हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत 'कर्कलो कोक्याउला' सार्वजनिक

 पुस २९, २०७८ बिहिबार १८:५५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यकाे शब्द, सङ्गीत र स्वर रहेकाे नयाँ गीत 'कर्कलो कोक्याउला' सार्वजनिक भएको छ । 

आज बिहीवार काठमाण्डाैमा एक कार्यक्रमका बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, वाग्मती प्रदेशका पूर्व प्रदेश प्रमुख अनुराधा कोइराला र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापाले एकसाथ गीत सार्वजनिक गरेका हुन् ।  

सार्वजनिक गरिएको गीतमा सार्वजनिक स्थलमा महिलामाथि हुने यौन दुर्व्यवहार र चेलीबेटी बेचबिखनको कथालाई भिडियोमा मनछुने ढङ्गबाट देखाउन खोजिएको छ । गीत सार्वजनिक कार्यक्रममा कलाकार तथा गायक हरिवंश आचार्यले चेलीबेटी बेचबिखनको विषयमा यसअघि केही टेलिचलचित्र निर्माण गरेको स्मरण गर्दै गीतमा भने पहिलो पटक यो विषय उठाएको बताए । 

आफ्नो जोडी हरिवंशको गीत सार्वजनिक गर्न पुगेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गीतले समस्यामा पर्नु अगाडि नै बचाउने सन्देश दिएको बताए ।  

यो गीतको भिडियोमा कलाकार हरिवंश आचार्य, स्वस्तिमा खड्का, श्याम पाण्डे, महेश त्रिपाठी, नवीन लम्साल, रुक्मिला अधिकारी र विमल खड्काको अभिनय रहेको छ । गीतमा अभिनय गरेकी अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक जागरणका लागि कलाकार हरिवंश आचार्यसँग अभिनय गर्न पाउँदा गौरव महसुस गरेको बताइन् । 

याे गीतमा गायिका समीक्षा अधिकारीले हरिवंशलाई स्वरमा साथ दिएका छिन् । गीतमा किरण तुलाधरको सङ्गीत संयोजन रहेको छ । गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गर्नुभएको हो । सुशील सापकोटाको छायाँकन र सुरक्षा पन्तको पटकथामा भिडियो निर्माण गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया