नागरिकको जीवनस्तर उकास्न जडीबुटी खेती

 असार १०, २०७७ बुधबार १०:२१:३६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – डिभिजन वन कार्यालय दाङले वनलाई नागरिकको जीवनस्तरसँग जोड्न जडीबुटी खेतीलाई समृद्धिको अभियानका रुपमा अगाडि बढाएको छ ।

डिभिजन  वन कार्यालय दाङले यस वर्ष ३ वटा नर्सरीमा गरी जम्मा १ लाख  टिमुर र २० हजार सुगन्धकोकिला (मालागेडी)का बिरुवा उत्पादन गरेको छ । जसमध्ये ५० हजार जडीबुटी बिरुवा (टिमुर र सुगन्धकोकिला) यसै वर्ष साुमदायिक वन उपभोक्ता समूह तथा निजी किसानलाई वितरण गरी वृक्षारोपण गरिंदैछ भने कतिपय राष्ट्रिय वन खण्डमा समेत वृक्षारोपण गरिनेछ ।

करिब ५० हजार वटा बिरुवा आफ्नै नर्सरीमा तयार पारेको वन कार्यालयले थप ५० हजार बिरुवा खरिद गरेर टिमुर खेती गर्न चाहने निजी वन धनीलाई वितरण गर्ने योजना अनुसारले काम भइरहेको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले बताउनु भयो ।

जिल्लाका पहाडी क्षेत्रमा टिमुर खेतीका लागी सहयोग गर्ने भएपछि स्थानीय उपभोक्ताहरु निकै उत्साहित भएको वन कार्यालयको भनाइ छ । वन कार्यालयले टिमुरसँगै तेजपात, अमला, कुरिलो लगायतका अन्य जडीबुटीहरु पनि किसानको माग र वातावरण अनुकूलता हेरेर वितरण गर्ने डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीेले जानकारी दिनुभयो ।  

दाङ जिल्लाको बंगलाचुली गाँउपालिका, घोराही उपमहानगरपालिका १८ र १९, तुलसीपुर उपमहानगरपालिका ३ र १९ लाई टिमुर र सुगन्धकोकिलाको पकेट क्षेत्र तोकिएको छ भने बबई नदी आसपासको बगर र दाङ उपत्यकाको दक्षिण पश्चिम भागलाई मेन्था, क्योमोमाईल, सर्पगन्धा, कुरीलो जस्ता जडीबुटीको उत्पादनका लागि पकेट क्षेत्र तोकिएको छ ।

टिमुरकाे बेर्ना

यो वर्ष टिमुर र सुगन्धाकोकिलाको पकेट क्षेत्र लक्षित वृक्षारोपण अभियान सञ्चालन गरिने प्रमुख ज्ञवालीले बताउनु भयो । जडीबुटीको पकेट क्षेत्र तोकिएको क्षेत्रमा बस्ने मानिसहरु बसाईंसराई गरी उपत्यका केन्द्रित भएकोले त्यस क्षेत्रको जमिन दिनानुदिन अनुत्पादक भईरहेका छन् । यस्तै त्यस्ता निजी खेतीयोग्य जग्गामा रुखहरु हुर्किंदा वन्यजन्तुहरु खेतीबारी र गाँउबस्तीमा पसेर नोक्सान पुर्‍याइरहेको जनगुनासो बढेको छ ।

डिभिजन वन कार्यालयले अघि सारेको टिमुर र सुगन्धाकोकिला रोपण अभियानले एकातर्फ मानव वन्यजन्तुबीचको द्वन्द्व कम गर्छ भने अर्कोतर्फ बाँझो जमिनको उपयोग भई जग्गाधनीहरुले छोटो समयमा मनग्य आम्दानीको गर्न सक्ने अपेक्षा गरिएको छ ।

काष्ठ प्रजातिका बिरुवा लगेमा प्रोत्साहन स्वरुप २० प्रतिशत फलफुलका बिरुवा वितरण गरिने

बगरलाई वन बनाउने अभियानलाई प्रभावकारी बनाउन काष्ठ प्रजातीका बिरुवाहरु लैजाँदा प्रोत्साहन स्वरुप २० प्रतिशत फलफुलका बिरुवा समेत वितरण गरिने डिभिजन वन कार्यालयले जनाएको छ ।

पहाडी क्षेत्रमा जडीबुटी र तराई क्षेत्रमा फलफुलका बिरुवा अन्य बिरुवासँगै रोपे उपभोक्ताहरुले  छिटै उत्पादन लिन सक्ने भएकाले यस वर्ष ५० हेक्टर बगरमा  २ लाख ५० हजारभन्दा बढी काष्ठ तथा फलफूलका बिरुवा रोपण गरिने डिभिजन वन प्रमुख दिपक ज्ञवालीले बताउनु भयो ।

गएको वर्ष ४० हेक्टर बगर क्षेत्रमा तारबार सहित वृक्षरोपण गरेको वन कार्यालयले यस वर्ष  वन क्षेत्र बाहेकका ऐलानी तथा पर्ती जग्गामा समेत वृक्षारोपणका कार्यक्रम सञ्चालनका लागि उपभोक्ताबाट माग आएको जनाएको छ ।

फलफुल बिरुवाहरुमा विभिन्न प्रजातिका आँप, सुनकागती, बाह्रमासे कागती, रुख कटहर, लिची, अनार, नास्पती, किवी, ड्रयागन फ्रुट, जुनार, सुन्तला, रुख बयर आदि गरी जम्मा ५३ हजार बिरुवा खरिद प्रक्रियामा रहेकोले आपूर्तिकर्ताबाट ढुवानी भै डिभिजन वन कार्यालयमा आएलगतै बिरुवा वितरण कार्य शुरु गरिने सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनु भयो ।

 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया