सुर्खेतमा भारतबाट आएका ३ जनामा कोरोना पुष्टि, कर्णालीमा सङ्क्रमितको सङ्ख्या ४ पुग्यो

 जेठ १०, २०७७ शनिबार १५:४९:२० | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार पुगेको छ । शनिबार थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या चार पुगेको हो । उनीहरु तीनै जना सुर्खेतका हुन् । यसअघि दैलेखको आठबीस नगरपालिकाका एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । 

गत बिहीबार एकैदिन भारतबाट कर्णाली प्रदेश भित्रिने मुख्य नाका बबईबाट एक हजार नौ सय ३० जना भित्रिएका थिए । बबई नाकामा सात सय ९० जनाको आरडीटी परीक्षण गरिएको थियो । आरडीटी परीक्षण गर्दा १३ जनामा पोजेटिभ देखिएको थियो । त्यसपछि सुर्खेतमा रहेको पीसीआर मेसिनमा परीक्षण गर्दा १३ जनामध्ये तीन जनाको रिर्पोट पोजेटिभ आएपछि थप यकिन गर्नका लागि नेपालगञ्ज पठाइएको थियो । 

नेपालगञ्जमा परीक्षणपछि पनि कोरोना सङ्क्रमण पुष्टी भएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बराहताल गाउँपालिकाका दुई जना र चौकुने गाउँपालिकाका एक जना रहेका छन । उनीहरुको स्वास्थ्य अवस्था समान्य रहेको उहाँले बताउनुभयो । उनीहरुलाई प्रदेश अस्पताल कालागाउँमा रहेको आइसोलेशन कक्षमा राखिएको छ । 

रोजगारीको सिलसिलामा भारत गएका कर्णालीका नागरिक फर्किन थालेपछि यहाँ कोरोना सङ्क्रमणको जोखिम बढेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया