बनारसदेखि गोरखासम्म सरोजले ५ वटा क्वरेण्टीनमा ६८ रात बिताउनुभो, अझ पनि उहाँको घर फर्किने टुङ्गो छैन

 जेठ २३, २०७७ शुक्रबार १६:५:३० | किरण लोहनी
unn.prixa.net

गोरखा - कोरोना सङ्कट बढ्दै गएपछि भारतमा रहेका गोरखावासीहरु घर फर्कने क्रम बढेको छ । गएको जेठ ४ गतेयता झण्डै ३ सय गोरखालीहरु भारतबाट जिल्ला फर्केका छन् । यसरी आफ्नो जिल्ला फर्कनेमध्येका एक हुनुहुन्छ, गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३, सिरानडाँडाका १९ वर्षीय सरोज तामाङ । भारतबाट गोरखा फर्कने क्रममा रहेका सयौँ गोरखालीमध्ये सरोजमात्रै हुनुहुन्छ, जो पुख्र्यौली थलो फर्कने आशैआशमा अहिलेसम्म क्वरेण्टीनमा ६८ दिन गुजारिसक्नुभएको छ ।

आफ्नै गाउँ सिरानडाँडा नपुग्दै एक घण्टा वरको भच्चेक सभाहलमा ९ दिनदेखि क्वरेण्टीनमा बसिरहनुभएका सरोजको बिहीबार कोरोना परीक्षणका लागि स्वाब सङ्कलन भएको छ । स्वाब परीक्षणको रिपोर्ट आउन केही दिन लाग्ला । सरोजमा भने रिपोर्ट नेगेटिभ आउला र ६८ दिनको क्वरेण्टीन बसाइपछि घर पुग्न सकिएला भन्ने विश्वास छ । 

बिहीबार भच्चेक सभाहलको क्वरेण्टीनमा पिसिआर जाँचको लागि स्वाब दिइसकेपछि सङ्क्षिप्त कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘कोरोना लागेको भए ६८ दिनसम्ममा केही न केही भइसक्नु पर्ने थियो । तर अहिलेसम्म ज्वरो र रुघाखोकी केही देखिएको छैन ।’ क्वरेण्टीनमा सरोजलाई भेट्न बिहीबारै उहाँको बुबा आउनुभएको थियो । बुबाकै सामू उहाँले भन्नुभयो, ‘बनारसदेखि यहाँसम्म आइपुग्दा धेरै ठाउँँमा क्वरेण्टीनमा बसियो । तर बल्ल यो पिसिआर भन्ने विधिबाट परीक्षण भएको छ ।’ 

हंसपुरको ज्ञानज्योती माविमा १२ कक्षामा व्यवस्थापन पढ्दै गर्दा सरोज ‘एकाउन्ट’ विषयमा फेल भएपछि लहैलहैमा भारत पस्नुभयो । उहाँ बनारसमा नेटवर्किङ व्यापारको काममा संलग्न हुनुभयो । काम कस्तो प्रकारको हो भन्नेबारेमा उहाँले धेरै खुलाउनुभएन । तर त्यहाँको काम र आम्दानीले कोरोना सङ्कटलाई जित्न सकिँदैन भन्ने लागेपछि उहाँ गएको अप्रिलको अन्त्यतिर पुर्ख्यौली घरतिर लाग्नुभयो । तर अहिलेसम्म आफ्नो घर पुग्नुभएको छैन ।

घर हिँडेको पहिलो दिनमै उहाँलाई बनारसको जागरण पब्लिक स्कुलमा क्वरेण्टीनमा राखियो । त्यहाँ झण्डै २० दिन बसेपछि नेपालतर्फको यात्रा बढाउनुभएका सरोजलाई केही दिन बनारसकै नमोदय स्कुलको क्वरेण्टीनमा राखियो । त्यहाँ २२ दिन जति क्वरेण्टीनमा बसेर उहाँ सुनौली नाका आइपुग्नुभयो । उहाँलाई भैरहवाको क्वरेण्टीनमा ५ दिन बस्नुपर्यो । त्यसपछि त्यहाँको प्रशासनले उहाँलाई गोरखा पठायो ।

मझुवा देउराली नाकाबाट गोरखा छिर्ने क्रममा रहेका उहाँसहितका साथीहरु मनकामना बहिरा स्कुलको क्वरेण्टीनमा ५ दिन बस्नुभयो । त्यहाँबाट सरोजलाई आफ्नै गाउँपालिका अजिरकोट पठाइयो । उहाँ अजिरकोट वडा नम्बर ३, भच्चेकको क्वरेण्टीनमा बसेको शुक्रबार दशौँ दिन भएको छ । 

स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार १४ दिन क्वरेण्टीनमा राखेर पिसिआर जाँच गरेपछि रिपोर्ट नेगेटिभ आएपछि घर जान पाइन्छ । सायद सरोजको क्वरेण्टीन अवधि पूरा हुँदै गर्दासम्म कोरोना परीक्षणको रिपोर्ट पनि आइपुग्ला । रिपोर्ट नेगेटिभ आयो भने ? सरोज भन्नुहुन्छ, ‘मलाई ठूलो आत्मविश्वास छ, मलाई कोरोना सङ्क्रमण भएको छैन । रिपोर्टले छ भन्ने देखायो भने पनि म केही दिनमै कोरोनालाई जित्छु र छिट्टै घर फर्कन्छु ।’  

अन्तिम अपडेट: बैशाख ८, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया