सर्लाही–१ मा त्रिपक्षीय प्रतिस्पर्धा

 कात्तिक १३, २०७९ आइतबार १५:३:४९ | रामबाबु खड्का
unn.prixa.net

चाैधरी, साह र खड्का

सर्लाही – सर्लाही क्षेत्र नम्बर १ मा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारूढ गठबन्धन दल, विपक्षी दल र बागी उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएकाे हाे । गठबन्धनका तर्फबाट लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) का रामप्रकाश चाैधरी, विपक्षी गठबन्धन दलबाट जनता समाजवादी पार्टी (जसपा) का प्रमाेद साह र विपक्षी दल नेकपा एमालेबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिनुभएका मानबहादुर खड्काबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको हो । 

बागी उम्मेदवारी दिनुभएका खड्कालाई एमालेले कारबाही गरिसकेको छ । उहाँलाई पार्टीले कारबाही गरेको भए पनि उहाँकै  दल एमाले, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका केही नेताले साथ दिएका छन् । कांग्रेसबाट टिकट नपाएर रुष्ट बन्नुभएका शम्भुलाल श्रेष्ठ र माओवादी केन्द्रबाट असन्तुष्टि जनाउँदै आउनुभएका प्रदेश सभा सदस्यका उम्मेदवार रामचन्द्र कुशवाहा पनि खड्काकाे पक्षमा देखिनुभएको छ ।

श्रेष्ठले टिकट लिन लामो समयदेखि कसरत गरिरहनुभएकाे थियाे । तर अन्तिम समयमा लोसपाका चौधरीलाई टिकट दिएपछि उहाँ रुष्ट बन्नुभएको हो । २०७४ सालको चुनावमा श्रेष्ठले त्यसै निर्वाचन क्षेत्रबाट टिकट पाउनुभएको थियो । तर उहाँ विपक्षी दल जसपाका उम्मेदवार प्रमोद साहसँग पराजित हुनुभएको थियोे । त्यसैगरी स्वतन्त्र उम्मेदवारी दिनुभएका खड्का लालबन्दी नगरपालिका पूर्वमेयर हुनुहुन्छ । एमालेले गएकाे पालिका चुनावमा खड्कालाई टिकट नदिएर गोविन्द महतलाई दिएपछि उहाँले असन्तुष्टि जनाउँदै आउनुभएको थियो । सत्ता गठबन्धन दलबाट उम्मेदवार बन्नुभएका चौधरी सेवा निवृत्त नेपाल प्रहरी हुनुहुन्छ । 

सर्लाही क्षेत्र नम्बर १ मा ४९ वटा वडा रहेको छ । गएको पालिका चुनावमा कांग्रेस १९ वटा वडामा विजयी भएको थियाे । त्यसैगरी एमाले र माओवादी केन्द्रले ११/११ वटा वडामा जितेका छन् भने एकीकृत समाजवादीले तीन, लाेसपाले दुई, जसपाले एक, स्वतन्त्रले दुई वटा वडा जितेका थिए । अङ्क गणितीय हिसाबले हेर्दा सत्ता साझेदार दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपा गरी ३५ वटा वडा उनीहरूकाे पक्षमा छ । गणितीय हिसाबले सत्तारूढ गठबन्धन दल बलियो देखिएको छ । 

पालिका चुनावकाे नतिजाअनुसार सत्तारूढ दलबाट उम्मेदवार उठाएकाे लोसपाले दुई वटा वडामात्र जितेको छ । दलीय भागबन्डाको आधारमा उम्मेदवार बनेका लोसपाका चौधरी र साहलाई गठबन्धनले पूर्ण साथ दिएमात्र उहाँहरू बलियाे हुने नेपाल पत्रकार महासङ्घ सर्लाहीका पूर्वअध्यक्ष रोशन न्यौपाने बताउनुहुन्छ । कार्यकर्ता गठबन्धनको पक्षमा भए पनि आममतदातालाई चित्त बुझाउन निकै चुनौती रहेकाले गठबन्धनभित्रका मतदाताले राम्रोसँग साथ नदिए दुवै उम्मेदवारलाई चुनाव जित्न कठिन हुने न्यौपानेको विश्लेषण छ । 

सत्तापक्ष र विपक्षी दुवै उम्मेदवार गठबन्धनका साझा उम्मेदवार भएकाले गणितीय हिसाबले दुवैसँग स्वतन्त्र उम्मेदवारकाे कडा प्रतिस्पर्धा हुने विश्लेषक रजनी कान्त झाको भनाइ छ । दुवै उम्मेदवारलाई गठबन्धनले पूर्ण साथ नदिए नतिजा अन्यत्र जान सक्ने उहाँ बताउनुहुन्छ । स्वतन्त्र उम्मेदवारी दिएका खड्कासँग राजनीतिक जनआधार बलियो भएकाले गठबन्धनका दुवै उम्मेदवारसँग कडा प्रतिस्पर्धा हुने बताइएको छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया