स्पेनमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुग्यो
कात्तिक १६, २०८१ शुक्रबार
दाङ - दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ ।
पछिल्लो एक हप्तामा सङ्क्रमितको सङ्ख्या साढे ६ सय नाघेको छ । कोरोना परीक्षण गर्न आउने मध्य ७५ प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण बढे पनि आवश्यक स्वास्थ तयारी भने सुस्त गतिमा छ ।
सक्रिय सङ्क्रमितहरु दिनदिनै अप्रत्यासितरुपमा बढ्न थालेपछि दाङको एकमात्र अस्थायी कोरोना विशेष अस्पतालमा जुनसुकै बेला अक्सिजनको अभाव भएर बिरामीको ज्यान जानसक्ने चेतावनी अस्पताल व्यवस्थापनले दिएको छ ।
करिब दुई महिनाअघि शून्य बिरामी सङ्ख्या भएको त्यस अस्पतालमा ४१ बिरामी उपचाररत छन् । अधिकांश बिरामीलाई अक्सिजन प्रयोगको विकल्प नरहेको अस्पतालले जनाएको छ । अस्पतालमा दैनिक ९९ सिलिन्डरसम्म खपत भएको बताउँदै अस्पताल व्यवस्थापनले बेलझुण्डी अस्पतालमा अहिले बढीमा ४८ सिलिन्डर अक्सिजन ग्यास मात्र स्टकमा रहेको बताएको छ ।
‘दिनदिनै नेपालगञ्जबाट अक्सिजन ढुवानी गरेर आपूर्ति गर्दै आएका छौँ, सडक जाम भयो वा गाडी बिग्रियो भने दुई घण्टा ढिलो भयो भने पनि सिकिस्त बिरामीको ज्यान जान सक्छ’, कोरोना विशेष अस्पतालका व्यवस्थापक द्रोण वलीले बताउनु भयो।
पछिल्लो सङ्क्रमणमा यसअघिको जसरी दिइएको अक्सिजनले बिरामीलाई पुग्ने अवस्था देखिएको छैन । बिरामीलाई धेरै मात्रामा अक्सिजन दिएर मात्र स्वास्थ्यमा सुधार आउन सक्ने अपेक्षा चिकित्सकहरुले गरेका छन् । यसरी अक्सिजन दिँदा पनि सिकिस्त बिरामीहरुको भने लगभग दैनिकजसो निधन भइरहेको छ ।
दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धिसँगै बिरामीका लागि आवश्यक पर्ने अक्सिजनको खपत बढेको छ । बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगै होम आइसोलेशनमा बसेका सङ्क्रमितहरुका लागि समेत अक्सिजन आवश्यक पर्न थालेपछि जिल्लामा अक्सिजनको समस्या देखिएको हो । सामान्य अवस्थामा महिनामा १ हजार सिलिन्डर अक्सिजन खपत हुने जिल्लामा कोरोना सङ्क्रमित बढेसँगै अक्सिजनको प्रयोग ह्वात्तै बढेको छ ।
कोरोना भाइरसले गम्भीर बनाएका बिरामीको शरीरमा अक्सिजनको मात्रा घट्दै जान्छ । यस्तो अवस्थामा बिरामीलाई बचाउन अक्सिजन आवश्यक पर्ने हुँदा अक्सिजनको खपत बढेको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोण वलीले बताउनुभयो । तर दैनिक कोरोना सङ्क्रमित बढिरहेको र त्यसका लागि आवश्यक अक्सिजनको जिल्लामा स्टक नहुँदा बिरामीको उपचारमा समस्या देखिने अवस्था आएको व्यवस्थापक वलीले बताउनु भयो।
‘कोरोना सङ्क्रमितमा जटिल प्रकारको समस्या देखिने क्रम बढिरहेको छ, यस्तो बेला अक्सिजन आवश्यक पर्छ’, व्यवस्थापक वलीले भन्नुभयो- ‘अहिले अक्सिजन पुगिरहेको छ तर कुनै कारण एकैदिन बाहिरबाट अक्सिजन आउन सक्ने अवस्था भएन भने बिरामीले अक्सिजन नपाउने अवस्था छ।’
जिल्लामा अक्सिजनको प्लान्ट नहुँदा जोखिम बढेको उनको अभिव्यक्ति थियो तर यहाँ रहेका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयू उद्घाटन गरिए पनि अक्सिजनकै अभावका कारण आईसीयू सेवा पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन । मुख्यमन्त्रीले आईसीयू उद्घाटन गरेको करिब एक वर्ष पुग्न थाल्दा समेत सरकारले प्रतिष्ठानमा अक्सिजन प्लान्ट निर्माणका लागि आवश्यक बजेट पठाउन नसक्दा यो समस्या देखिएको हो।
जिल्लामा अक्सिजनको अभाव भइरहेका बेला दाङको घोराही उपमहानगरपालिका-३ झिङ्नीमा २०७३ सालमा सञ्चालन भएको दाङ अक्सिजन उद्योग प्रालि भने लामो समयदेखि बन्द रहेको छ । करिब चार करोडको लगानीमा सञ्चालनमा आएको उद्योग विद्युतको अभावसँगै बजारमा ठूला उद्योग कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न नसक्दा अक्सिजन उद्योग बन्द गर्नुपरेको दाङ अक्सिजन उद्योग प्रालिका सञ्चालक टोेपाराम पौडेलले बताउनुभयो ।
दाङका लागि आवश्यक अक्सिजन जिल्लामै उत्पादन गर्ने उद्देश्यले सात वर्ष पहिले उद्योग सञ्चालन गरे पनि सानो बजारमा ठूलो कम्पनीसँग प्रतिष्पर्धा नसक्दा उद्योग सञ्चालन भएको एक वर्षमै बन्द भएको उहाँले बताउनुभयो।
दाङमै सञ्चालन भएको उद्योग बन्द भएपछि नेपालगञ्जमा रहेको हरिओम अक्सिजन उद्योगबाट अक्सिजन ल्याएर वितरण गरिरहेको उहाँले बताउनुभयो । उहाँले अहिले दैनिक डेढ सय अक्सिजन जिल्लामा आउने गरेको बताउनुभयो ।
‘अहिले दैनिक डेढ सय सिलिन्डरहरु आउने गरेको छ, त्यसमध्ये एक सय सिलिन्डर बेलझुण्डी अस्पतालमा जान्छ’, सञ्चालक पौडेलले भन्नुभयो- ‘बाँकी सिलिन्डरहरु अन्य अस्पतालहरुसँगै व्यक्तिहरुले लग्ने गर्नुभएको छ।’ उहाँले दाङमा अक्सिजन स्टक राख्ने प्लान्ट नहुनुका साथै सिलिन्डरहरु होल्ड गरिदिँदा अक्सिजनको थप समस्या देखापरेको बताउनुभयो । उहाँले करिब एक सय बढी सिलिन्डरहरु दाङभित्रै होल्ड रहेको बताउनुभयो।
‘अक्सिजन गम्भीर प्रकृतिका बिरामीका लागि आवश्यक पर्ने हो तर अहिले राम्रै व्यक्तिले अक्सिजनका सिलिन्डर घरमा लगेर राख्नुभएको छ’, उहाँले भन्नुभयो- ‘जसले गर्दा ती सिलिन्डरहरु चलाउन नपाउँदा थप समस्या देखिन गएको हो ।’
उहाँले जिल्लामा केही अस्पतालहरुले पनि आवश्यकताभन्दा बढी सिलिन्डरहरु राखेको बताउनुभयो । ‘अहिलेलाई हामीसँग तीन सय बढी अक्सिजनका सिलिन्डरहरु हुन् तर अहिले रनमा डेढ सय मात्र छन्’, सञ्चालक पौडेलले भन्नुभयो- ‘बाँकी सिलिन्डरहरु अस्पताल र केही सिलिन्डरहरु व्यक्तिहरुले लगेर होल्ड गर्नुभएको छ, जसले गर्दा पनि थप समस्या देखिएको छ ।’
सञ्चालक पौडेलले कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव हुन नदिनका लागि आफूले लागेसम्म पहल गरिरहेको भन्दै भोलि गाडी बिग्रिए वा ड्राइभर नै बिरामी भएको खण्डमा समस्या पर्ने अवस्था आएको बताउनु भयो ।
‘नेपालगञ्जबाट अक्सिजन ल्याउने हामीसँग एउटा गाडी छ, त्यसमा ड्राइभर पनि एकजना छ’, उहाँले भन्नुभयो- ‘कारणवश गाडी बिग्रिने र ड्राइभर बिरामी भयो भने समस्या हुने स्थिति छ ।’ उहाँले अन्य गाडीहरुलाई अक्सिजन ल्याउनका लागि भन्दा समेत जान नमान्ने गरेको बताउनु भयो ।
घोराहीमा अक्सिजन सिलिन्डर बिक्री गर्दै आएको प्रयास सप्लायर्सले अक्सिजनको खपत बढेसँगै सिमेन्ट उद्योग र अटो व्यवसायीलाई सिलिन्डर दिन छोडेको छ । विपद्को समयमा बिरामीलाई नै अक्सिजन आवश्यक पर्ने भएकाले आफूहरुले सिमेन्ट उद्योग, अटो तथा ग्रील व्यवसायीहरुलाई अक्सिजन सिलिन्डर दिन छोडेको प्रयास सप्लायर्सका प्रोपाइटर विष्णु भण्डारीले जानकारी दिनुभयो।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।