गण्डकी प्रदेशमा कोरोना पुष्टि भएका ३८ मध्ये १० जना गोरखाका

 जेठ २५, २०७७ आइतबार ११:४७:५ | किरण लोहनी
unn.prixa.net

गोरखा - गण्डकी प्रदेशमा थपिएका ३८ कोरोना सङ्क्रमितमध्ये १० जना गोरखाका रहेका छन् ।

गण्डकी गाउँपालिकाको तीन वटा क्वारेन्टाइनमा रहेका ९ जना र हाल अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका पालुङ्गटार ७ का १७ वर्षका किशोरमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनी जेठ ९ गते पक्राऊ परि जिल्ला प्रहरीको हिरासतमा थिए । 

गण्डकी गाउँपालिकाको भिमोदय आधारभूत विद्यालय र रत्नेश्वर मावि दर्बुङको क्वरेण्टीनमा रहेका चार-चार जना र ज्ञानमार्ग माविको क्वारेण्टाइनमा रहेका एकजनामा पोजेटिभ देखिएको हो । उनीहरु २० देखि ४३ वर्षका पुरुषहरु रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा शनिबार भएको स्वाब परीक्षणमा उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसबारे आधिकारिक रुपमा सार्वजनिक गर्न भने बाँकी छ ।

उनीहरूलाई आज आइतबार  जिल्ला अस्पताल गोरखाको आइसोलेशनमा ल्याउने तयारी गरिएको र त्यसै अनुसार आइसोलेशन वार्ड तयार भैसकेको अस्पताल व्यवस्थापन पक्षले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया