सहकारी बैंकको चेक 'क्लियरिङ' नहुने नियम खारेज गर्छु : अर्थ मन्त्री शर्मा

 साउन १९, २०७८ मंगलबार १४:५८:५७ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने बताउनुभएको छ । 

राष्ट्रिय सहकारी बैंकको १९ औँ वार्षिकोत्सवको अवसरमा आज मङ्गलवार ललितपुरमा आयोजित सहकारीमा लघुवित्त सम्मलेन–२०७८ लाई सम्बोधन गर्दै उहाँले यो समस्या समाधानका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । चेक नचल्ने नियम खारेज गर्छु । सामाजिक सुरक्षाको भत्ता पनि सहकारी बैंक तथा गाउँ–गाउँमा रहेका लघुवित्त कम्पनीमार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको छु, उहाँले भन्नुभयो, बरु सहकारी बैंकहरूले नाफाका लागि प्रतिस्पर्धा नगर्नुस् । उत्पादन र रोजगारी सिर्जनामा प्रतिस्पर्धा गर्नुस् ।

अर्थ मन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न सहकारी बैंकका साथै लघुवित्त क्षेत्रले जोड दिनुपर्ने बताउनुभयो । उत्पादनमुखी अर्थतन्त्रमा टेवा पुर्‍याउन लघुवित्तले उत्पादन क्षेत्रलाई जोड दिनुपर्छ, उहाँले भन्नुभयो, त्यसका लागि सरकारले नीतिमा परिवर्तन गरी सहजीकरण गर्छ । उत्पादनमा जोड दिँदा त्यसले रोजगारी सिर्जना गर्ने भन्दै उहाँले सहकारी संस्थाहरूले नाफाको प्रतिस्पर्धा नगरि रोजगारी सिर्जना, गरिबी अन्त्य तथा उत्पादन वृद्धिमा प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो ।

यसैगरी मन्त्री शर्माले ऋण प्रवाहमा रहेको असमानता समेत हटाउन पहल गरिने बताउनुभयो । गाडी किन्ने कर्जा थोरै ब्याज लाग्ने तर गरिबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउनुपर्नेछ, उहाँले भन्नुभयो । उहाँले कर्जा प्रवाहमा ब्याज दर घटाएर सहज बनाउन सहकारी बैंक, सहकारी संस्था तथा लघुवित्त संस्थाहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका पूर्वअध्यक्ष केशव बडाल, पत्रकार शर्मिला ठकुरी, राष्ट्रिय सहकारी बैंकका उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गरिएको छ । आजदेखि सुरु भएको ‘सहकारीमा लघुवित्त सम्मेलन–२०७८’ भोलि बुधवारसम्म चल्नेछ । कोरोनाका कारण सम्मेलनमा भौतिक उपस्थिति कम गराइएको छ भने भर्चुअल माध्यमबाट ६ सयभन्दा बढीको सहभागिता रहेको आयोजक राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया