ओली र प्रचण्ड–माधव 'रिङ आउट' हुन्छन्, सरकारकाे नेतृत्वमा देउवाकाे स्थान देखिन्छ : डा भट्टराई

‘चुनाव हुँदैन, भए पनि निष्पक्ष हुँदैन’

 माघ २, २०७७ शुक्रबार १७:३०:३० | किरण लोहनी
unn.prixa.net

फाइल फाेटाे

गोरखा – पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का नेता डाक्टर बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा विघटन गर्नु राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदम मात्रै नभइ राष्ट्रघाती अपराधसमेत भएकाले दण्डित गर्नुपर्ने उहाँको भनाइ छ । 

गृह जिल्ला गोरखामा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले ओली राष्ट्रवादी नभइ राष्ट्रघाती भएको आराेप लगाउनुभयाे । 

डाक्टर भट्टराईले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतले झारा टार्ने किसिमले सुनुवाइ गरिरहेको बताउनुभयो । अदालतको कार्यशैली हेर्दा प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ भन्नेमा विश्वस्त हुने आधार नदेखिएको उहाँको भनाइ छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेस र नेकपाको प्रचण्ड–माधव समूहले पनि निर्णायक आन्दोलन गर्न नसकेको भट्टराईले बताउनुभयो । पार्टीभित्रको भागबण्डाको झै–झगडा मिलाउन नसक्दा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको भन्दै उहाँले नेकपाको प्रचण्ड–माधव समूहको अहिलेको भूमिकामा शङ्का गर्ने ठाउँ देखिएको उहाँकाे दाबी छ ।

प्रतिनिधि सभा पुनर्स्थापना भएपछि बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने भट्टराईको भनाइ छ । ‘प्रतिनिधि सभामा जसपाको स्थान चौथौ हो, त्यसैले हाम्रो पार्टीले सरकारको नेतृत्वमा दाबी गर्दैन’, उहाँले भन्नुभयो, ‘केपी ओली र प्रचण्ड–माधव स्वतः रिङ आउट हुन्छन्, सरकारको नेतृत्वमा शेरबहादुर देउवाको स्थान देखिन्छ ।’

प्रतिनिधि सभा पुनर्स्थापना नभएको खण्डमा पनि प्रधानमन्त्री ओलीले चुनाव गराउँछन् भन्ने विश्वास आफूलाई नभएको भट्टराईले बताउनुभयो । चुनाव भइहाले पनि निष्पक्ष चुनाव नहुने पनि उहाँको भनाइ छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया