कसरी रोकिएको थियो समाजवादी पार्टीको विभाजन ?

 बैशाख २७, २०७७ शनिबार १६:४६:१३ | तुलानारायण साह
unn.prixa.net

काठमाण्डौ - राजनीतिक दल विभाजनलाई सजिलो हुनेगरी मन्त्रीपरिषद्ले अध्यादेश ल्याएको खबर वैशाख ८ गते दिउँसो चार बजेतिर सार्वजानिक भएको थियो । सुरुमा अधिकांश मिडिया र विश्लेषकको ध्यान नेकपाको सम्भावित विभाजनतर्फ केन्द्रित भयो । केही बेरमा बालुवाटारनिकट सुत्रको हवाला दिँदै छोटो स्पष्टीकरणसहित समाचार आयो, ‘अध्यादेश नेकपातिर लक्षित छैन ।’ त्यसपछि मात्र मधेशी दलहरुको सम्भावित विभाजनतर्फ मिडिया र विश्लेषकहरुको ध्यान मोडिएको थियो । 

कुनै कोणबाट विश्लेषण गर्दा पनि नेपाली काङ्ग्रेसमा विभाजनको सम्भावना देखिँदैन थियो । मलाई व्यक्तिगत रुपमा समाजवादी पार्टीभित्र पनि विभाजनको अनुमान थिएन । बरु राष्ट्रिय जनता पार्टी (राजपा) भित्रको खिचातानी अलिअलि सुनिएको थियो । त्यसकारण राजपामा विभाजनको सम्भावनातर्फ सङ्केत गर्दै फेसबुक र ट्वीटरमा मैले एउटा पोष्ट लेखेँ । समय लगभग ५ बजेको थियो होला । बालुवाटार र लैनचौर दुबैतिर राम्रो सम्बन्ध रहेका एक जना पत्रकार मित्रको ‘म्यासेज’ आयो – तपाईंको अनुमान बिल्कुल गलत छ । आगामी २४ घण्टाभित्र समाजवादी पार्टी फुट्दैछ ।

त्यति विश्वास लागेन   

एकछिनमै एक मधेशी प्राध्यापकले फोन गरेर भने, ‘संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्षी दलको भूमिका कटौती गर्ने गरी अध्यादेश आउन लागेकोबारे मलाईं करिब तीन हप्ताअघि नै जानकारी थियो । मैले नेपाली काङ्ग्रेसका केही नेतालाई जानकारी पनि गराएको थिएँ । तर, दल विभाजनबारे थाहा थिएन ।’

फेसबुक र ट्वीटर दुबैमा टिप्पणी, प्रतिटिप्पणी चलिरहेकै बेला राजपाका एक नेताको फोन आयो, ‘दल विभाजनसम्बन्धी अध्यादेशबारे हामीलाई करिब १० दिनअघि नै थाहा थियो । यसबारे राजपाका अन्य नेतालाई पनि थाहा थियो । बाहिरका मान्छेले तपाईंलेजस्तै अनुमान गर्ने हो । तर हाम्रो पार्टी फुट्ने सम्भावना एकदमै कम छ । यसको पहिलो सिकार समाजवादी पार्टी हुने हो । तपाईं ढुक्क रहनुस् ।’

तीनै जना मित्रबाट लगभग एकैथरी कुरा सुनेपछि अध्यादेशको उद्देश्यबारे मलाईं कुनै शङ्का रहेन । बरु, काठमाण्डौमै बसेर पनि केही जानकारी नभएकोमा ग्लानी महसुस भयो ।

समाजवादीभित्रको ‘डाइनामिक्स’  

वैशाख ९ गते मङ्गलबार बिहान नेपालगञ्जका एक जना पत्रकारसँग सम्पर्क भयो । उनीबाट मोहम्मद इस्तियाक राई विभाजनको खेलमा लागेको पुष्टि भयो । साथै केही भित्री कुरा पनि थाहा भयो । समाजवादी पार्टीका सांसदहरु दुई छुट्टाछुट्टै समूहमा बालुवाटार सुत्रसँग सम्पर्कमा थिए । अपुग केही सांसदको व्यवस्था बालुवाटार आफैँले गर्ने तय भएको थियो । अर्का एक जानकारका अनुसार समाजवादीका पार्टीका एघार सांसदहरुले सहमति जनाएका थिए । ती सांसदसँगको सम्पर्क सुत्र तोकिएका थिए हालै सेवानिवृत्त भएका एक मन्त्री र बहालवाला अर्का वरिष्ठ मन्त्री । 

अर्का एक पत्रकारले भने, ‘योजनाअनुसार सबै सांसदहरु वैशाख १० गते बुधबारसम्म काठमाण्डौ पुगिसक्नु पर्ने थियो । वैशाख ११ गते बिहीबार अध्यादेश ल्याउने, शुक्रबार काम तमाम गर्ने योजना थियो । तर सोमबार नै कसरी अध्यादेश आयो ? पार्टी विभाजनको लागि तयार सांसदहरुको एउटा समूह यसबाट चकित छ ।’
विभाजनमा लागेका एक सांसदसँग वैशाख ९ गते मङ्गलबार राति मेरो कुरा भयो । उनीसँग पार्टी नेतृत्वसँगको गुनासोको लामो सूची थियो । तर, मेरो चासोको विषय त्यो थिएन । मैले केवल यो विभाजनको व्याकरण बुझ्न चाहेको थिएँ । 

‘तीन तीन जनाका दुई समूह छुट्टाछुट्टै सङ्गठित छन् । बालुवाटारबाट तोकिएको व्यक्तिले हामीसँग छुट्टै डिल गरिरहेका छन् । तर खेल बालुवाटार आफैँले बिगारेको छ । हामीलाई नसोधी सोमबार नै अध्यादेश ल्यायो । सबै सांसद काठमाण्डौ आइपुगेका छैनन् । किन यस्तो गरेको होला, बालुवाटार नै जानून्,’ ती सांसदले भने । 

‘त्यसोभए आज मङ्गलबारै सबै कुरा भइसक्नुपर्ने थियो त ?,’ मेरो थप जिज्ञासा थियो ।

‘हो, योजना त्यही थियो । तर आज सङ्ख्या पुगेन । एउटा समूहका सासंद काठमाण्डौ आइपुगेका छैनन् । फेरि उताबाट पनि दबाब आयो । आजलाई हामी पनि रोकियौँ ।’ 

‘उता भन्नाले ?,’ मैले जान्न चाहेँ ।

‘तपाईं बुझिहाल्नु हुन्छ । हामी सीमा क्षेत्रमा राजनीति गर्ने मान्छे । दबाब त आइहाल्छ नि । तर पार्टीभित्र हामीमाथि अन्याय हुँदा कसैले कहिल्यै बोलेनन् । अहिले हामीले उनको कुरा किन मान्ने ? अब हामी कुनै हालतमा ‘ब्याक’ हुन मिल्दैन ।’ 

ट्वीटको ट्विस्ट

बुधबार बिहान रिपोर्टर्स नेपालमा रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी फुट्न तयार रहेको समाचार आयो । दिउँसो एक बजेतिर रेणु यादवको फेसबुक वालमा हिन्दी भाषामा पोष्ट आयो, ‘दुनियाँ को अक्सर वो लोग बदल देते हैं जिन्हे दुनियाँ कुछ करने लायक नहीं समझती ।’

सन्देश स्पष्ट थियो । सहरभरि गर्मागर्मी चर्चा थियो । 

मैले फेरि त्यही सांसद मित्रलाई फोन गरेर सोधेँ, ‘के छ हालखबर ? रिपोर्टर्स नेपालको समाचार सही हो ?’

‘सही हो । हाम्रो समूह तयार छ । बाँकी सांसदको व्यवस्था गर्ने जिम्मा पाएकाहरुले जानून् ।’ सांसदजीले जवाफ दिनुभयो ।

दिउँसो नै समाजवादी पार्टीका एक महिला सांसदले आफू विभाजनतर्फ नलागेको विज्ञप्ति जारी गरिन् । 

त्यही साँझ सांसद डा. सुरेन्द्र यादवबारे विश्वदीप पाण्डेको ट्वीट आयो । काठमाण्डौबाट गएका प्रहरीको टोलीले सुरेन्द्र यादवलाई जनकपुरबाट अपहरण गरेर ल्याउँदै गरेको पाण्डेको ट्वीटमा उल्लेख थियो ।

मलाईं लाग्दछ, त्यही एउटा ट्वीटले बालुवाटारको योजना असफल बनायो र उसले खेलेको ‘फाउलप्ले’ पनि ‘एक्सपोज’ भयो । नेकपाभित्रको ‘डाइनामिक्स’ पनि छँदै थियो । मिडियालाई गज्जबको खुराक मिल्यो । बालुवाटार थप ‘डिफेन्सिभ’ हुँदै गयो । 

उता मङ्गलबारदेखि नै राजपाका नेताहरुले रेणु यादवको समूहसँग सम्पर्कमा थियो । असन्तुष्ट सांसद्हरुलाई विभाजनमा नजान आग्रह गर्दै केही नेताले राजपा र समाजवादीबीचको एकतापछि नयाँ पार्टीमा उचित सम्मान दिने भनेर फकाइरहेका थिए । त्यसको सुइँको दिँदै बुधबार दिउँसो राजपाका एक युवा नेताले मलाईं भनेका थिए, ‘केही लेख्ने ‘मुड’मा हुनुहुन्छ भने आज पर्खिनुहोस् । भोलिसम्म दुई पार्टीबीच एकीकरण हुने पक्का छ ।’ 

सुुरुमा ‘म्यासेज’ गर्ने पत्रकारले फेरि अर्को जानकारी गराए, ‘सुरेन्द्र यादवलाई लिन गएको टोलीले जनकपुरमै रहेका अर्का सांसद डा. सूर्यनारायण यादवलाई पनि लिन उहाँको निवास पुगेको थियो । तर उहाँले आउन इन्कार गरेपछि बलजफ्ती गरिएन ।’

विभिन्न सुत्रबाट प्राप्त भइरहेका जानकारीअनुसार बुधबार दिउँसो नभए बिहीबार बिहान समाजवादी पार्टीको विभाजन निश्चित थियो । तर एकाएक राति १० बजे सपा र राजपाबीच एकीकरण घोषणा भयो । खेलमा नयाँ ‘ट्विस्ट’ आयो ।

राजपा र सपाबीच रातारात किन एकीकरण भयो ? यो सम्पूर्ण प्रक्रियामा संलग्न एक नेतालाई मैले सोधेको थिएँ । 

उनका अनुसार पार्टी फुटाउनको लागि चाहिने आवश्यक सांसद्हरुको हस्ताक्षर लिइसकेपछि मात्र बालुवाटारबाट अध्यादेश आएको थियो । केवल उनीहरुको भौतिक उपस्थितिको प्रश्न थियो । त्यो समूहले बुधबार राति नै इमेलमार्फत निर्वाचन आयोगमा जानकारी पनि गराइसकेको थियो । भोलिपल्ट बिहीबार बिहानै निर्वाचन आयोगमा सातै जना सांसदलाई सशरीर उपस्थित गराउने योजना थियो । यो योजना थाहा पाएर नै रातारात पार्टी एकीकरणको घोषणा गरियो र भोलिपल्ट बिहानै निर्वाचन आयोगमा पुगेर एकीकृत पार्टीबारे जानकारी दिने हाम्रो योजना बन्यो । निर्वाचन आयोगले नयाँ पार्टीलाई मान्यता दियो भने ठिकै छ, नभए त्यहीँबाट आन्दोलनको उद्घोष गर्ने रणनीतिमा हाम्रा नेताहरु लागेका थिए ।

भारतको सद्भाव

यी सबै हुनुका पछाडि भारतको भूमिका कस्तो रहयो होला ? मेरो मनमा जिज्ञासा बाँकी नै थियो । किनभने यसअघि पनि मधेसी दलहरुको विभाजनमा कि त बालुवाटार कि त लैनचौरको भूमिका रहने गर्दथ्यो । 

राजपाका ती नेताले भने, ‘दुई पार्टीको एकतामा भारतका विभिन्न निकायहरुको ठूलो सद्भाव रहयो । भारतका सम्पूर्ण निकायहरु जो नेपालको राजनीतिमा चासो राख्छन् ती सबैले एकजुट भएर समाजवादी पार्टीका असन्तुष्ट सांसदहरुसँग लगातार सम्पर्क स्थापित गरिरहेका थिए ।’

असन्तुष्टहरुलाई एकीकृत नयाँ पार्टीमा उचित सम्मान दिइने कुरा राजपाको तर्फबाट राजेन्द्र महतो र समाजवादीको तर्फबाट डा. बाबुराम भट्टराई तथा अशोक राईले पनि आश्वस्त पारेका थिए ।

यसरी बालुवाटारको ओभर ‘कन्फिडेन्स’ र ‘फाउलप्ले’, राजपा र समाजवादीका नेताहरुबीच अटुटको प्रयास र भारतीयहरुको सद्भावका कारण समाजवादी पार्टी विभाजनबाट जोगिएको थियो ।  

यी सबै सूचना र विश्लेषणहरु सुनेर मलाई चाहिँ अनौठो लागिरहेको थियो । जुन भारतीय संयन्त्रले नेपालमा केपी ओलीको सरकारको योजना तुहाइदिएको थियो, त्यही संयन्त्रले भारतका महाराष्ट्र, गोवा र मध्यप्रदेशजस्ता प्रान्तहरुमा प्रधानमन्त्री ओलीकै शैलीमा मोदी सत्ताले गरेको कामलाई सघाएका थियो । सबैभन्दा रमाइलो पक्ष यी सबै कुरा प्रजातन्त्रको नाममा प्रजातान्त्रिक व्यवस्थाअन्तर्गत भइरहेका थिए । 

यसअघि बि.स. २०६४ सालदेखि २०७० सालसम्म मधेशी दलहरु अनेकौँ टुक्रामा विभाजित भएका थिए । खासगरी मधेशी जनअधिकार फोरमको विभाजनमा भारतीय दूतावासको सक्रियता हुने गर्दथ्यो । 

नयाँ संविधान आइसकेपछि निर्वाचनको पूर्वसन्ध्यामा छवटा साना मधेशी दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बन्दा पनि भारतीय पक्षको सद्भाव रहेको थियो । हालै आएर नेकपाभित्रको विवादमा चिनियाँ राजदूतको सक्रियता पनि सार्वजानिक भएको छ । 

पहिला पहिला छिमेकी देशहरु नेपालका पार्टीहरु फुटाउनमा सक्रिय हुन्थे । अहिले जोड्न सक्रियता देखाउन थालेका छन् । तिनको उद्देश्य र रणनीति जे भएपनि लोकतन्त्रको लागि पार्टीहरु मिल्नु राम्रो कुरा हो । सबैको जय होस् । यो पनि पढ्नुहोस्

(समाजवादी पार्टी विभाजनको प्रयास र राजपा तथा समाजवादीबीच रातारात भएको एकताबारे विश्लेषक साहसँग लामो कुराकारी गरेका थियौँ । उहाँसँगको कुराकानीमा आधारित पहिलो लेख वैशाख २३ प्रकाशित गरेका थियौँ । यो दोस्रो लेख हो । अन्तिम लेख अर्को दिन प्रकाशित गर्ने छौँ ।)  

अन्तिम अपडेट: बैशाख ४, २०८१

तुलानारायण साह

साह राजनीतिक विश्लेषक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया