सर्लाही खण्डकाे चारकाेसे झाडीमा ५ दिनदेखि डढेलाे, ‘माटो र स्याउलाको भरमा निभाउन गाह्राे’

 चैत १, २०७८ मंगलबार १६:४:१४ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाही खण्डमा पर्ने चारकोसे झाडीमा पाँच दिनदेखी लगातार डढेलो लागिरहेको छ । हरिपुर नगरपालिका १ मा पर्ने जानकीनगर साझेदारी वन, हरिवन नगरपालिका ६ मा पर्ने घुर्कैली वन, फुलजोड साझेदारी वन र उत्तरी चुरेका वन क्षेत्रमा लगातार डढेलो लागिरहेकाे छ ।

हावाहुरी र सुक्खा मौसम भएकाले डढेलो अहिलेसम्म निभाउन नसकिएकाे हाे । हिउँदयाम सुरु भएसँगै यस क्षेत्रको जङ्गलमा बर्सेनी डढेलो लाग्ने गरेको स्थानीयवासीले बताएका छन् । 

डढेलो निभाउन स्थानीय सामुदायिक वनले अग्नि नियन्त्रण रेखा बनाए पनि राष्ट्रिय वन र साझेदारी वनले डढेलाे निभाउन कुनै पूर्वतयारी गरेका छैनन् । डढेलो निभाउनका लागि पूर्वतयारी नहुँदा हिउँद महिनामा धेरै वनजङ्गलमा क्षति पुग्ने बिहानी सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष दिनेशराज थापाले बताउनुभयो । चारकोसे झाडीको जङ्गल र चुरेको वनमा डढेलो लाग्न थालेपछि त्यस क्षेत्रमा बसोबास गर्दै आएका धेरै रैथाने वन्यजन्तु सुरक्षित वासस्थानको खोजी गर्दै हिँड्न थालेका छन् । 

‘डढेलो निभाउन वन कार्यालय र सब–डिभिजन वन कार्यालयसँग साधन छैन, हावाहुरी सुरु भएपछि प्रत्येक वर्ष डढेलो लाग्छ, हामीसँग आगाे निभाउन दक्ष जनशक्ति पनि छैनन् । माटो र स्याउलाको भरमा डढेलो निभ्दैन’, सहायक वन अधिकृत सुवास साह भन्नुहुन्छ ।  

यो बेला पक्षीकाे प्रजननको पनि समय हो । आगोले अण्डा र बच्चेरामा क्षति पुर्‍याउने भएकाले केही पक्षी लोप हुने अवस्थामा पुगेका साह बताउनुहुन्छ । 

सुक्खा मौसममा लाग्ने डढेलोले वन्यजन्तु, बोटबिरुवा, वनस्पति, जडीबुटी र काठ–दाउरालगायत जैविक विविधता तथा पर्यावरणीयमा समेत क्षति पुर्‍याउने गरेको विज्ञहरूको भनाइ छ । 

सामुदायिक वन उपभोक्ता महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा हरिवन नगरपालिका ९ का वडाध्यक्ष सीताराम पोखरेल भन्नुहुन्छ, ‘वन संरक्षणमा स्थानीय पालिकाले राम्रोसँग चासो दिन सकेका छैनन् । पालिकास्तरमा वातावरण संरक्षणका लागि गठन भएका समितिहरू प्रायः निष्क्रिय जस्तै छन्, डढेलो निभाउन पालिकासँग पर्याप्त स्रोत–साधन पनि छैन । वातावरण संरक्षणमा नागरिकको सहभागीता र जनचेतना वृद्धि पनि हुन सकेको छैन । चेतना नभएसम्म आगोलागीका घटनामा कमी ल्याउन सकिँदैन ।’ 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया