पहिरोले गोरखाको क्यान्टिलिभर पुलमा क्षति, पदमार्ग बन्द

 भदौ ४, २०७८ शुक्रबार १७:२१:३६ | किरण लोहनी
unn.prixa.net

गोरखा – नेपालमै पहिलो पटक गोरखामा बनाइएको क्यान्टिलिभर पुलमा पहिरोले क्षति पुर्‍याएकाे छ । चुमनुब्री गाउँपालिका ४ को सर्दी भिरमा पहरा खोपेर बनाइएको पुलमा बिहीवार खसेको पहिरोले क्षति गरेको स्थानीयवासी सरोज लामाले बताउनुभयो । 

स्यार खोलाको बाढीले किनारमा कटान गरेर पदमार्ग बगाएपछि भिर खोपेर क्यान्टिलिभर पुल बनाइएको होे । साढे तीन वर्षअघि बनाइएको पुलका विभिन्न भागमा पहिरोसँगै खसेको ठूल्ठूला ढुङ्गाले क्षति पुर्‍याएकाे उहाँले जानकारी दिनुभयो । दुई सय २५ मिटर लामो पुलको दुई ठाउँमा गरी झन्डै ६ मिटर भागमा क्षति पुर्‍याएकाे उहाँले बताउनुभयो ।

‘पुलको डेक र छेउको पोल भाँचिएको छ’, लामाले भन्नुभयो, ‘मान्छे हिँड्न पनि अप्ठ्यारो छ, भारी बोकेका खच्चडलाई पनि पुल पार गर्न गाह्रो पर्छ ।’ पहिरोले पुलको एक भाग बाङ्गिएको र बार पनि भाँचिएको उहाँले बताउनुभयो । 

मनास्लु पदमार्गबाट चुमभ्याली जाने पदमार्ग अन्तर्गत सर्दी भिरमा क्यान्टिलिभर पुल बनाइएको हो । पुलमा जोखिम भएपछि चुम्चेत र छेकम्पारका बासिन्दालाई आवत जावतमा समस्या भएको छ । पुलमा क्षति पुगेसँगै चुमनुब्रीको वडा नम्बर ६ र ७ सम्म पुग्ने बाटो पूर्णरूपमा बन्द भएकाे लामाले जानकारी दिनुभयो । 

चुमनुब्री वडा नम्बर ६ कै लोक्पामा पहिरो खस्दा यसअघि नै त्यस पदमार्ग बन्द भएको थियो । क्यान्टिलिभर पुलमा समेत क्षति पुगेपछि चुम्चेत र छेकम्पारका बासिन्दालाई गाउँपालिकाको केन्द्र सिर्दिवाससम्म आवत जावतमा समस्या  भएको छ । उनीहरूले सिर्दिवासमा फिलिम बजारबाट खाद्यान्नसहित दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएका छन् । खाद्य व्यापार कम्पनी लिमिटेडको खाद्य डिपो पनि सिर्दिवासमै रहेको छ । क्यान्टिलिभर पुल जडान गरेका प्राविधिकको सहयोग विना पुल मर्मत गर्न नसकिने गाउँपालिकाका प्राविधिकले बताएका छन् । 

२०७२ सालको भूकम्पपछिको पहिरो र स्यार खोलामा आएको बाढीले मनास्लु पदमार्ग कटान गरेपछि चुमभ्यालीका बासिन्दाको आउजाउको बाटो बन्द भएको थियो । बन्द बाटो खुलाउन झोलुङ्गे पुलमै प्रयोग गरिने स्टिलका संरचनाहरू प्रयोग गरट्ठ भित्तामा खोपेर क्यान्टिलिभर पुल जडान गरिएको हो । 

बेलायतको दातृ संस्था यूकेएडको आर्थिक सहयोगमा नेपाल बजार विकास कार्यक्रमले पुल निर्माण गरेको हो । मनास्लु पदमार्ग अन्तर्गत लार्केपास गर्ने पदमार्गतर्फ यारु बगरमा तीन करोड ७५ लाख रुपैयाँमा एक सय ९५ मिटर र चुमभ्याली जाने बाटोतर्फ स्यार खोलाको भिरमा चार करोड १५ लाख रुपैयाँकाे लागतमा एक सय २७ मिटर लामो पुल बनाइएको हाे । 

पुलको आयु कम्तीमा ५० वर्ष हुने प्राविधिकहरूले बताएका छन् । तर पहिरोले ठाउँ–ठाउँमा क्षति पुर्‍याएकाले समस्या परेको स्थानीयवासीको भनाइ छ ।   

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया