झुलाघाट सीमामा पक्की पुल नहुँदा समस्या

 साउन १७, २०७५ बिहिबार १४:२९:२१ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – भारतसँग सीमा जोडिएको झुलाघाट नाकामा पक्की पुल नहुँदा बैतडीसहित प्रदेश सातको आर्थिक समृद्धिमा बाधा पुगेको छ । 

झुलाघाट नाकामा पक्की पुल नहुँदा बैतडीका विभिन्न क्षेत्रमा आउन चाहने भारतीय पर्यटक आउन नसकेको बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताउनुभयो । सीमा क्षेत्रका धेरै पर्यटकहरु बैतडी आउन चाहे पनि सीमा क्षेत्रमा पक्की पुल नहुँदा उनीहरु आउन नसकेको उहाँले बताउनुभयो । झुलाघाटमा पुल निर्माणका लागि देशका सबै सरकारले आश्वासन दिए पनि पुल निर्माण हुन नसकेको चन्दको भनाइ छ ।

‘झुलाघाटमा पक्की पुल बनाउने भनेर सबैजसो प्रधानमन्त्रीले भनिसकेका छन् । भारत भ्रमणको एजेण्डामा पनि धेरैले झुलाघाट पुल निर्माण राख्ने गरेका छन्’, दशरथचन्द नगरपालिका बस्कोटका विनोदबहादुर चन्दले भन्नुभयो, ‘झुलाघाटमा पक्की पुल नभएकै कारण हामीले करोडौंको व्यापार घाटा व्यहोरिरहेका छौँ । यो बिषयमा सरकारले बुझ्नु आवश्यक छ’, उहाँले थप्नुभयो ।

झुलाघाट नाका प्रदेश सातका पहाडी जिल्लाबाट भारत जानेहरुको प्रमुख नाकाको रुपमा समेत चिनिने गरिएको छ । झुलाघाटमा पक्की पुल बनाउने बिषयमा अहिले सम्मका सरकारहरुले आश्वासन दिएको भएपनि पूरा भने कसैले गर्न सकेका छैनन् । झुलाघाटमा झण्डै डेढ सय वर्षअघि इष्ट इण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुलबाट आवतजावत भइरहेको छ । 

झण्डै डेढ सय वर्षअघि इष्ट इण्डिया कम्पनीले नेपाल –भारत सीमा नाका झुलाघाटस्थित महाकाली नदीमा बनाएकोे झोलुंगे पुल जीर्ण बन्दै गएपछि बैतडीलगायत प्रदेश ७ का डडेल्धुरा, बझाङ, डोटी र दार्चुलाबाट यो नाकाबाट आवतजावत गर्नेहरु समस्यामा परेका छन् । यो झोलुंगे पुल मात्रै नभएर दुई देशको सम्बन्ध जोड्ने पुल भएको भारतीय पत्रकार भगीरथ अवस्थीले बताउनुभयो । उहाँले भन्नुभयो,  ‘झुलाघाट पुल नेपालको मात्रै नभएर भारतको पनि चासोको विषय हो । झण्डै डेढसय वर्षअघि बनेको पुलको ठाउँमा पक्की पुल बनाउनुपर्छ । तर, पक्की पुल त टाढाको विषय भयो जीर्ण भएको पुलको जीर्णोद्धारका विषयमा समेत चासो दिइएको छैन् ।’

सीमा बजार झुलाघाटमा सडक पुगे पनि  मोटरेबल पुल नहुँदा आवतजावतमा पनि समस्या हुने गरेको छ । पहाडी क्षेत्रका नागरिकहरु उपचारको लागि पनि झुलाघाट नाकाबाट भारत जाने गर्दछन । सडक सुविधा पुगेको दुई दशक बित्दा समेत सुदूरपश्चिमको पहाडी नाका झुलाघाटमा मोटरेबल पक्की पुल नहुँदा बिरामीलाई बोकेर लैजानुपर्ने बाध्यता रहेको उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खीमानन्द भट्टले बताउनुभयो ।     

झुलाघाटमा पक्की पुल नहुँदा नेपालमा उत्पादित तरकारी, महलगायतका वस्तुहरु निर्यात गर्न कठिनाई भएको लघु उद्यमी समूह संघ बैतडीका अध्यक्ष इन्द्रदेवशरण भट्टले बताउनुभयो । झुलाघाटमा पक्की पुल नभएका कारण यो क्षेत्रको आर्थिक समृद्धिमा बाधा पुगेको उहाँले बताउनुभयो । धनगढी महेन्द्रनगर पुर्याउनुभन्दा नजिकै भारतीय बजारमा बढी मूल्य पाइन्छ । तर मोटरेबल पुलको अभावमा स्थानीय उत्पादन निर्यात गर्न सकिएको छैन । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया