काठमाण्डौबाट सामान्य अवस्थामा भन्दा पाँच गुणा धेरै गाडी बाहिरिँदै, मुख्य राजमार्गमा लामो ट्राफिक जाम

 असोज १५, २०७९ शनिबार १७:११:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – दशैँ मनाउनका लागि काठमाण्डौ उपत्यका छाडेर जाने यात्रुहरुको कारण आज शनिवार मुख्य नाका विपी राजमार्ग र पृथ्वी राजमार्गमा जाम भएको छ । 

बिहान काठमाण्डौको नागढुङ्गामा गाडीको चाप बढ्दा त्यहाँबाट सुरु भएको जाम थानकोटसम्म आइपुगेका थियो । अहिले पनि थानकोटदेखि नागढुङ्गाको बीचमा गाडी जाम रहेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सहप्रवक्ता एवम् प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले उज्यालोलाई जानकारी दिनुभयो । 

दिउँसो नागढुङ्गा र थानकोटको बीचमा गाडी बिग्रिएको कारण गाडीको जाम बढेको हो । यस्तै कोटेश्वरहुँदै विपी राजमार्गमा जाने गाडीको कारण बिहान कोटेश्वरदेखि अगाडि धुलिखेलहुँदै भकुञ्डेबेसीसम्म गाडीको जाम भएको छ । 

सामान्य अवस्थामा भन्दा आज झण्डै पाँच गुणा धेरै गाडी उपत्यकाबाट बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ । बाटोमा कतै अवरोध नभए पनि सडकमा गाडी धेरै हुँदा जाम बढी भएको हो । 

दशैँ सुरु भएपछि घटस्थापनादेखि काठमाण्डौ उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढिरहेको छ । बुधवार ६० हजार यात्रुले उपत्यका छाडेका थिए । यस्तै बिहीवार ७१ हजार ७ सय र हिजो ८४ हजार यात्रुले उपत्यका छाडेको कार्यालयका सहप्रवक्ता प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिनुभयो ।

आज अहिलेसम्ममा डेढ लाखभन्दा धेरैले उपत्यका छाडेको अनुमान गरिएको उहाँले बताउनुभयो । यो संख्या सार्वजनिक गाडीमा यात्रा गर्नेहरुको हो । निजी गाडी तथा मोटरसाइकलमा उपत्यकाबाट बाहिरिनेहरुको संख्या पनि सार्वजनिक गाडीमा बाहिरिने बराबर जस्तै रहेको उहाँले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया