सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

 असोज १, २०७५ सोमबार ८:५१:४७ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा – असोज संक्रान्तिका दिन सुुदूरपश्चिममा बुढी पोल्ने पर्व धुमधामका साथ मनाइँदै छ । प्रत्येक वर्ष असोज संक्रान्तिका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाइने गरिन्छ । 

पुराणअनुसार कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी गोठालाले पुतनाको शव दहन गरेको कथन रहेको पण्डित रामचन्द्र भट्टले बताउनुभयो । द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी पुतनालाई कृष्णले दूध चुसी मारेको र कृष्ण बाँचेको खुशीयालीमा असोज संक्रान्तिका दिन यो पर्व मनाइने गरिएको उहाँले जानकारी दिनुभयो । 

सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको सल्ला वा अन्य बोटबिरुवाको लिङ्गोमा आज साँझपख बुढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ । ओल्के संक्रान्तिका दिन गोठालाले बुढीको प्रतिमा राखेर त्यसमा दैनिक रुखका हाँगा थप्ने गर्छन । 

दैनिक थप्दा केही स्थानमा निकै ठूलो बूढी बन्ने गर्दछ । गाई गोठालाले बाँझो जग्गा र दोबाटोमा सल्ला, बाँज, खर्सु लगायत रुखबाट निर्मित बूढीको पुत्लालाई साँझपख जलाउने गर्छन । दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईवस्तुलाई लगाउने चलन पनि रहेको स्थानीय जानकार महिला इन्द्रा साउदको भनाइ छ । यसो गरेमा पशु चौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास छ । पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई यस दिन बिहानै देखि गोठबाट निकालेर दिनभरी घाममा सुकाई साँझ दोबाटामा लगेर जलाउने गरिन्छ । 

ओल्के संक्रान्तिका दिन गाउँ नजिकैका अलिक उँचो टाकुरामा सबै मिलेर रूखका हाँगाबिगा, झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । सो थुप्रालाई स्थानीय भाषामा ‘बुढी हालेको’ भन्ने गरिएको छ । यस पर्वमा रातभरी देउडा, भुवाजस्ता साँस्कृतिक कार्यक्रम गरिने चलन भए पनि पछिल्लो समयमा हराउदै गइरहेको प्रति स्थानीय बुढापाकाहरुको चिन्ता छ । 

यो पर्व सुदूरपश्चिमको डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा र डोटीलगायत पहाडी जिल्लाहरुबाट बसाईँ सरी कैलाली–कञ्चनपुर गएका समुदायसँगै भारतको उत्तराञ्चलका कुमाउ–गढवालमा समेत मनाउने चलन रहेको छ । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया