अब एक कल फोन गरेकै भरमा बैंकबाट ऋण पाइने

 फागुन १०, २०७७ सोमबार ८:३९:३५ | रासस
unn.prixa.net

काठमाण्डाै - आफूलाई घरखर्च चलाउन वा कुनै व्यावसायिक काम गर्नका लागि तपाईँले बैंक तथा वित्तीय संस्थामा धाएर नै जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने सुविधा क्रमशः विस्तार हुँदै गएको छ । फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण पनि पछिल्ला दिनमा उल्लेखनीय वृद्धि भएको छ । 

अहिले ‘फोन लोन’को सुविधा तीन वटा वाणिज्य बैंकले दिइरहेका छन् । अहिलेसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा दिएका छन् । नेपालमा पहिलो पटक सुरु भएको फोन लोनमार्फत सय दिनमा कुल एक हजारले ऋण लिएको पाइएको हो । निजी क्षेत्रको सेवाप्रदायक एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ्ग र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिमा आकर्षण देखिएको हो । 

बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकताअनुसार ऋण मोबाइलबाट लिन सक्नेछन् । बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्री राम्रो रहेका ग्राहकलाई यस्तो सुविधा प्रदान गरिएको सम्बन्धित बैंकले जनाएको छ । 

बैंकले दुई लाख रुपैयाँसम्म ऋण  दिने गरिएको छ । बैंकमा खाता भएका व्यक्तिले आफ्नो मोबाइल बैंकिङमार्फत् निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ । यसका लागि बैंंकसम्म जानुपर्ने तथा धितो राख्नुपर्ने झन्झटसमेत हुँदैन । ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया बिना नै आफ्नो मोबाइल  बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्ने छन् । 

बिनाधितो, बिनाकागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, 'एफवान सफ्टले जहिले पनि आममानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दछ । यसै क्रममा हामीले फोनबाटै लोन लिन सकिने प्रविधिको विकास गर्यौँ ।' यो सुविधामा अहिले बैंकमा आकर्षण निकै देखिएको छ । आउँदाे दिनमा अन्य बैंकहरूमा पनि यो सुविधा थप हुँदै जाने विश्वास लिइएको ढकालले जानकारी दिनुभयो । 

एफवान सफ्ट नेपालको डिजिटल वित्तीय सेवा कम्पनी हो । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ । यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाइलमार्फत हुने भुक्तानीको विकास गरेको दाबी गरेको छ ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया