नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन सम्पन्न
पुस १५, २०८१ सोमबार
कास्की – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेलमा बन्दी जीवन बिताउँदा चुरोटको खोलमा कविता लेख्ने गरेको बताउनुभएको छ ।
पोखरामा चलिरहेको साहित्य महोत्सवमा आज शुक्रवार राजनीतिबाहिर जीवन सत्रमा पत्रकार अखण्ड भण्डारीसँग संवाद गर्दै उहाँले भन्नुभयो, ‘गोलघरमा छँदा कागज भेट्टाउँदा पनि आफन्त भेटिएझैँ लाग्थ्यो ।’
अर्कैले फ्याँकेको चुरोटको खोल र खिइएर सकिन लागेको सिसाकलमको सहारामा कविता लेखेर जेलभित्रै सुनाउने गरेको ओलीले स्मरण गर्नुभयो । अन्यायमा परेका जेलरकै विषयमा कविता लेखेपछि उनैले कापी र कलमको जोहो गरिदिएको उहाँले सुनाउनुभयो ।
विसं २०४१ तिर राजनीतिक बन्दीका रूपमा पोखरा जेलमा रहँदा ओलीले लेखेको कविता खर्पन केही वर्षअघि चर्चामा आएको थियो । ‘जेलअघि खर्पनमा सागसब्जी बोकेर आइरेको मानिस देखेपछि म आफूलाई उनी सम्झेर त्यो कविता लेखेको हुँ’, ओलीले भन्नुभयो, ‘जहाँ कविता लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्दा कुनै रचना हराए, कुनै लुटिए ।’
भूमिगत कालमा लेख, रचना साथमा बोकेर हिँड्ने स्थिति नहुँदा उचित ढङ्गले सङ्ग्रह हुन नसकेको उहाँको भनाइ छ । ओलीले बन्दी अवस्थामै १६ खण्ड लेखिसकिएको महाकाव्य पछि जेलबाटै गुमनाम पारिएको बताउनुभयो ।
‘सानैमा आमा गुमाउँदाको शोकलाई महाकाव्यको रूप दिन खोजिरहेको थिएँ, कृतिको नाम पनि आमा नै राख्ने सोच थियो तर त्यसलाई पूरा गर्न सकिनँ, पछि त्यो यसै हरायो’, उहाँले भन्नुभयो, ‘जेलमा छँदाका फुर्सदिला दिनमा कविता, गीत, निबन्ध इत्यादि लेख्थेँ ।’
उहाँले कला, साहित्य, सङ्गीत, चित्रकारिता, खेललगायत विधामा आफ्नो सानैदेखिको रूचि रहेको उल्लेख गर्नुभयो । बन्दी जीवनमै सबैभन्दा बढी अध्ययन र लेखनमा बिताएको ओलीले बताउनुभयो । उहाँले गोलघरमा रहेको पुस्तकालयका सबै पुस्तक एक वर्षमा पढेर सिध्याएको बताउनुभयो ।
पढ्नु भनेको थाहा पाउनु र लेख्नु भनेको ज्ञानलाई सङ्गठित गर्नु हो भन्ने मान्यता राख्ने ओलीले साहित्यलाई बैँसको रहरका रूपमा लिए त्यो गलत हुने बताउनुभयो । उमेरमा जो कोही कम्युनिस्ट र कवि बन्छन् भन्ने गरिन्छ नि रु भन्ने पत्रकार भण्डारीको जिज्ञासामा ओलीले यो भाष्य गलत भएको धारणा राख्नुभयो ।
‘काव्यमा व्यक्त हुने भावना र रसमा परिवर्तन आउन सक्छ तर कुनै उमेरको प्रभावले कला, साहित्यको मूल्य तलमाथि हुन सक्दैन’, उहाँले भन्नुभयो ।
फरक प्रसङ्गमा ओलीले आफू सत्यवादी भएको बताउनुभयो । ‘निकम्मा भाग्यवादमा म विश्वास राख्दिन, म सत्यको पक्षपाती हुँ, सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने मेरो जीवनको आदर्श र मन्त्र हो’, उहाँले भन्नुभयो ।
ओलीले नेपालमा जन्मन पाएकामा भने आफूलाई सधैँ भाग्यमानी ठान्ने गरेको बताउनुभयो । उहाँले राजनीतिबाहेक जीवनका अनेक पक्षबारे आफ्ना अनुभव र भोगाइ सुनाउनुभयो । राजनीतिज्ञ मात्रै नभएर एउटा आम मानिसका रूपमा बाँचेको जीवनका अन्तरकुन्तर विषयलाई उहाँले रमाइलो शैलीमा अभिव्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।