एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
जेठको मध्य घाममा आशबहादुर बारीको ढुङ्गामाटोमा कोदालो बजारेर संगीतको एकोहोरो तालमा मकै गोड्दै थिए । घाम ओइलाउँदै जाँदा रेडियोबाट बजेट भाषण बज्न थाल्यो । बजेट भाषण जति सुन्यो, उति सुनिरहुँ जस्तो । जे सुन्यो, त्यही राम्रो । सबै आफ्नै लागि, हाम्रै लागि । कोदालो कान्लातिर मिल्काएर दुई, चार बोट मकै नै भाँचिने गरी आशबहादुर चार हात माथि उफ्रिए ।
एकातिर आफ्नो वृद्धभत्ता हजार रुपैयाँ बढेको छ । अर्कोतिर क्याम्पसको पढाइ सकेर त्यत्तिकै मिल्किरहेको छोरोको प्रमाणपत्रले २५ लाख भाउ पाएको छ । छोरीलाई अनलाइन कसरी पढाउने भन्ने चिन्ता भइरहेकाे बेला सरकारले एक प्रतिशत ब्याजमा ल्यापटप किन्दिन्छौँ भनेको छ । बजार भाउ कति महँगो भनेर गनगन गरिरहने श्रीमती दङ्ग पर्नेगरी खाद्यमा छुटको घोषणा भएको छ ।
जे सुन्यो त्यही तालमा बुरुकबुरुक गर्दै फुरफुर भइरहेकाे बेला सरकारले फेरि अर्को खुशीको कुरा सुनायो–ढुङ्गा बेचेर घाटा कम गर्ने ! घाटा त सरकारलाई मात्र होइन, नागरिकलाई पनि छ । सरकारलाई त व्यापार घाटा मात्रै भएको हो । घाटा हुँदैमा सरकार घरको न घाटको हुँदैन, देश टाट पल्टेला तर सरकार कहिल्यै टाट पल्टिँदैन । नागरिकलाई हरेक क्षेत्रमा घाटा छ, घाटा भइरह्यो भने उत्तानोटाङ लगाउनुको विकल्प छैन । सरकारले ढुङ्गा, गिट्टी, बालुवा बेचेर व्यापार घाटा कम गर्न सक्छ भने नागरिकले चाहिँ किन नसक्ने ?
आशबहादुरले बारीको कान्लामा हेरे । बडेमानको ठूलो ढुङ्गो वर्षौँदेखि त्यसै बसिरहेको छ । यो ढुङ्गो मिल्काउन पाए त्यो ठाउँमा अर्को चार पाथी मकै फल्थ्यो । तर पल्टाउन नसकेर त्यसै बसिरहेको छ । पाखा, पखेरा र खोल्सामा पनि ससाना ढुङ्गा त्यसै मिल्किएका छन् । फाल्ने ठाउँ छैन । कसरी कहाँ लगेर फालौँ भइरहेकाे बेला उल्टै बेचेर घाटा कम गर्न पो सकिँदो रहेछ ।
तल खेतको बगरमा पनि बालुवा त्यत्तिकै खेर गएको छ । बगरतिरैका ढुङ्गा कुट्न सकियो भने पनि गिट्टी बेच्न पाइन्छ । पल्लो गाउँको क्रसर डनले अरु ठाउँका बालुवा, गिट्टी, ढुङ्गा रातारात ओसारे पनि अहिलेसम्म यहाँ उसको आँखा परेको छैन । उसले आँखा नपर्दै आफूले बेचेर घाटा कम गर्न पाउने ।
आशबहादुर त्यसैत्यसै दङ्ग परेर मुख मिठ्याउँदै थिए । त्यहीबेला अर्को खबर सुनियो–सरकारले व्यापार घाटा कम गर्न होइन, तस्करलाई सजिलो बनाउन पो ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्न भनेको त । यसरी निकासी गर्दा तराई मरुभूमि बन्छ । ढुङ्गा, गिट्टी मात्रै किन देश नै बेचेर घाटा कम गर न भनेर सरकारलाई व्यङ्ग्य गरिएको पनि सुनियो ।
सरकार भन्छ–असर नपर्नेगरी ढुङ्गा गिट्टी बालुवा बेच्ने भनेको हो । विरोधी भन्छन्–होइन, तराई र चुरेलाई मरुभूमि नै बनाउन खोजेको हो । कुनै हालतमा ढुङ्गा, गिट्टी, बालुवा बेच्छु भनेर सरकारले भन्न पाउँदैन ।
दुईपक्षको दुईथरी कुरा सुनेर आशबहादुर अलमलिए । कुन कुरा ठिक हो भनेर छुट्याउन सकेनन् । पाखोबारीको ढुङ्गा बेचेर घाटा कम गर्छु भन्ने योजना पूरा नहुने छाँट देखियो । एक मनले उनलाई ठिकै लाग्यो। बेकारमा बारीको ठूलो ढुङ्गो किन बेच्नु ? मकै गोड्न, धान रोप्न आएको बेला यही ढुङ्गामा बसेर खाजा खान पाइएको छ । यतै मिल्केका अरु ससाना ढुङ्गा टिपेर बाली खान आएका गाईबस्तु धपाउन पाइएको छ।
बेच्नेहरुले त ढुङ्गा, गिट्टी, बालुवा सरकारले नबेच्ने भन्दा पनि बेचेकै थिए, बेचेकै छन् । डाँडापाखा, नदी, खोला खोल्सामा डोजर र मेसिनले खनेकै छन् । सरकारले व्यापार घाटा कम गर्नुअघि क्रसर डनहरुले आफ्नो घाटा कम गरेर नाफैनाफा कुम्ल्याएकै छन् । विरोध गर्ने दल र कतिपय मान्छेहरुका चुल्ठे, मुन्द्रेहरु पनि ढुङ्गा बेचेर मोटाएकै छन् । जुन कुरो नीति नबनाउँदा र बजेटमा नभन्दा पनि भइरहेकाे छ भने अहिले नीति नै किन चाहियो ? त्यसमाथि देशै बेथिति र अनीतिमा चलेका बेला जाबो ढुङ्गा बेच्न किन चाहियो नीति ?
गालामा हात राखेर कान्लाको ठूलो ढुङ्गामा बसिरहेका आशबहादुरलाई लाग्यो सरकारले नीति नै नबनाएको भए बेश हुन्थ्यो । सरकारले नीति बनाएर गर्छु भनेको काम डनले नीति नहुँदा पनि गरिरहेकै छन् । यसै गरेर अरुले घाटा कम गर्दै नाफा कुम्ल्याएकै छन् । चुरे र तराई ध्वस्त बनाउने गरी ढुङ्गो बेचेर मालामाल हुने पनि नागरिक नै हुन् । नागरिक धनी हुनु भनेको देश धनी हुनु हो । त्यसमाथि जाबो ढुङ्गा पनि निर्यात गर्ने कुरो हो र ? हरेक दिन हजारौँ युवा विदेश निर्यात भइरहेकै छन् । चेलीबेटी निर्यातमा देशको ख्याति पहिलेदेखिकै हो । निर्यात गर्न नपाइने, नमिल्ने कुरा पनि लुकिछिपी गइरहेका छन् । ढुङ्गाभन्दा पहिले देउताका कति मूर्ति निर्यात भइसके ? मान्छे र देउता बेचेर धनी भइरहेकाे बेला जाबो ढुङ्गा पनि कसैले बेच्छ ?
त्यसमाथि विदेशमा मान्छे, देउता र नमिल्ने कुराबाहेक हामीलाई अरु कुरा बेच्ने र निर्यात गर्ने बानी छैन । हामी नेपालीले निर्यात होइन आयात गर्ने हो । धान, मकै, तरकारी, फलफूल फल्ने खेतबारी बेचेर चामल र तरकारी किन्छौँ । कपास खेती मासेर लुगा किन्छौँ । यहाँका ढुङ्गा स्लेटको के चासो, विदेशबाट टायल र मार्बल किन्छौँ । यहीँ मोती निस्कन्छ भन्ने बिर्सेर विदेशकै सुनचाँदी र हिरा रोज्छौँ । अनि नुनदेखि सुनसम्म, किरादेखि हिरासम्म किनेर गर्जो टरिरहेको देशमा जाबो ढुङ्गो बेचेर धनी बन्न खोज्ने ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।