दसैँमा सुदूरका पहाडी जिल्लामा खाद्यान्न ढुवानी हुन सकेन

 असोज २२, २०७५ सोमबार १२:५६:४५ | तपेन्द्र बिष्ट
unn.prixa.net

डडेल्धुरा – नेपालीहरुको महान पर्व दसैँ नजिकिए पनि सुदूरपश्चिम प्रदेशका भोकमरी ग्रस्त विकट पहाडी जिल्लाहरुमा खाद्यान्न ढुवानी हुन सकेको छैन । 

टेन्डरमै ढिलाइ भएकाले चालू आर्थिक वर्षमा पहाडी जिल्लामा चामल ढुवानी गर्न ढिलाइ भइरहेको नेपाल खाद्य संस्थान धनगढीले जनाएको छ । यो कार्यालयले अहिलेसम्म अछाममा पाँच सय ६१ क्वीन्टल, बाजुरामा पाँच सय र दार्चुलाको खण्डेश्वरीका लागि दुई सय क्वीन्टल चामल पठाउनबाहेक अन्य जिल्लामा पठाउन नसकेको जनाएको छ । 

चामल पठाउन बाँकी रहेको ठाउँका लागि दसैं अगाडि नै चाडपर्वलाई पुग्ने चामल पठाउने प्रयास गरिरहेको संस्थानका प्रमुख प्रेमनारायण भण्डारीले बताउनुभयो । ‘हामीले चामल पठाउन नसके पनि समस्या भएको छैन’, उहाँले भन्नुभयो–‘तर, सकेसम्म दसैं अगाडि नै आवश्यक चामल ढुवानी गर्ने प्रयास गरिरहेका छौं ।’

प्रदेशमा सबैभन्दा बढी गरिबी रहेको बाजुराको मार्तडीको लागि वार्षिक सात हजार क्वीन्टल चामल पठाउने कोटा रहेको छ । बाजुराकै कोल्टी डिपोको वार्षिक कोटा १० हजार क्वीन्टल चामल रहेको छ । वार्षिक तीन हजार कोटा रहेको दार्चुलाको खण्डेश्वरीमा दुई सय क्वीन्टल चामल पुगेको छ । सुनसेरा र पारिवगरको लागि भने चामल गएको छैन । दुवै ठाउँको वार्षिक कोटा दुई/दुई हजार क्वीन्टल चामल रहेको छ । 

अछामको विनायक र कमल बजारको लागि पनि चालू आर्थिक वर्षमा चामल गएको छैन । दुवै ठाउँको लागि वार्षिक तीन हजार क्वीन्टल चामल आवश्यक हुने कोटा निर्धारण गरिएको छ । बैतडीको पुलाउ, पुर्चौडी र मेलौलीका लागि पनि चामल ढुवानी हुन सकेको छैन । 

खाद्य संकटमा रहेको बझाङको सदरमुकाम चैनपुर, बिसौना, तल्कोट, काँडामा समेत संस्थानको चामल गएको छैन । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा वार्षिक ४० देखि ४५ हजार क्वीन्टल चामल खपत हुने गरेको संस्थानले जनाएको छ । डडेल्धुरा डिपोमासमेत मागअनुसार चामल ढुवानी नहुँदा कठिनाई भैरहेको खाद्य संस्थानको डिपोले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया