काठमाण्डौमा किन चिसो बढ्यो ?

 असोज २३, २०७९ आइतबार १५:४३:३१ | रासस
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा चिसोपना बढेको छ । मङ्सिर ४ गते हुने सङ्घ तथा प्रदेश सभाको चुनावका कारण राजनीति तातिए पनि सङ्घीय राजधानी काठमाण्डौलगायत कतिपय ठाउँमा चिसो बढेको छ । 

त्यसो त नेपालमा मनसुन जारी छ । यो वर्षको मनसुन अक्टोबर २ तारिखसम्मका लागि पूर्वानुमान गरिए पनि बङ्गालको खाडी आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभावले मनसुन सकिने अवस्थामा प्रभाव पर्‍यो । जसका कारण मनसुन झन्डै दुई हप्ता ढिला गरी बाहिरिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आखिर किन चाँडै चिसो बढ्यो त १ महाशाखाका मौसमविद् हिरा भट्टराई भन्नुहुन्छ, ‘जाडो सुरु भएको छैन अहिलेको विकसित मौसमी प्रणालीले काठमाण्डौमा केही चिसो महसुस गरिएको छ । घाम खुलेर लागेपछि तापक्रम ठिक ठाउँमा आउँछ ।’ 

बङ्गालको खाडी आसपास बनेको न्यून चापीय क्षेत्रको मौसमी प्रणालीका कारण एक हप्तादेखि देशभर बदली र वर्षा गराएको छ । दुई दिनयता मनसुन देशको पश्चिमी क्षेत्रमा केन्द्रित छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा वर्षा भइरहेको छ । ती प्रदेशका केही ठाउँमा भारी वर्षा पनि मापन गरिएको छ । 

पछिल्ला दिनमा निरन्तरको वर्षाका कारण काठमाण्डौमा केही चिसो महसुस गरिएको मौसमविद् भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बदली र वर्षाका कारण घाम नलागेकाले चिसो बढेको देखिन्छ तर अहिले जाडोयाम सुरु भएको होइन । लगातारको वर्षाले खुलेर घाम नलागेकाले पनि चिसो बढेको हो ।’ 

मनसुन सकिएर पोस्ट मनसुन’ को समयपछि सामान्यतया जाडो सुरु हुन्छ । अहिले मनसुन सकिने क्रममा छ । नेपालमा नोभेम्बर, डिसेम्भर र जनवरी तीन महिना जाडोयाम मानिन्छ । ‘जाडो सुरु भइसकेको अवस्था हैन, दुई–तीन दिन ठूलो पानी पर्‍यो, पानी परेपछि तापक्रम तल झर्छ । सूर्यको किरण नपरेर पानी मात्रै आइराख्दा तापक्रम घट्छ । आजदेखि घाम लाग्न थालेको छ । घामलाग्दा पनि तापक्रम बढेन भने बल्ल जाडो बढेको भन्न मिल्छ’, उहाँले भन्नुभयो ।   

काठमाण्डौमा अधिकत तापक्रम ३१ देखि ३४ डिग्रीसम्म पुगेको थियो । पछिल्लो वर्षाले एक्कासी अधिकतम र न्यूनतम तापक्रम घटेकाले चिसो बढेको मौसमविद् बताउँछन् । विगत तीन दिनयता काठमाण्डौको न्यूनतम तापक्रम १७ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस हाराहारी रहेको छ । यद्यपि आज आइतवार बिहानैदेखि काठमाण्डौमा घाम लागेकाले तापक्रम बढेर न्यानो हुने अनुमान गरिएको छ । केही दिनयतादेखि काठमाण्डौमा बिहान र बेलुका बढी चिसो महसुस गरिएको छ ।

यी क्षेत्रमा पानी परिरहेको छ

अहिले नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यो मौसमी प्रणालीका कारण बदली र वर्षा गराएको महाशाखाले जनाएको छ । मौसमविद् भट्टराईका अनुसार अहिले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै ठाउँमा पानी परिरहेको छ । दाङमा पछिल्लो एक घण्टामा २५ मिलिमिटर वर्षा भएको छ । बर्दियाको राजापुरलगायत क्षेत्रमा वर्षा भइरहेको छ । त्यहाँ १६ मिलिमिटर वर्षा मापन गरिएको छ । कर्णाली प्रदेशको अछाम, सुर्खेतलगायत ठाउँमा वर्षा भइरहेको हो ।

त्यस्तै अहिले गण्डकी प्रदेशका पूर्वी भेग र प्रदेश १ को विराटनगरमा सामान्य मौसम बदली रहेको छ । 

अन्तिम अपडेट: कात्तिक ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया