एसईई परीक्षार्थीलाई सघाउन रेडियो कार्यक्रम

 बैशाख ७, २०७७ आइतबार १९:२७:३५ | अमर सुनार
unn.prixa.net

दैलेख - एसईई परीक्षार्थीलाई लक्षित गरेर दैलेखका दुई वटै स्थानीय एफएम रेडियोबाट  परीक्षा तयारीबारे रेडियो कार्यक्रम सुरु भएको छ ।

लकडाउनको बेलामा बालबालिकाहरुले आफ्नो पढाइलेखाइलाई निरन्तरता दिइराखुन् भन्ने उद्देश्यले दूरशिक्षा रेडियो कार्यक्रम सुरु गरिएको हो ।

शिक्षा विकास तथा समन्वय इकाई दैलेख, सेभ द चिल्ड्रेन, एभरेष्ट क्लब दैलेख र पालिकाहरुको समन्वयमा सुरु भएको रेडियो कार्यक्रममा आइतबार र बुधबार अंग्रेजी, सोमबार र बिहीबार गणित अनि मंगलबार र शुक्रबार विज्ञान विषयमा पढाइ हुनेछ ।

दैलेखका एफएमहरु रेडियो धुव्रतारा सामुदायिक एफएम र रेडियो ज्वाला सामुदायिक एफएममा शनिबार बाहेक हरेक दिन बिहान सवा ८ बजेपछि एकै साथ प्रसारण गर्ने व्यवस्था मिलाइएको एभरेष्ट क्लबका कार्यक्रम संयोजक टेकराज आचार्यले जानकारी दिनुभयो । 

यसैगरी दैलेखमै प्राथमिक तहका बालबालिकालाई लक्षित गरी बालचौतारी रेडियो कार्यक्रम सुरु भएको छ । 

बाल सहभागितालाई बढावा दिइने यो कार्यक्रम रेडियो धुव्रतारा सामुदायिक एफएममा हप्तामा ३ दिन सोमबार, बुधबार र शुक्रबार साँझ साढे ६ बजे प्रसारण

गर्ने व्यवस्था मिलाइएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया