कुश्मा नगरका १५ सय घर, आकाशे पानीकाे भर !

 असार २५, २०७८ शुक्रबार १९:५९:४१ | सन्तोष थापा
unn.prixa.net

कुश्मा बजार

पर्वत – मनसुनजन्य विपद्का कारण खानेपानी आपूर्ति बन्द भएपछि पर्वतको कुश्मा नगरपालिका वडा नं. ४, ५, ६ र ७ का झन्डै एक हजार ६ सय घरपरिवार चार दिनदेखि आकाशे पानीको भरमा रहेका छन् । 

गएको मङ्गलवार राति वर्षासँगै आएको बाढीले कुश्मा नगरपालिका ८ चुवाको दोविल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि बजारमा खानेपानीको समस्या भएको हो । 

साविकको जिल्ला सदरमुकाम कुश्मा बजारमा चार दिनयता धारामा खानेपानीको आपूर्ति हुन सकेको छैन । खानेपानी आपूर्तिको जिम्मा लिएको शिवालय खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पानी परिरहेका कारण पाइप मर्मतका लागि समेत जान नसकिएको बताएको छ । संस्थाका अध्यक्ष रविकुमार श्रेष्ठले पानी परिरहेका कारण र खानेपानी बन्द भएकै ठाउँमा पहिरो लच्किरहेका कारण मर्मत गर्न कठिनाइ भएको बताउनुभयो । 

पर्वतको कुश्मा नगरपालिकाका यी ठाउँमा मोदी गाउँपालिका ३ देउरालीमा रहेको पाति खोला र कुश्मा नगरपालिकाकै क्यादी खोलाबाट खानेपानी आपूर्ति हुँदै आएको थियो । अहिले दुवै ठाउँमा बाढी र पहिरोले समस्या भएको संस्थाका प्रबन्धक राजेन्द्र रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार कुश्मा नगरका एक हजार पाँच सय ६० परिवारका झन्डै २३ हजार जना अहिले खानेपानीको समस्यामा रहेका छन् ।  

अहिले धारामा पानी नआएपछि र निरन्तर पानी परिरहेको समयमा बजारबासीले बलेनीमा पानी सङ्कलन गरी प्रयोग गर्दै आएका छन् । बलेनीको पानी खानका लागि उपयोगी नभए पनि अन्य प्रयोजनका लागि सङ्कलन गर्ने र खानेपानीका लागि घण्टौँ समय खर्चेर जानुपर्ने अवस्था रहेको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपी अधिकारीले बताउनुभयो । 

खानेपानीको आपूर्ति सहज नभएकै कारण अस्पताल, कारागार लगायतका ठाउँमा समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताउनुभयो । सम्बन्धित संस्थालाई अनुरोध गरिएको र आवश्यक जनशक्ति चाहिएमा सुरक्षाकर्मीको प्रबन्धसमेत गर्ने गरी खानेपानी आपूर्तिका लागि तत्काल लाग्न अनुरोध गरिएको उहाँले बताउनुभयो । 

संस्थाले पानी पर्न रोकिएपछि तत्काल मर्मत गरेर आपूर्ति गर्ने र खानेपानी समस्या समाधान गर्ने जानकारी दिएको प्रजिअ खत्रीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया