मनकामना मन्दिरका पुजारीद्वारा सबै बन्दुक फिर्ता, दुई वटाको इजाजत खारेज

 बैशाख १५, २०७७ सोमबार १७:४७:१८ | किरण लोहनी
unn.prixa.net

गोरखा - गोरखा मनकामना मन्दिरका पूजारी ईन्सान थापाले आफूसँग भएका सबै बन्दुक प्रहरीलाई फिर्ता गर्नुभएको छ । 

थापाले आफूसँग भएका इजाजत प्राप्त तीन वटा बन्दुकमध्ये दुई वटा नेपाल सरकारलाई स्थायी रुपमै फिर्ता गर्नुभएको हो भने एउटा बन्दुक प्रहरीको जिम्मामा रहने गरी फिर्ता गर्नुभएको हो । थापाले जिल्ला प्रशासन कार्यालय गोरखाबाट २०५१ साल फागुनमा एकनाले भरुवा बन्दुक राख्न पाउने इजाजत लिनुभएको थियो । 

उहाँले २०७३ पुसमा बझाङका टोपबहादुर थापामगरको नाममा रहेको १२ बोरको अर्को बन्दुक नामसारी गर्नुभएको थियो भने २०७३ सालकै वैशाखमा कास्की पोखरा महानगरपालिकाका शक्ति पराजुलीको नाममा रहेको २२ बोरको राइफल आफ्नो नाममा नामसारी गर्नुभएको थियो ।

ती सबै हतियार प्रशासन कार्यालयबाट २०७७ असारसम्मका लागि नवीकरण भएका थिए । पुजारी थापाले फिर्ता गरेका तीनमध्ये भरुवा बन्दुक र बाह्र बोरको बन्दुकको इजाजत खारेज गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । 

इजाजत खारेज भएसँगै ती बन्दुक नेपाल सरकारको नाममा आएको कार्यालयका खरिदार रविलाल सुेवेदीले बताउनुभयो । 

पुजारी थापाले व्यक्तिगत सुरक्षाका लागि भन्दै प्रशासन कार्यालयबाट तीन थान हतियार राख्ने इजाजत लिनुभएको थियो । तर उहाँले सिकार गर्नका लागि ती हतियार प्रयोग गर्ने गरेको स्थानीय बासिन्दाले बताउँदै आएका थिए । 

अन्तिम अपडेट: चैत ९, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया