सर्लाहीका किसानले अहिलेसम्म झन्डै ४५ प्रतिशत उखु उद्याेगलाई बिक्री गरे

 माघ १९, २०७८ बुधबार १९:३९:५२ | रामबाबु खड्का
unn.prixa.net

फाइल फाेटाे

सर्लाही – सर्लाहीका किसानले अहिलेसम्म झन्डै ४५ प्रतिशत उखु उद्योगलाई  बिक्री गरेका छन् । यस सिजनमा उत्पादन भएको उखु किसानले हरिवनको इन्दुशंकर चिनी उद्योग, बगदहमा रहेको महालक्ष्मी सुगर मिल र महोत्तरीको एभरेस्ट सुगर मिलमा उखु बिक्री गरेका हुन् । 

सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी कारखानाले अहिलेसम्म ११ लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरेको छ । उद्योगले यस क्रसिङ सिजनमा झन्डै २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको भए पनि उखु अभाव भएकाले लक्ष्यअनुसारको क्रसिङ गर्न नसकिने जनाएको छ । उद्योगले माघ १५ सम्मको उखु खरिदबापत ३९ करोड रुपैयाँ भुक्तानी गरेकाे उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । 

‘हामीले किसानलाई माघ १५ सम्मको सबै भुक्तानी गरिसकेका छौँ, हामीले सरकारले दिने अनुदानबाहेक प्रतिक्विन्टल पाँच सय २० रुपैयाँका दरले  किसानको रकम बैंक खातामा पठाएका छौँ, भुक्तानीमा कुनै समस्या छैन’, रजकले भन्नुभयाे । 

त्यसैगरी बगदहमा रहेको महालक्ष्मी सुगर मिलले अहिलेसम्म पाँच लाख १० हजार क्विन्टल उखु क्रसिङ गरेको उखु महाशाखाका प्राविधिक शिवशंकर महतोले जानकारी दिनुभयो । यस वर्ष १२ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको भए पनि उखु अभावमा लक्ष्यअनुसारको क्रसिङ नहुने महतोले बताउनुभयो । उद्योगले अहिलेसम्म किसानलाई उखु खरिदबापतको १५ करोड रुपैयाँ भुक्तानी गरेको छ । महालक्ष्मी सुगर मिलले दैनिक १६ हजार क्विन्टल उखु क्रसिङ गरिरहेको छ ।

त्यसैगरी महोत्तरीमा रहेको एभरेस्ट सुगर मिलले अहिलेसम्म नाै लाख क्विन्टल  उखु क्रसिङ गरेको जनाएको छ । यस क्रसिङ सिजनमा ३२ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको भए पनि उखु अभावमा लक्ष्य पूरा नहुने उसले जनाएको छ । उखुको अभाव भएपछि किसानलाई प्रोत्साहित गर्ने सबै उद्योगले उखु खरिदबापतको भुक्तानी ५/५ दिनमा गरिहेका छन् । 
उखु अभाव भएपछि उद्योग सञ्चालकहरू किसानको खेत–खेतमा पुगेर उखु खरिद गर्न लागिपरेका छन् । गएकाे वर्षको तुलनामा यस वर्ष १० प्रतिशत उखु खेती बढेको भए पनि उद्योगलाई पुग्ने गरी उखु उत्पादन हुन नसकेको हो । 

सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्य किसानको हितमा नभएका कारण उखु खेती घट्दै गएको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । ‘सरकार कहिले पनि किसानको पक्षमा हुन सकेन, तीन वर्षदेखि नै सरकारले उद्योगको पक्षमा उखुको मूल्य निर्धारण गरेको छ । उखु उत्पादन किसानले गर्ने हो, सरकार र उद्योगले उखु उत्पादन गर्दैन । उखुको उत्पादन बढाउन सरकारले किसानको पक्षमा मूल्य निर्धारण गर्नुपर्छ । अहिले सरकारले निर्धारण गरेको उखुको मूल्य चुनावमुखी छ । यही अवस्था आए धेरै किसानले उखु खेतीको विकल्प खोज्छन्’, मैनालीले भन्नुभयो । 

सरकारले उखु खेतीलाई नगदे बाली घोषणा गरेको भए पनि किसानले उखु बिक्री गरेको तीन वर्ष हुँदासमेत पूरै भुक्तानी पाएका छैनन् ।

हरिवन सर्लाहीका उखु किसान अगुवा राजकुमार उप्रेती भन्नुहुन्छ ‘अब किसान पहिलेका जस्ता छैनन्, खेतीमा लगानी महँगाे भयो, अझ भनेको बेलामा मल खाद नपाएर किसान हैरान छन् । उखुको मूल्यमा सरकारले पुनर्विचार गर्न सकेन भने अर्को वर्षदेखि झनै उखुको अभाव हुन्छ ।’ 

उखु खरिद केन्द्रहरूमा उखुको अभाव हुन थालिसकेको छ । दैनिक ४/५ वटा उखुका ट्रक लोड हुने गरेकाेमा अहिले अहिले १/२ वटा ट्रक लोड हुने गरेकाे छ । यही अवस्था रहे फागुन १५ गतेदेखि सबै उद्योग उखु अभावमा बन्द हुने बताइएकाे छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया