तुलसीपुरका मेयर आफैँ औषधि बोकेर बिरामीको घरमा

 वैशाख ११, २०७७ बिहीबार १७:३९:३७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - तुलसीपुर उपमहानगरपालिका-१५, पहेलपारका वासुदेव रेग्मी लामो समयदेखि नशाजन्य रोगको औषधी सेवन गर्दै आउनु भएको थियो । उहाँलाई लकडाउनका कारण झन्डै १५ किलोमिटर टाढाको तुलसीपुर बजारमा जान निकै गाह्रो थियो । सामाजिक सञ्जालबाट प्राप्त सूचनाका आधारमा उहाँले तुलसीपुर उपमहानगरपालिकाको टोल फ्री  नम्वरमा फोन गरे । फोन गरेको केही घण्टामै नगरप्रमुख घनश्याम पाण्डे औषधी बोकेर उहाँकै घरमा पुग्नुभयो  ।

 ‘औषधी सकिन लागेको थियो, घरमै सेवा पाएपछि ढुक्क भएँ’, रेग्मीले खुसी हुँदै भन्नुभयो ।

रेग्मी यस्तो सेवा लिने पहिलो दीर्घरोगी हुनुहन्छ । उहाँलाई औषधी पुर्याएर सेवाको सुरुवात गर्नु भएका नगरप्रमुख पाण्डेले लकडाउनका कारण बिरामीहरु बजारसम्म आउन नसक्ने भएकाले दीर्घरोगीका बिरामीहरुलाई उपमहानगरपालिकाको समन्वयमा घरसम्मै औषधी पुर्याउन लागिएको जानकारी दिनुभयो।  

दीर्घरोगीहरुले उपमहानगरपालिकाको टोल फ्री नम्बर १६६०८२५२००० मा सम्पर्क गरेपछि उनीहरुलाई आवश्यक औषधी घरैसम्म लैजाने गरिएको जनस्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विमले केसीले जानकारी दिनुभयो ।

‘प्रेसर, सुगर र दमको औषधी हामीले नि:शुल्क रुपमा उपलब्ध गराएका छौँ’, केसीले भन्नुभयो। उहाँले वडा वडामा रहेका स्वास्थ्य केन्द्रमार्फत औषधी वितरण गरिने र औषधी आवश्यक भएको मान्छे चिकित्सकले दिएको पर्चा लिएर आफैँ आउनसक्ने या आवश्यकता अनुसार उसलाई घरमै औषधी पुर्याइने बताउनुभयो ।

यसैबीच अन्य दीर्घरोगका औषधी सेवन गरिरहेकाहरुलाई पनि उपमहानगरपालिकाले घरमै औषधी उपलब्ध गराएको छ । नेपाल फार्मेसी एसोसियसन दाङका अध्यक्ष सुलभ अधिकारीका अनुसार मानसिक, मुटुजन्य, नशाजन्य, थाइराइडका साथै जटिलखालको मधुमेह लगायतका औषधी हरु घरमै पुर्याइने गरिएको हो । 

दीर्घरोगीलाई घरसम्म औषधी पुर्याएबापत कुनै पनि अतिरिक्त शुल्क नलाग्ने जानकारी दिँदै उहाँले भन्नुभयो, ‘फार्मेसीसँग सम्बन्धित व्यक्तिबाट औषधी पुर्याइने भएकाले आवश्यक परामर्श पनि दिइन्छ।’

उपमहानगरपालिका भित्र २ हजार २ सय ३३ जना दीर्घरोगी रहेको जनस्वास्थ्य शाखाको तथ्यांक रहेको छ । जसमा १ हजार १ सय ६८ मुटुजन्य, ४ सय ३९ मधुमेह, ४ सय ५१ दमजन्य र अन्य १ सय ७५ जना बिरामी रहेका छन् ।

अन्तिम अपडेट: कात्तिक १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया