जुत्ताचप्पल सिलाएरै फेरिएको जयबहादुरको जीवन

 कात्तिक १४, २०७९ सोमबार ९:५१:५५ | रासस
unn.prixa.net

तस्बिर : रासस

पाल्पा - जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति हाम्रो समाजमा छ । जुत्ता चप्पल सिलाउने मात्रै नभइ मजदुरी होस् या जुनसुकै पनि सानो काम गर्ने गरिब, विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्न सक्दैन । कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन् । जयबहादुर नेपालीलाई भने जुत्ता चप्पल व्यवसायले दाममात्रै नभई समाजमा राम्रो चिनिने अवसर मिलेको छ । उहाँले दुई दशक अघिदेखि यो व्यवसायलाई अङ्गाल्नुभएको हो । अहिले पनि निरन्तरता दिइराख्नुभएको छ ।

'पुराना च्यातिएका फाटेका जुत्ता चप्पल हातमा लिएर सियो र धागोले सिलाएको देख्दा धेरैले घृणा गर्न थाले', उहाँले भन्नुभयो, 'अहिले भने व्यवसायबाट राम्रै कमाउन थालेपछि सबैले प्रशंसा गर्न थालेका छन् ।' रामपुर-५ मा रहेकाे बेझाड बजारको एक कच्ची घरको सानो कोठामा सियो र धागोबाट सुरु गरेको व्यवसाय अहिले सटर भाडामा लिएर व्यवस्थित तरिकाले चलाउनुभएको छ । विदेशतिर जानुभन्दा गाउँघरमै केही गरौँ भन्ने मनसायले पुराना च्यातिएका फाटेका जुत्ता चप्पल सिलाउने कार्य सुरु गरेको अहिले यसबाटै राम्रो आम्दानी गर्न सफल भएको उहाँ बताउनुहुन्छ । 

काम सानो ठूलो भन्ने हुँदैन, हातमा सिप भयो भने जुत्ता चप्पल सिलाएर लाखौँ कमाउन सकिने उहाँको अनुभव छ । बिहानदेखि राति अबेरसम्म पसलमा जुत्ता चप्पल सिलाएरै समय बितिरहेको छ । व्यवसाय फष्टाउँदै जाँदा अहिले दुई जनालाई रोजगार दिनुभएको छ । 

यही व्यवसायबाट छोराछोरीलाई उच्च शिक्षा, परिवारको खर्च सजिलै धान्दै आइरहेको उहाँको भनाइ छ । दुई जनालाई मासिक तलब, घरपरिवारको गुजारा सबै खर्च कटाएर मासिक ५० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको उहाँले बताउनुभयो । 'समाजले के भन्छ भनेर बसियो भने जीवनमा प्रगति गर्न सकिँदैन, आफूले जे काम जानियो त्यही काम गर्ने हो, परिवारको साथमा बसेर मैले जुत्ता चप्पल सिलाएरै राम्रो कमाइ गरेको छु, यसमै म सन्तुष्टि र खुसीसाथ जीवन निर्वाह गरिरहेको छु', उहाँले भन्नुभयो ।

काममा इमानदारिता र मेहनत गरियो भने पैसा कमाउन दुःख छैन । विवाह, पार्टी, स्कुल, कलेजका जुत्ता आफैँले तयार पार्नुहुन्छ । दैनिकजसो ५० भन्दा बढी ग्राहक पसलमा सेवा लिन पुग्छन् । सानो लगानीमा परिवारको साथमा रमाउन पाउँदा धेरै खुसीका साथ जीवन अगाडि बढेकोमा यस व्यवसायमा उहाँ गौरव गर्नुहुन्छ ।

ग्राहकको भिडले नेपालीलाई काममा अहिले भ्याइनभ्याइ छ । पुराना काम सँगसँगै आफैँले नयाँ जुत्ता चप्पल पनि तयार पार्न थालेपछि व्यापार व्यवसाय बढ्दै गएको छ । नयाँ कामबाट भन्दा पुराना कामबाट धेरै फाइदा लिन सकिने उहाँको अनुभव छ । मेहनत गरियो भने अरबको खाडीमा कमाएको धनको तुलनामा दोब्बरभन्दा बढी कमाइ स्वदेशमै गर्न सकिन्छ भन्ने सबैका उदाहरणीय पात्र बन्नुभएको छ, ४८ वर्षीय जयबहादुर नेपाली । व्यवसायमा यस क्षेत्रमै सफल पात्रका रुपमा कहलिनुभएको छ । आफूले सक्दासम्म व्यवसायलाई धान्ने उहाँको अठोट छ ।

उहाँको व्यवसायमा रोजगार पाउँदा वसन्त नेपाली पनि उत्साहित हुनुुहुन्छ । दुबई, मलेसिया देशमा काम गरेर घर फर्कनुभएका वसन्तले दुई वर्ष अघिदेखि यहीँ काम गरी राख्नुभएको छ । उहाँले दैनिक एक हजार रुपैयाँभन्दा बढी रकम कमाइ गरिरहनुभएको छ । 

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया