भिरको छेउमा विद्यालय, तारबार नहुँदा शिक्षकलाई बालबालिका लड्ने हुन् कि भन्ने चिन्ता

 मंसिर २२, २०७९ बिहिबार २०:३२:४३ | दीपक भट्ट
unn.prixa.net

रामेछाप – बिहान घरबाट विद्यालय पठाएका बालबालिका पढाइ सकेर सकुशल घर फर्किन्छन् कि फर्किँदैनन् भन्ने चिन्ताले मन्थली नगरपालिका–६ भलुवाजोरको डाँडाखर्कका अभिभावकलाई दिनहुँ सताउने गरेको छ । 

मन्थली डाँडाखर्कमा रहेको भिमेश्वर आधारभूत विद्यालयको भवन ‘बाँदर लड्ने’ जस्तै भिरालो जमिनमा छ र विद्यालय परिसरमा तारबारसमेत नहुँदा अभिभावक चिन्तित बनेका हुन् । सुरक्षित भवन, बालमैत्री कक्षाकोठा, बालमैत्री शौचालय, सिर्जनात्मक अभ्यास कक्षा, खेल मैदान विद्यालयको न्यूनतम आधारभूत आवश्यकता हुन् । तर यस विद्यालयमा केही पनि देखिँदैन । 

कक्षा १ देखि ३ सम्म पढाइ हुने यस विद्यालयमा विद्यार्थीसमेत कम छन् । विद्यालयको हाजिरी पुस्तिकामा ३४ जनाको रेकर्ड राखेको भए पनि विद्यालयमा नियमित आउनेको सङ्ख्या भने १५ देखि २० जनासम्म हुने गरेको छ । विद्यालयमा आएका विद्यार्थीलाई पढाइसँगै उनीहरूलाई कसरी जोगाएर सकुशल घर पठाउने भन्ने चिन्ता शिक्षकलाई छ । 

विद्यालयको भवनभन्दा बाहेक कुनै पनि खाली ठाउँ नभएकाले विद्यार्थीलाई लाइनमा राख्ने समेत गरिएको छैन । विद्यालय आएका बालबालिकालाई सिधै कक्षाकोठामा पठाउने र पढाइ सकेपछि लाइन लगाएर घर पठाउने गरिएको छ । 

विद्यालयको वरपर तारबारसमेत नहुँदा कतिखेर बालबालिका लड्ने हुन् भन्ने चिन्ताले आफूहरूलाई सताउने गरेको विद्यालयकी शिक्षिका लक्ष्मी सुवेदीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘जग्गा अभाव भएकाले भिरालो ठाउँमा विद्यालय भवन निमार्ण भएको छ । विद्यार्थीलाई पढाउनुभन्दा पनि कसरी जोगाएर घर पठाउनु भन्ने सधै पिरलो शिक्षकलाई हुने गरेको छ । विद्यालय आएका बालबालिका लड्ने हुन् कि भनेर दिनभर कक्षाकोठामा थुनेर राख्ने र विद्यालय समयपछि घर पठाउने गरेका छौँ ।’ 

विद्यालयमा शौचालय र खानेपानीको समेत समस्या छ । खानेपानी नहुँदा विद्यार्थीले घरबाट नै बोतलमा पानी लिएर आउने गरेका छन् । शौचालय नहुँदा विद्यालयमा अध्ययरत साना बालबालिका नजिकैको बारी, कान्ला वा जङ्गलतिर जान बाध्य छन् । यस विद्यालयलाई न त वडा कार्यालयले हेरेको छ न त मन्थली नगरपालिकाले नै । न त व्यवस्थापन समितिको नै ध्यान गएको छ । 

विद्यालय पठाएका बालबालिका घरमा सद्दे आउँछन् कि आउँदैनन् भन्ने चिन्ताले सधै सताइ रहने अभिभावक रामचन्द्र घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय सरकार छ भन्नुमात्रै छ ? विद्यालयको यो बिजोग छ । बाँदर लड्ने भिरमा विद्यालय छ । कलिला बालबालिका विद्यालय पुग्नै गाह्रो छ । बिहान त विद्यालयसम्म पुर्याएर घर फर्कन्छौँ । तर दिनभर काममा घरबाहिर जानुपर्दा बालबालिका सद्दे घर आए कि आएनन् भन्ने चिन्ताले सधैँ सताइ रहन्छ ।’ 

विद्यालयको वरपर तारबार गर्ने र सबै विद्यार्थीलाई पायक पर्ने ठाउँमा विद्यालय सार्ने विषयमा शिक्षा समिति, विद्यालय संञ्चालन तथा व्यवस्थापन समिति र अभिभावकसँग पनि छलफल गरेर अघि बढ्ने मन्थली नगरपालिकाका मेयर लव श्रेष्ठले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपक भट्ट

दीपक भट्ट उज्यालोका रामेछाप सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया