शव जलाउने विषयमा रौतहटमा झडप, दुई दर्जनभन्दा बढी हवाइ फायर

 असोज १०, २०७५ बुधबार १८:२८:२७ | मदन ठाकुर
unn.prixa.net

रौतहट – गरुडा नगरपालिकामा शव जलाउने विषयलाई लिएर दुई समुदायबीच झडप हुँदा प्रहरीले दुई दर्जनभन्दा बढी गोली हवाई फायर गरेको छ ।

रौतहट गरुडा नगरपालिका वडा नम्बर ९ रघुनाथपुरको श्रीपुरमा स्थानीय रामप्रित सहनीको शव जलाउने विषयलाई लिएर दुई पक्षधरबीच तनाव उत्पन्न भएपछि
प्रहरीले बल प्रयोग गरेको हो ।

झण्डै दुई घण्टासम्म भएको झडपमा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । भिड उग्र बनेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिनका लागि ३२ राउण्ड टियर ग्यास र २३ राउण्ड गोली हवाई फायर गरेको थियो ।

झड्पको क्रममा दुवै समूहका १२ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् भने प्रहरीतर्फ पाँच जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । झडपमा परि घाइते भएका छबिलाल सहनी, रमेश सहनी, सुरेन्द सहनी, सुनिल सहनी, शम्भु सहनीलगायत एक दर्जन स्थानीयको गरुडाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी प्रहरीतर्फ हवलदार संजयकुमार कुर्मी, प्रहरी जवान विजय रौनियार र परशुराम साहसहित पाँच जना घाइते भएका छन् । उनीहरुको टाउको र शरीरमा चोट लागेको प्रहरीले जनाएको छ ।

गाउँछेउमा रहेको चाँदी खोलामा पहिलादेखि नै शव जलाउने गरेका स्थानीयलाई अर्को समुदायले त्यस स्थानमा शव नजलाउन भनेपछि झडप भएको थियो । प्रहरी हस्तक्षेपपछि अहिले अवस्था सामान्य भएको तथा त्यस क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक केदार ढकालले बताउनुभयो ।

घटना गराउनमा संलग्न रहेको आशंकामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएको साता हरेन्द्र सहनीको श्रीमतीको ज्यान गएपछि त्यस स्थानमा शव जलाउने विषयमा पनि झड्प हुँदा प्रहरीले पाँच राउण्ड टियर ग्यास प्रहार गरेर स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मदन ठाकुर

रौतहटका पत्रकार मदन ठाकुर उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया