धनुषा : सङ्क्रमित बढ्दै गएपछि उपचारमा समस्या

 जेठ १६, २०७७ शुक्रबार २०:३८:५ | सुभाष कर्ण
unn.prixa.net

धनुषा – धनुषामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि उपचारमा समस्या उत्पन्न भएको छ । प्रदेशकाे राजधानी जिल्लाको रुपमासमेत रहेकाे धनुषा जिल्लामा बिहीबार २९ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४१ पुगेको छ । 

जिल्लाभरिमा उपचारका लागि एकमात्र प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत ४२ बेडको आइसोलेशनसहितको कोभिड-१९ अस्पताल रहेकोमा सङ्क्रमित बढेपछि उपचारमा समस्या उत्पन्न भएको हो । प्रादेशिक अस्पतालमा ४२ बेडको आइसोलेशन भनिए पनि बिरामीका लागि मात्र ३० वटा राखिएको छ । 

बाँकी ६ वटा बेड उपचारत निगेटिभ आएका व्यक्ति, २/२ वटा चिकित्सक र गर्भवती महिलाकाे लागि राखिएको कोभिड अस्पतालका प्रमुख डाक्टर जामुन सिंहले जानकारी दिनुभएको छ ।

बिहीबार थप भएका २९ जना सङ्क्रमितलाई उपचारका लागि आइसोलेशन बेडको आभाव भएपछि अर्को व्यवस्था नहुञ्जेलसम्म सम्बन्धित क्वरेण्टीन र घरमै होम क्वरेण्टीनमा राखिएकाे उहाँले बताउनुभयो ।

३० वटा आइसोलेशन बेडमा धनुषाका सङ्क्रमित ४१ मध्ये १४ जनाको मात्र उपचार भइरहेको छ । अस्पतालमा अन्य १६ जनामा केही अर्को जिल्लाको र केही शङ्कास्पद व्यक्ति रहेका छन् ।

बिहीबार थप भएका २९ जना सङ्क्रमितमध्ये १८ जना लक्ष्मिनियाँ गाउँपालिकाका रहेका छन् । उनीहरुलाई आइसोलेशन बेडको आभावमा क्वरेण्टीन र होम क्वरेण्टीनमा राखिएको छ । 

सङ्क्रमितहरुलाई कहाँ राखेर उपचार गर्ने विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताउनुभएको छ ।

आइसोलेशन बेड थप्ने तयारी

सङ्क्रमित थपिएपछि जिल्ला विपद् व्यवस्थापन समिति र समाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा आइसोलेशन बेड थप्ने गृहकार्यमा जुटेका छन् ।

समितिको संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी निरौलाले लक्ष्मिनियाँ पालिकाको सपहीमा रहेको सीटीईभीटीको पोलिटेक्निक क्लिनिक र नगराइकन क्वरेण्टीनमा आइसोलेशन बेड थप्ने व्यवस्था भइरहेको जानकारी दिनुभयो ।

तर कति सङ्ख्यामा बेड राख्नेबारे भने निर्णय नभइसकेकाे उहाँले बताउनुभयाे । 

प्रदेशमा कति सङ्क्रमित ?

स्वास्थ्य महाशाखाका अनुसार बिहीबारसम्म प्रदेशभरिमा चार सय जना सङ्क्रमित रहेका छन् । जसमध्ये पर्सामा ९४, रौतहटमा १०९, बारामा ४९, सर्लाहीमा ४१ महोत्तरीमा २३, धनुषामा ४१, सप्तरीमा २९ र सिरहामा १४ जना सङ्क्रमित छन् ।

सङ्क्रमितमध्ये १ सय २ जना उपचारपछि निको भइ घर फर्किसकेका छन् । प्रदेशमा उपचारका लागि सप्तरीमा ७३, सिरहामा ८३, धनुषामा ४२, महोत्तरीमा ५०, सर्लाहीमा ४५, रौतहटमा ११०, बारामा १२९ र पर्सामा १३३ आइसोलेशन बेडको व्यवस्था रहेको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया