बुच्चो नक्सामा चुच्चो लागेपछि के के भो के के ........!

 जेठ १०, २०७७ शनिबार ७:३४:४४ | मिलन तिमिल्सिना
unn.prixa.net

बुच्चो नक्सा चुच्चो भयो । छुच्चो, लुच्चो छिमेकी हामीलाई अझै फुच्चो भन्दैछ । नक्साको चुच्चोले घोचेपछि बर्बराउनु स्वभाविकै हो ।

छिमेकीको बानी नै त्यस्तै हो, सधैं बर्बराइरहन्छ । पत्रकारिताबाहेक अरु सबैथोक गर्न जानेका त्यहाँका टेलिभिजन पनि आँखा चिम्लेर कर्कस स्वरमा बर्बराइरहन्छन् । टेलिभिजन होस्ट र गेष्टका बर्बराहटलाई उतैकाले सुनून्, हामी आफ्नै बुच्चेबाट चुच्चे भएको नक्साका कुरा गरौं ।

नेपालको नक्साको पश्चिमोत्तर सीमामा चुच्चो हुन्छ भन्ने कुरा हामीले त केटाकेटीदेखि नै जानेको हो । स्कुलमा सामाजिक विषय पढाउने सर र मिसले किताबमा बुच्चो नक्सा देखाएर पढाउँथे, त्यही घोकाउँथे । हामी त्यही बुच्चो नक्सा हेर्थ्यौ, पढ्थ्यौं । हामीलाई यस्तै नक्सा बनाउ भन्थे । हामी हातमा पेन्सिल बोकेर कापीमा नक्सा कोर्न थाल्थ्यौं ।

तर किताबमा देखाएको र सरमिसले पढाएको जस्तोभन्दा भिन्न नक्सा बन्थ्यो । किनकी हामीलाई नानीदेखि नै थाहा थियो, किताबमा भएको र सरमिसले पढाएको नक्सा सही हैन । त्यसैले हामीले कापीमा कोरेको नक्सा अर्कै बन्थ्यो । हामीले बनाउने ती नक्सामा धेरैवटा चुच्चा बन्थे, एउटा चुच्चोचाहिँ भर्खर नेपालले जारी गरेको जस्तै महाकालीको शीरमै बन्थ्यो ।

पढ्ने बेला नक्सामा त्यस्ता चुच्चा त कति बनाइयो, बनाइयो । दार्चुलाको कालापानी हुँदै लिपुलेक र लिम्पियाधुरासम्म मात्रै होइन, हामीले कञ्चनपुरको टनकपुरसम्मै चुच्चो बनायौं । कपिलवस्तुको कृष्णनगर, दाङको कोइलाबास, रुपन्देहीको मर्चबार, नवलपरासीको सुस्ता, रौतहटको जमुनानगर, झापाको मेचीपारी सबैतिर चुच्चो थप्यौं । 

हामीलाई बुच्चो नक्सा देखाएर पढाउनेहरु, त्यस्तो नक्सा किताबमा छाप्नेहरु र नक्सा बनाउनेहरु नै फेल थिए, त्यसैले उनीहरुले हामीलाई पास हुन दिएनन् । अहिले बल्ल नक्सामा चुच्चो थपियो । त्यसैले जाँचका बेला नक्सा चुच्चो बनाउने म र मजस्ता सबैलाई ढिलै भए पनि त्यो बेला नपाएको नम्बर फिर्ता चाहियो । सरकारले चुच्चो भूमि फिर्ता ल्याउनु पहिले सरमिसले नम्बर फिर्ता गर्नुपर्यो । चुच्चे नक्सा बनाएर फुच्चे भएका हाम्रो नम्बर उच्चो हुनुपर्यो ।

किताबमा पढेको नक्सा ठिक छैन भन्ने हामीलाई पहिल्यै थाहा थियो । त्यसैले सामाजिक विषयको जाँच दिंदा बनाएका नक्सामा हामीले जानेसम्म चुच्चाहरु थप्यौं । कसैले पूर्व र पश्चिममा नाकजस्तै चुच्चो बनायौं, कसैले दक्षिणतिर खुकुरीजस्तै धार मिलेको चुच्चो थप्यौं । अझै दुई, चार कदम अघि बढेर कसैले उत्तर र अरुतिर पनि चुच्चो थप्यौं होला । तर जाँचमा हामीले बनाएको त्यो चुच्चो नक्साले पाउनुपर्ने जति पनि नम्बर पाएन । चुच्चो नक्सा बनाउने जतिको नम्बर कम आयो । धेरै जना फेल भयौं ।

हामीलाई बुच्चो नक्सा देखाएर पढाउनेहरु, त्यस्तो नक्सा किताबमा छाप्नेहरु र नक्सा बनाउनेहरु नै फेल थिए, त्यसैले उनीहरुले हामीलाई पास हुन दिएनन् । अहिले बल्ल नक्सामा चुच्चो थपियो । त्यसैले जाँचका बेला नक्सा चुच्चो बनाउने म र मजस्ता सबैलाई ढिलै भए पनि त्यो बेला नपाएको नम्बर फिर्ता चाहियो । सरकारले चुच्चो भूमि फिर्ता ल्याउनु पहिले सरमिसले नम्बर फिर्ता गर्नुपर्यो । चुच्चे नक्सा बनाएर फुच्चे भएका हाम्रो नम्बर उच्चो हुनुपर्यो ।

नयाँ नक्सामा घोप्टो परेको चुच्चोलाई कसैले बाहुनको नाकजस्तो देखेका छन्, कसैले खुकुरीजस्तो । कसैले एकसिङ्गे गैँडा जस्तै भएछ, सीमा तस्करहरुले खाग सम्झेर त्यो चुच्चो काट्ने त हैनन् भन्ने आशंका पनि गरेका छन् । 

नक्साको चुच्चो बाहुनको मात्रै होइन, सबै नेपालीको नाक हो । खुकुरीजस्तो होइन, खुकुरी नै हो । आफ्नो नाकको महत्व र खुकुरीको इतिहास त सम्झाउनु नपर्ला । तर नक्साको चुच्चोले पारितिर मात्रै घोच्ला कि वारितिर पनि कोतर्ला, त्यो चाहिँ सोच्नै पर्ने भएको छ । 

५८ वर्षदेखि अरुको भूमिमा बसिरहेका पारिका मान्छेहरु चुच्चोले घोचेर रन्थनिनु आश्चर्यको कुरा होइन । अनि त्यहाँका केही टेलिभिजन र अरु मिडिया बर्बराउनु पनि नौलो होइन । सबैलाई थाहा छ, भारतीय मिडियामा ५ वटा सी बिक्छ । ५ सी अर्थात -crime, cinema, celebrity, cricket र china । जे बिक्छ, त्यही बिकाउन खोज्छन् । भए, नभएको कुरा भट्याएर जे पनि बिकाउन खोज्नेको कुरा अब पत्याउने, नपत्याउने चाहिँ किन्ने र हेर्नेले नै हो । 

अहिले पाकिस्तान र चीनसँग त्यति लफडा छैन । सलमान र शाहरुखको झगडा पनि हुन छाड्यो । हिरोइनहरु गर्भवती र सुत्केरी पनि भएका छैनन् । यौन र अपराधका कुरा पनि बिक्न छाडे । भारतीय मिडियाहरु फुर्सदिला छन् । यहीबेला उनीहरुले नक्साको चुच्चो देखे । यस्तो चुच्चो पहिले पनि थियो भन्ने इतिहासका दस्तावेज उनीहरुलाई थाहा छैन । आफ्नो भूमि ब्रिटिशको कब्जामा हुँदा नेपाल सधैं स्वतन्त्र थियो र नेपालको सीमा अहिलेको चुच्चोले देखाएकोभन्दा पनि निकै परसम्म थियो भन्ने उनीहरुलाई पत्तो छैन । तर नानीदेखि लागेको बानी नक्साको कुरा निकालेर त्यसै बुरुकबुरुक गरिरहेका छन् । चुच्चोले घोचेपछि दुख्यो, त्यसैले त बुरुकबुरुक गर्दैछन् ।

२०३२ सालअघि नक्सा यस्तै चुच्चो थियो । तर छुच्चो छिमेकीको लहलहैमा त्यतिबेलाका फुच्चो र लुच्चो शासकहरुले बुच्चो नक्सामै चित्त बुझाए । हामीसित हाम्रै भन्ने प्रमाण छ । उनीहरुसँग यतिबेलासम्म के हेरेको थिस् भन्ने मिच्याईं र बुरुकबुरुक बाहेक अर्थोक छैन । 

जे होस्, छिमेकीलाई चुच्चोले घोचेको छ । यताका कसैकसैलाई पनि घोचेको हुन सक्ला । यताकालाई चुच्चोले घोच्यो भने यिनीहरुको नम्बर बुच्चो हुन्छ, सधैंका लागि फेल हुन्छन् । उबेला स्कुल पढ्दा जानीनजानी नक्सामा चुच्चो थप्ने हामी पास भयौं । चुच्चोले हाम्रो नम्बर र नाक उच्चो बनायो । अनि अहिलेसम्म बुच्चै नक्सामा रमाइरहेकाहरुलाई दनक दिंदै नक्सामा चुच्चो थप्नेहरुले खुट्टा कँपाएनन् भने यिनीहरुको नाक र नम्बर त झन् आफसेआफ उच्चो हुने भैहाल्यो । 

अन्तिम अपडेट: चैत १०, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया