनर्ताजगीका लागि कक्षा सञ्चालन गरेको गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिनु भयो ।

टेलिभिजनबाट सञ्चालन हुने कक्षा हेर्न र हेराउन अभिभावकलाई समेत सघाउन आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताउनुभयो । यसले बिर्सेका र सम्झन नसकेका कुराहरुलाई सजिलै स्मरण गराउन मद्दत पुग्ने उहाँको भनाइ छ । पाणिनी गाउँपालिका ४ को देउराली माविले पनि फेसबुक पेजबाट अध्ययन गराउन थालेको छ । कक्षा १०, ११ र १२ का विद्यार्थीहरुलाई लक्षित गर्दै विद्यालयले फेसबुक पेजबाटै अतिरिक्त कक्षा सञ्चालनको व्यवस्था गरेको हो ।

परीक्षाको अन्तिम तयारी गरेका विद्यार्थीले लकडाउनको अवधिमा पनि परीक्षाको तयारी नछोडुन् भन्ने उद्देश्यले फेसबुक पेजबाटै अध्ययन अध्यापन गराइ राखेको शिक्षक युवराज पाण्डेले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया